तीन दशकदेखि नेपालमै रमाएका जापानका ‘ओकेबाजे’

अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ।

जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। उनी देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न छन् । उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बन्ने गरेका छन् । जापानमा जन्मिएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहेका छन्।

शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग गरेका छन् । उनकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् ।

विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आएका छन् । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ । उनले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चिएका छन् ।

हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्छन् । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उनको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बने।

ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाइरहेका छन् । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उनलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उनी खुसी छन् ।

आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गरेका छन् । ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उनले काम गरिरहेका छन् । गाउँ–गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउछन् ।

“गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ”, उनले भने।

नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बन्नुभएको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउँछन् ।

“ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्”, उनले भने, “उहाँले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।”

ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्छन् । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उनको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उनी बताउँछन् । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मिएका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित थिए ।

अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिएका ओकेबाजेका एक छोरा र एक छोरी छन् । उनले स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आएका थिए। त्यसयता उनको नेपालयात्रा निरन्तर जारी छ ।

रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

60583