जेलमा आक्रमण गरी १४ को हत्या

मेक्सिको, बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरू चार जना बन्दीको ज्यान गएको हो ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात् गोली चलाएका थिए ।

सो आक्रमणमा परेर अरू १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले सो जेलमा थप सुरक्षाकर्मीहरूलाई राखेर सुरक्षा दिइएको बताइएको छ । रासस/सिन्ह्वा





Comments

comments

64429