कमल र दिनेशको राष्ट्रिय कीर्तिमान

लोकेन्द्रकुमार बस्नेत / एचकेनेपाल डट कम –
काठमाडौं। कमलबहादुर अधिकारी र दिनेश श्रेष्ठले तेश्रो ग्राँ पि सिनियर पुरुष÷महिला तथा जुनियर पुरुष भारोत्तोलनको सिनियरतर्फ बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। नेपाली सेनाकाद्वयले स्न्याचमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्।

नख्खुस्थित सहकारी कृषि बजारमा भएको पुरुषको ६९ केजीको स्न्याचमा कमलले १ सय १८ केजी भार वहन गर्दै कीर्तिमान बनाएका हुन् । उनकै नाममा १ सय १७ केजीको कीर्तिमान थियो । कमलले क्लिन एन्ड जर्कमा १ सय ४५ केजी गरी २ सय ६३ केजी उचाल्दै स्वर्ण जिते।

पुरुषको ९४ केजीको स्न्याचमा कीर्तिमान रचेका दिनेशले १ सय १३ केजी वजन उठाए। यसअघि १ सय १२ केजीको कीर्तिमान दिनेशकै नाममा थियो । उनले क्लिन एन्ड जर्कमा १ सय ४० गरी जम्मा २ सय ५३ केजी भार उचाल्दै पहिलो भए । कमल र दिनेश दुवैले गत जेठमा सम्पन्न १७ औं एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा कीर्तिमान राखेका थिए।

सेरीमोनी व्युटी पार्लरको सह–आयोजनामा नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रामेछापका गोपाल श्रेष्ठ र महिलामा नेपाल प्रहरी क्लबकी तारादेवी पुन स्ट्रोङगेस्ट चुनिए।

पुरुषको १ सय ५ केजीमाथिको स्न्याचमा गोपालले १ सय १२ र क्लिन एन्ड जर्कमा १ सय ५२ गरी कुल २ सय ६४ केजी भार उठाउदै पहिलो भएका थिए । स्न्याचमा ६५ र क्लिन एन्ड जर्कमा ९० गरी कुल १ सय ५५ केजी भार उचालेकी तारा महिलाको ७५ केजीमाथि वजन समूहमा पहिलो भएकी थिइन्।

पुरुषमा कमलबहादुर अधिकारी र महिलामा प्रहरीकी उत्तम खत्री उत्कृष्ट लिफ्टर चुनिए । उत्तम महिलाको ६३ केजीको स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७८ गरी कुल १ सय ४१ केजी भार वहन गर्दै पहिलो भएकी थिइन्।

जुनियर पुरुषमा बाँकेका प्रकाश केसी उत्कृष्ट लिफ्टर ठहरिए । अघिल्लो दिन उनले जुनियर ५६ केजीको क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै कीर्तिमानी स्वर्ण जिकेका थिए । उनले सिनियरको सोही तौलसमूहमा पनि शीर्ष स्थान हात पारेका थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा र सदस्य सुरेन्द्रबहादुर हमाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे। सो अवसरमा हमाललाई राखेपको सदस्यमा नियुक्त भएकोमा दोसल्ला ओढाइ भारोत्तोलन संघले सम्मान गरेको थियो।

दुईदिने प्रतियोगितामा ५३ पुरुष र १० महिला गरी ६३ खेलाडीले सिनियरमा १५ र जुनियरमा ९ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।


आइस हक्की संघ गठन

लोकबहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय नेपाल आइस हक्की संघ, तदर्थ समिति गठन भएको छ।

बुधबार कमलादीस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन मार्फत आइस हक्की संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा असार ३ गते १ सय ४२ औं संघका रुपमा दर्ता भएको जानकारी दिइयो।

नवगठित संघको उपाध्यक्षमा भूवन पाठक, मनोज मल्ल ठकुरी, मदन केसी, श्रीविक्रम भण्डारी र सुरजविक्रम शाही, महासचिवमा राधेश्याम दाहाल, सचिवमा रामसुदन तिमल्सिना र कोषाध्यक्षमा हरि मानन्धर रहेका छन्। त्यस्तै सदस्यहरुमा मणिविक्रम शाह, अञ्जना रावल (शाह), विपिका अधिकारी, मुकेश शाही, जीवन बल लामा, अर्जुन लामा तथा राखेप प्रतिनिधि दामोदर अर्याल छन्।

संघ गठनको घोषणा कार्यक्रमअघि राखेपका सदस्य–सचिव युवराज लामाले दरबारमार्ग रहेको संघको कार्यालयको एक कार्यक्रमबीच बुधबारै विधिवत् उद्घाटन गरेका थिए।





Comments

comments

516