मेलम्चीवासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

३१ असार, सिन्धुपाल्चोक । ‘एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन’, मेलम्ची-११ का बाढीपीडित तासी लामा भने, ‘हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।’

फाइल फोटो

यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उनको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल शुरु गरेका थिए ।

आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा ऋण लिएर बनाएको घर क्षणभरमा नै बगर बनेपछि उनी अहिले घर न घाटको भएका छन् । उनले भने, ‘हामीले दुःख गरेर २६ वर्षमा बनाएको घर बगाउन २६ मिनेट पनि लागेन ।’

लामाले छ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुंगा, इँटा, खापासमेत नदेखिने गरी उनको घर बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन ।

खोला नजिकै घर भएकाले गत वर्षमा पनि उनी वर्षाको समय रातमा ब्याट्री लिएर खोला हेर्ने र हिमालका मान्छेसँग सम्पर्क गरेर बाढी आए नआएको बुझ्ने गर्थे । त्यो दिन पनि खोला सानो भए पनि धमिलो आएपछि उहाँले पहिले आफ्नो घर भएको ठाउँ पाँचपोखरी थानपालका आफन्तलाई फोन गर्ने प्रयास गरे । २ बजेबाट फोन गर्न प्रयास गरिरहँदा अपराह्न ५ बजे सम्पर्क भएर त्यहाँको गाउँ बगेको सूचना पाए । उनले भने, ‘हाम्रो त यहाँ घर बगिसक्यो आफू र परिवार सुरक्षित गर्नु भनेर मलाई खबर आएपछि घर छाड्न थाल्यौँ ।’

त्यो कुराकानीको आधा घण्टामा बाढी आएको थियो । हतारहतारमा उनले परिवार र आफन्तलाई घरबाट निकाले र सटर लगाएर आफू निस्किए । त्यतिबेला आफू बाँचियो भने त्यही ठूलो कुरा भनेर उनलाई घरभित्रका सामानको कत्ति पनि लोभ लागेन । आफू मात्रै बाँच्नुभन्दा पनि सबैलाई बचाउनुपर्छ भनेर बजारमा सबैतिर हल्ला गर्दै कुदेको उनले बताए । उनले भने, ‘हामी भाग्दै गर्दा रुख र लेदो आएको थियो ।’

हतारमा घर छाडेर जाँदा घर र सामान केहीको मतलब नभए पनि अहिले उनी दैनिक बगरमा बदलिएको आफ्नो घर भएको जग्गामा पुग्छन् । हरेक दिनजसो कहिले डेक्ची, कराइलगायतका भान्साका फुटेको सामान भेटिएको लामाले बताए। उनको घरसँगै जिन्दगीभरको कमाइले जोड्नुभएको सम्पत्ति सुनचाँदी, पैसा सबै खोलाले बगाएर लगेको छ । जिजुबाजेका पालाको चिया खाने भाडा बगेर गयो । बन्दाबन्दी खुल्ने आशाले उहाँले चार पाँच लाख जतिको चाँदीको सामान र दुई लाखको समान थपेका थिए ।

रासन त्यस्तै पाँच छ लाखको थपेको बताए। ‘अहिले जीउमा लगाएको लुगा र कुरा गर्दै भागेकाले एउटा सानो मोबाइल मात्रै बाँकी छ ।’ अपरान्ह ५.३० भागेर बजार नजिकै चोकमा गएर बस्नुभएको उहाँ त्यहाँ पनि खोला आउँछ भनेपछि इन्द्रेश्वरी मावि पुग्नुभयो । रातभर जागै बसेर आफ्नो घरतिर हेर्दै हुनुहुन्थ्यो । रातिसम्म घरमा बाढी नै आए पनि उहाँलाई सबै लग्यो जस्तो लागेको थियो । उनले भने, ‘बिहान उठेर हेर्दा केही बाँकी रहेन, अहिले घर र केही बाँकी छैन भन्ने कुरा सपनाजस्तो लाग्छ ।’

