एलिजाबेथ–द्वितीया बेलायतको मात्र होइन १४ राष्ट्रकी महारानी थिइन्, अब नयाँ राजाले लिनेछन् उनको स्थान

बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजशाही बनेकी महारानी एलिजाबेथ द्वितीयाको हिजो (सेप्टेम्बर ८)मा निधन भयो। उनको निधनले बेलायतबाहेक अन्य १४ स्वतन्त्र मुलुकले राज्य प्रमुख गुमाएका छन्।

इतिहासमा कुनै न कुनै बेला ब्रिटिश शासनको अधिनमा रहेका यी १४ मुलुकले स्वतन्त्रतापछि पनि प्रतीकात्मक रुपमा बेलायती महारानीलाई नै राज्य प्रमुखमा निरन्तरता दिएका छन् । राष्ट्रमण्डल मुलुक भनिने यी मुलुकमा महारानी एलिजाबेथ द्वितीयाको निधनपछि बेलायतका नयाँ राजा चार्ल्स तृतीय नै राज्य प्रमुख हुनेछन्।

यी हुन् १४ राष्ट्रहरु

एन्टीगुआ एण्ड बरबुडा, क्यानडा, अष्ट्रेलिया, बेलीज, बहामास, ग्रेनाडा, जमैका, सेन्ट किट्स, पपुआ न्यु गिनी, न्युजिल्याण्ड, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रनाडा, टुभालु र सोलोमन टापु समूह।

पछिल्लो समय राष्ट्रमण्डल सदस्यहरुभित्र बेलायती दरबारलाई राज्य प्रमुख बनाउने परम्परा त्याग्नुपर्ने माग बढ्न थालेको छ । सन् २०२१ बार्बाडोसले बेलायती महारानीलाई राज्य प्रमुख मान्ने परम्परा त्याग्दै आफ्नै राष्ट्रपति चुन्यो । त्यसयता अन्य राष्ट्रमण्डल सदस्यहरु एन्टिगुवा र बर्मुडा, बहामास, जमैका र सेन्ट किट्स–नेभिसले पनि गणतन्त्रको माग उठ्न थालेका छन्।

जुन राष्ट्रमण्डल मुलुकहरुले अहिले पनि बेलायती राजशाहीलाई राज्य प्रमुख मान्छन्, त्यो धेरै हदसम्म प्रतीकात्मक हुन्छ । ती मुलुकका राजनीतिक निर्णयहरू निर्वाचित संसदले लिन्छन् र प्रधानमन्त्रीद्वारा लागू गरिन्छ । तथापि राज्य प्रमुखका हिसाबमा बेलायत राजा÷रानीका केही संवैधानिक जिम्मेवारी भने हुन्छन्, जुन मुलुक पिच्छे फरक छ।

उदाहरणका लागि, तिनले कानुनको औपचारिक स्वीकृति दिने, केही अधिकृत नियुक्त गर्ने र राष्ट्रिय सम्मान प्रदान गर्ने काम गर्छन् । संवैधानिक राजतन्त्र भएकाले बेलायतको रानी वा राजाले निर्वाचित सरकारलाई चलाउन सक्दैनन् । तर केही असाधारण परिस्थितिमा ब्रिटिश क्राउनलाई सरकार बर्खास्त गर्ने अधिकार हुन्छ । दोस्रो विश्वयुद्धपछि एकपटक मात्र यो अधिकार प्रयोग भएको छ ।

सन् १९७५ मा अष्ट्रेलियामा संवैधानिक संकट उत्पन्न हुँदा तत्कालीन प्रधानमन्त्रीलाई महारानीले नियुक्त गरेका गभर्नर जनरलले बर्खास्त गरेका थिए। ब्रिटिश राजतन्त्र प्रतीकात्मक हुनसक्छ, तर शाही परिवारको खर्च भने ठूलो छ । सन् २०२०–२१ मा शाही परिवारले देशको सरकारी कोषको ८६.३ मिलियन पाउण्ड खर्च गर्यो । यसमा अझ उनीहरूको सुरक्षाको लागत समावेश छैन। एजेन्सी





Comments

comments

57294