Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकावासीलाई प्रेमराजाको सुझाव– ‘स्वीजरल्याण्ड होइन, नेपाल घुम्न जाऊ’

गणेश पाण्डे / एचकेनेपाल डट कम –
वासिङटन डिसी। अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतले आफ्ना छोराछोरीलाई स्वीजरल्याण्ड नभइ नेपाल घुम्न पठाउन अमेरिकावासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ।

नेपाल दूतावास र नेपाल अमेरिका सोसाइटीले संयुक्त रुपमा वासिङटन डिसीमा गरेको कार्यक्रममा महतले आफ्ना सन्तानहरुलाई विदेशमा भन्दा नेपालमै घुम्न पठाउन नेपालीमुलका अमेरिकनहरुलाई आग्रह गर्नुभएको हो।

‘तपाईं हामी विश्वका अरु देश घुम्नुको सट्टा बर्षमा एकपटक नेपाल जाने प्रथा राख्यौं भने नेपालको पर्यटन प्रबर्द्धनमा मद्दत पुग्छ। हाम्रा सन्तानलाई हाम्रै डाँडाकाँडा पाखा पखेरा देखाउन जरुरी छ।’ उहाँले भन्नुभयो। नेपाली संस्कृति र पर्यटनलाई प्रबर्द्धनमा आफू तल्लीन रहेको उहाँले सुनाउनुभयो।

कार्यक्रमका अतिथि रहेका निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले पनि महतको भनाइमा सही थाप्नुभयो र, भन्नुभयो, ‘हाम्रा गाउँघर रित्ता हुन थालेका छन्, बुढापाकाहरु मात्रै गाउँमा भेटिन्छन्, त्यसैले तपाईंहरुको देशलाई माया जरुरी छ।’

कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषिराम घिमिरेले नेपालमा लगानी भित्राउन सरकार कटिबद्ध रहेको भन्दै लगानीका लागि नेपाली समुदायलाई अपिल गर्नुभयो।

नेपाल अमेरिका सोसाइटीका अध्यक्ष डा ठाकुर पुडासैनी र गैरआवासीय नेपाली संघका अध्यक्ष लोक तिवारीले मातृभूमि भएकाले पनि विदेशिएका नेपालीहरुले आफ्नो देशमा लगानी गर्नुपर्ने बताउनुभयो। अमेरिकाबाट नेपालमा लगानी भित्राउन आफूहरु लागिरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा वरिष्ठ अर्थविद् गोविन्द प्रसाद तिमिल्सिनाले नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने झुटो सपना नबाँड्न नेपालका नेताहरुलाई आग्रह गर्नुभयो। अहिलेकै गतिमा नेपालको विकास भए स्वीजरल्याण्ड बन्न कम्तीमा पनि डेढसय बर्ष र सिंगापुर बन्न ७३ बर्ष लाग्ने उहाँले बताउनुभयो।

तस्वीरः इनेपालीज डट कम





Comments

comments

502