भूकम्पमा रु ५० लाखको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रिदै थिए। त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो । अहिले निषेधाज्ञा खुलेर पुनः व्यापार अघि बढाउन लाग्दा बाढीले बास र कमाइ खाने होटल दुबै बगायो । अहिले पीडित नागरिक र व्यापारीलाई सरकारले राजनीतिक रुपमा पूर्वाग्रह नराखी सहयोग गर्नुपर्ने उनको माग छ । बैंकमा ऋण गरेर व्यवसाय गरिरहेकालाई केही समयका लागि ब्याजमा सहजीकरण गर्नुपर्ने लामाले बताए ।

उनले भने, ‘सरकारले केही हेरिदिए हामी चिया पसल गरेर पनि बाँचेर परिवारलाई बचाउन सक्ने थियौँ ।’ मेलम्ची नगरपालिका–११ का रामेन्द्र श्रेष्ठको पनि घर र पाउरोटी कारखाना दुबै बाढीले बगायो । भूकम्पमा घर भत्किएपछि पुनः उनले चार वर्ष पहिले घर बनाएका थिए । उनको घर, पाउरोटी कारखाना र गाडी सबै बाढीले लग्यो । गाडी भेटिए पनि चल्ने अवस्थामा छैन । उनको ११ जनाको परिवार अहिले भाडामा बसेको छ । उनले भने, ‘त्यतिबेला बाँचिए त अरु जेसुकै होस् भन्ने लागेको थियो, अहिले खान लाउने कुरा पनि चाहिने रहेछ ।’

विगतमा पनि वर्षाको समयमा खोला कहिले बढ्ने, घट्ने हुन्थ्यो । यस वर्ष खोला धमिलिएको देख्दा पनि श्रेष्ठलाई यस्तो माहामारी आउला भन्ने लागेको थिएन । खोला ठूलो आएपछि सुरक्षित ठाउँमा भाग्दा कुनै पनि सामान लैजान नसकेको बताए । केही दिनपछि भने कोट्याएर हेर्दा बिग्रिएको अवस्थामा कपडा र सामान भेटिएको थियो । आफूले लगाएको लुगा देखाउँदै भने, ‘भाग्दा लगाएको एक जोर मात्रै लुगा थियो यो लुगापछि भेटिएपछि धोएर लगाएको छु ।’

अहिले परिवारसहित बहालमा बस्ने गर्नुभएका श्रेष्ठले सुत्नका लागि ओढ्ने ओच्छ्याउने सबै बाढीले बगाएको बताए । पुस्तौँदेखि त्यही ठाउँमा बस्दै आएका उनको घरमा भएका बस्तु र खेतबारी पनि बाढीले बगाएको थियो । परिवारले खेतमा अर्गानिक गोलभेँडा, खोसार्नी लगाएको थियो । त्यो केही पनि बाँकी रहेन । ‘बाढीले नै १० वटा बाख्रा बगायो र १८ रोपनी खेत अहिले खोलामा बगिरहेको छ ।’

अहिले ६० वर्ष पुगेका श्रेष्ठ आफ्ना बाबु र बाजेले पनि कहिल्यै यतिको क्षति गर्ने गरी बाढी आएको नभनेको बताए। सानो बाढी आएर सानोतिनो क्षति भए पनि सिङ्गो बस्ती नै बगाएको यो नै पहिलो पटक भएको उनले बताए ।

अहिले पनि खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्‍ने उनको इच्छा छ। मेलम्ची बजारलाई पूरानै स्वरुपमा फर्काउनुपर्ने उहाँको माग छ । उनले भने, ‘मेरो नातिले पनि हजुरबाको ठाउँ भनेर यहीँ बसोबास गरोस भन्ने इच्छा छ ।’

