नोबेल पुरस्कार विजेता मलालाको वैवाहिक जीवन सुरु

काठमाडौँ । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गर्नु भएको छ।

छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आउनु भएकी मलालाले पाकिस्तानकै एक युवकसँग बिहे गर्नु भएको हो ।

उहाँले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मङ्गलवार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिनु भएको छ ।

तालिबान विद्रोहीहरूको आक्रमणकै कारणले असुरक्षा महसुस गरी उहाँ अहिले बेलायतमा बस्दै आउनु भएकोले बेलायतमा वैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरूमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गर्नु भएको छ । “मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ ।

इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उहाँले अहिले निकाह गर्नु भएको हो । यसको कानुनी हैसियत भने रहँदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरूले मलाला चढेको स्कुल बसमा हमला गर्दा उहाँसहित तीन जना घाइते भएका थिए । त्यसपछि उहाँको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाउनुभयो । उहाँ अहिलेसम्म नोबेल पुरस्कार पाएका व्यक्तिहरू मध्ये सबैभन्दा कान्छी हुनुहुन्छ । उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नु भएको छ भने विश्वभरि मानवअधिकारकर्मीको पहिचान बनाउनु भएको छ । रासस





Comments

comments

46571