पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने

काठमाडौं, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भोलि बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ।

बिहीबार
महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार
शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ । रासस





Comments

comments

48296