घर पूरै बगाएर बगरमा परिणत भए पनि स्थानीयवासी दैनिकजसो नै आफ्नो जग्गामा पुग्छन् । तत्काल केही गर्न नसके पनि आफ्नो जग्गा हेरेर बसिरहेको ठाउँमा फर्कने गर्छन् । घरभित्र पहिलो, दोस्रो र तेस्रो तलासम्म खोलाको लेदो पसेका घर बजारमा धेरै छन्। नगरपालिकाले पहिलो तलासम्म बाढी पसेका घरलाई पूर्ण क्षतिग्रस्त घर मानेको छ ।

मेलम्ची-११ का कृष्णप्रसाद दुलालले घर बनाएको तीन वर्ष भयो । उनको घरको अगाडिको सडक लेदोले अग्लिएको छ । घरमा पहिलो तला लेदोले भरिएको छ भने दोस्रो तलामा पनि आधासम्म पूरै लेदोले भरिएको छ । उनी अहिले घरको दोस्रो तलामा रहेको माटो हटाएर सफा गर्न लागेका छन् । माथिल्लो तलामा सटर राख्न खोजिएको भए पनि ल्याएको सबै सामान बाढीले सबै बगाएको छ । उनले भने, ‘घर भए पनि माटोले भरिएको छ अहिले बहालमा बसिरहेको छु ।’

मेलम्ची बजारकै सावित्री श्रेष्ठको बजारमा नै भएका दुई घरमध्ये दुबै घरमा बाढी पस्यो । एउटा घर बनाइसकेर अन्तिम काम (फिनिसिङ्) समेत नसकिएको भए पनि बाढीले घर भरिएको छ । वर्षा शुरु हुनै लागेकाले त्योभन्दा पहिले नै सर्ने भनेर उहाँको परिवार जेठमा नयाँ घरमा सरेको थियो । त्यो घरमा बसेको नौ दिनमा नै बाढी आएर घर र त्यहाँ भएका सामान छाडेर भाग्नुपर्‍यो ।

त्यो रात बजारका सबैजस्तै उहाँ पनि भोकै जाग्राम रहे । बिहान उठेर हेर्दा दुई घरमध्ये नयाँ घरको दुई तलासम्म र अर्को घरको एक तला पुरियो । ती घरमा बहाल रहेका पसलका प्रायः सबै सामान बगायो र बचेका सामान पनि पुरिएर काम नलाग्ने बनाएको छ । बाढी आएको हल्ला आएपछि घरको सामानभन्दा पनि कसरी बाँच्ने र सन्तान बचाउने भन्ने चिन्ता भएको उनले बताए ।

‘हतारिएर भाग्दा केही सामान पनि साथमा लगिएको थिएन’, उनले भने, ‘अर्को दिन छोराको औषधि छुटेको थाहा भएपछि आर्मीले झिकिदिएको थियो ।’ यतिखेर उनीहरु घरबारबिहीन अवस्थामा छन् तर दाताहरुको सहायताले भोकै बस्न भने परेको छैन । राहात दिन जानेहरु दिनदिनै भेटिन्छन् ।

यसरी खाना मात्रले भने उनीहरुको घाउ निको हुनसकेको छैन । वर्षात्‌तको समय छ, बास कसरी बनाउने भन्ने नै उनीहरुको समस्या हो । त्यसैले दिनहुँ प्राप्त हुने चामल, चिउराभन्दा पनि स्थायी रुपमा घर बनाउन मिल्ने सहयोगको उनीहरुले अपेक्षा गरेका छन् ।

यहाँ असार १ गते आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको र २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका गरी ४५० परिवार प्रभावित बनेका छन् । मेलम्ची नगरपालिकाका १७६ परिवार विस्थापित भएका छन् ।

मेलम्चीमा आएको बाढीका कारण यहाँका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका प्रभावित बनेको थियो भने याङ्ग्री नदीका कारण पाँचपोखरी, थानपाल गाउँपालिका प्रभावित बनेको छ।

रासस





Leave a Reply

43644
%d bloggers like this: