न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार २५ आयातित नयाँ केस थपिएको जनाएको छ।
यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,५८१ पुगेको छ।
शनिवार थपिएको यो संख्या पछिल्लो महिनाहरुका तुलनामा उच्चतम दैनिक आयातित केस हो। त्यस्तै, ओमिक्रोन भेरियन्टका तीनवटा नयाँ केस थपिएका छन्।
आयातित केसहरूमा २१ देखि ८० वर्षका उमेरबीचका १४ पुरुष र ११ महिलाहरू समावेश छन्। तिनीहरूमा म्युटन्ट स्ट्रेन N501Y, T478K र L452R म्युटन्ट स्ट्रेन्स देखिएको जनाइएको छ। तीमध्ये चार जनाले कोभिड भ्याक्सिनको तीन डोज लिएका थिए भने एकजनाले एउटा मात्र डोज लिएका थिए। बाँकी सबैले कोभिड भ्याक्सिनको दुई डोज लिएका थिए।
नयाँ थपिएका आयाति केसहरुमा बेलायत, फ्रान्स, स्पेन, क्यानडा, अमेरिका, रुस, भारत, काजाकिस्तान र दक्षिण अफ्रिका जस्ता ठाउँबाट आएका सामेल छन्। क्वारेन्टिनमा पाँच जनामा कोभिड पोजेटिभ देखिएको हो भने बाँकी विमानस्थलमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
यससंगै, हङकङ सरकारले ३ वटा उडानलाई दुई हप्ताको लागि हङकङमा यात्रु ल्याउंन प्रतिबन्ध लगाएको छ। एमिरेट्स (EK384) लाई २५ डिसेम्बरदेखि ७ जनवरीसम्म दुबई, संयुक्त अरब इमिरेट्स र बैंकक थाइल्याण्डबाट यात्रु ल्याउंन निषेध गरेको छ। कोरियान एयर (KE607) लाई २६ डिसेम्बरदेखि ८ जनवरीसम्म कोरियाको सियोलबाट यात्रु ल्याउंन निषेध गरेको छ। त्यसैगरी, क्याथे (CX252) लाई २६ डिसेम्बरदेखि ८ जनवरीसम्म लन्डन, बेलायतबाट यात्रु ल्याउंन निषेध गरेको छ।
पछिल्लो १४ दिनमा ७३ वटा कोरोनाको केस दर्ज भएको छ। ती मध्ये एक आयातित केससंग सम्बन्धीत छ भने बाँकी सबै आयातित केस रहेका छन्।
हङकङमा कोरोना सङ्क्रमित ११८ जनाको उपचार भइरहेको छ। थप ५ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।