देशविदेशका ६ जनालाई नइ पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० चैत। नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका ६ जनालाई २०७१ सालको नइ पुरस्कार प्रदान गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका ६ जना प्रतिभालाई राजधानीमा २०७१ सालको नइ पुरस्कार प्रदान गरेका हुन्। ताम्रपत्रसहित यी पुरस्कार जनही पचास हजार रूपियाँ राशिका छन्।

समारोहमा बोल्दै कार्कीले राज्य र सरकारले गर्नु पर्ने साहित्य, कला र संस्कृतिको काम नइ प्रकाशनले नै गदै आएको बताए।

आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित बोधिसत्व स्वामी श्री आनन्द अरुणलाई नइ भूपालदुर्गा पुरस्कार समर्पण गरिएको छ। साथै धर्म, संस्कृति र अन्वेषणमा विशिष्ट योगदानका लागि प्रा.डा.वीणा पौडेललाई नइ चन्द्रधन पुरस्कार समर्पण गरिएको छ। त्यसैगरी नेपाली भाषामा कविताको स्तरीय सृजना गर्दै समालोचनाका माध्यमबाट समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत वनारस हिन्दु विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.सञ्जय वान्तवालाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गरिएको छ।

राजधानी बाहिर बसेर पनि नेपाली भाषासाहित्यको स्तरीय सृजनामा समर्पित झापाका तेजराज खतिवडालाई नइ धनरुप पुरस्कार प्रदान गरिएको छ। नइ गणेशदुर्गा पुरस्कारबाट पुरस्कृत हुनेमा विदेशमा रहेर नेपाली भाषा र साहित्य सृजनामा सदैव जागरूक अमेरिकाका शरद निरौला र मञ्जु हाडा निरौला छन्।

नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका २६ वटा पुरस्कार प्रदान गर्दै आएको छ।

समारोहमा योगी नरहरिनाथद्वारा सम्पादित नेपाली भाषामा ‘हिमवत्खण्ड’को बोधिसत्व स्वामी श्री आनन्द अरुणद्वारा सार्वजनिकीकरण गरिएको छ। २०ह३० आकारको ६७२ पृष्ठको सो ग्रन्थ समारोहमा सबैलाई निश्शुल्क प्रदान गरिएको थियो। समारोहमा ‘हिमवत्खण्ड’को महिमाबारे डा.मोदनाथ प्रश्रितले प्रकाश पारेका थिए।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले समेत मन्तव्य प्रकट गरेका थिए।





Comments

comments

Leave a Reply

5483