विदेशी आएर नेपालमा चोरी, एटिएमबाट करोडौं निकालिएको आशंका

काठमाडौं, चैत १२ – नेपालका एटिएमहरुबाट सवा करोड रुपैयाँ चोरी गर्ने बुल्गेरियाका नागरिक पक्राउ परेका छन्। एक करोड २० लाख ८ हजार रुपैयाँबराबरको विदेशी तथा स्वदेशी मुद्रासहित बुल्गेरियाका ४२ वर्षीय पेट्रोस्लाभ रिस्टोभ पक्राउ परेका हुन्।

नक्कली एटिएम कार्ड बनाई नेपालका विभिन्न बैंकको एटिएमबाट उनले पैसा निकाल्दै आएका थिए। कुन बैंकको खाताबाट उनले पैसा निकाले भन्ने खुल्न सकेको छैन। विदेशी नागरिककै खाताबाट उनले पैसा चोरी गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनलाई ठमेलको टेम्पल टाइगर अपार्टमेन्टबाट मंगलबार पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। उनको साथबाट १८ लाख नेपाली रुपैयाँ, ५७ हजार युरो (६२ लाख रुपैयाँ),४० हजार अमेरिकी डलर (४० लाख रुपैयाँ) बरामद गरेको हो । एटिएमबाट निकालेको रकम उनले तत्कालै मनी चेन्जरमा गई युरो र डलर साट्ने गर्दथे।

उनको साथबाट १ सय ७९ वटा नक्कली मास्टर कार्ड बरामद भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए। ‘यसरी नक्कली एटिएम बनाई पैसा चोरी गर्नेमा ठूलो अन्तर्राष्ट्रिय समूह सक्रिय रहेको पाइएको छ,’ उनले भने। पक्राउ परेका रिस्टोभबाट नक्कली एटिएम कार्ड बनाउने मेसिनसमेत बरामद भएको छ।

भिडियो हेर्नुहोस्





Comments

comments

5276