काठमाडौं फागुन १५ – रुस सरकारले ५७ वर्षअगाडि तत्कालीन सोभियत संघले नेपाललाई दिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण तिर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

अर्थसचिव सुमन शर्माले रुसले नेपाललाई सोभियतकालीन पुरानो ऋण तिर्न आग्रह गरेको जानकारी दिए। ‘रुबलमा दिएको ऋण रुसले अहिले डलरमा भुक्तान गर्न भनेको छ’, उनले भने, ‘डलरमा भुक्तानी गर्न सम्झौता भइसक्यो।’ रुस भ्रमणमा रहेका अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख मधुकुमार मरासिनीले रुसको पुरानो ऋण तिर्नेलगायत विषयमा सम्झौता गरेका छन्। सम्झौताअनुसार नेपालले रुसलाई तीन महिनाभित्र ऋण चुक्ता गर्नुपर्छ।
रुससँग ५७ वर्षअघि लिएको ऋण नेपाल सरकारले अहिलेसम्म किन तिरेन? अर्थसचिव शर्माले पुराना ऋणहरू बाँकी रहेको बताए। ‘पुरानो ऋण अहिले रुसले फिर्ता मागेको हो’, उनले भने, ‘ऋण तिर्न हामीलाई कुनै समस्या छैन।’ अर्थ मन्त्रालयमा सोभियतकालमा लिएको ऋणबारे चर्चा चल्ने गरे पनि ५७ वर्षपछि ऋण फिर्ता गर्ने निर्णयले मन्त्रालयका अधिकारीहरू आश्चर्यमा परेका छन्।
बेलायतबाट प्रकाशित हुने बिजनेस इन्साइडरले रुस आर्थिक संकटमा रहेकाले सोभियतकालीन ऋण उठाउने क्रममा रहेको उल्लेख गरेको छ। ‘रुसले सोभियतकालमा विभिन्न देशलाई दिएको ऋण उठाउन अहिले प्राथमिकता दिएको छ’, बिजनेस इन्साइडरको अनलाइन संस्करणले बिहीबार लेखेको छ, ‘अर्थतन्त्र खराब अवस्थामा भएपछि नेपाललाई पनि पुरानो ऋण तिर्न रुसले आग्रह गरेको हो।’
राजा महेन्द्रले सन् १९५८ मा तत्कालीन सोभियत संघसँग आर्थिक विकासका लागि ऋण लिने समझदारी गरेका थिए। तत्कालीन सोभियत संघले नेपालमा विभिन्न उद्योग निर्माण गर्नुका साथै विभिन्न पूर्वाधार क्षेत्रको निर्माणमा पनि सहयोग गरेको थियो। एक वर्षदेखि कच्चा तेलको मूल्य ओरालो लागेपछि रुस अहिले आर्थिक संकटमा छ। युक्रेनमा रहेको क्रिमिया रुसमा विलय भएपछि अमेरिकालगायत पश्चिमा राष्ट्रले रुसमाथि आर्थिक नाकाबन्दी गरेका छन्।
पश्चिमा राष्ट्रले गरेको आर्थिक नाकाबन्दीले रुसको अर्थतन्त्र प्रभावित नभएपछि अमेरिकाले रुसी अर्थतन्त्रको प्रमुख हिस्सा रहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन उत्पादन बढाएको छ। कुल गार्हस्थ उत्पादनमा ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहने रुसी अर्थतन्त्र मूल्य घटेपछि नराम्ररी प्रभावित भएको छ। तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित भ्लादिमिर पुटिनले सन् २०१५ रुसी जनताका लागि कठिन हुने बताएका थिए।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि रुसी मुद्रा रुबल अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको समाचार अन्नपूर्णपाेष्ट दैनिकले छापेको छ। निर्यातको प्रमुख वस्तु रहेको पेट्रोलियम पदार्थको मूल्य घटेपछि रुसले गर्ने विदेशी मुद्रा आर्जन पनि घटेको छ। विदेशी मुद्रा आर्जन घटेपछि रुसले आफूले ऋण दिएका देशबाट ऋण उठाउने विषयलाई प्राथमिकता दिएको छ।
नेपालले हरेक वर्ष बजेटमा आन्तरिक तथा विदेशी ऋणको ब्याज तथा सावाँ भुक्तानीका लागि रकम छुट्ट्याएको हुन्छ। चालू आर्थिक वर्षमा विदेशी तथा स्वदेशी ऋण भुक्तानीका लागि एक खर्ब दुई अर्ब रुपैयाँ छुट्ट्याइएको छ।


