अलबिदा, भेषराज लामिछाने…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका, ९ जनवरी।

“बुबा राम्रोसंग जानुहोस् भाइ र आमालाई हामी टेक केयर गर्छौं” यी भनाई जनवरी ५ तारिखका दिन लुटेराद्वारा गोली हानी हत्या गरिएका भेषराज लामिछानेका छोरीहरुले बाबालाई अन्तिम श्रद्धाञ्जली दिदै गरेको कार्यक्रममा भावविहल हुदै बोलेका हुन्।

मृतक भेषराज लामिछाने

आफ्नै स्टोरमा काम गरिरहेका बेला गत जनवरी ५ तारिख राती ८ बजे लुटेराको गोलीबाट हत्या गरिएका लामिछानेको आज कोलोराडोको ब्रुमफील स्थित Rundus Funeral Home मा अन्तिम दाह संस्कार गरिएको छ।

दाह संस्कार कार्यक्रमको शुरुमा एनआरएन कोलोराडो च्याप्टरका सचिव शंकर गुरुङले भेषराजको परिचय दिएका थिए। कार्यक्रममा उपस्थित उनका श्रीमती छोराछोरी, आफन्त सबैले फूलगुच्छा चढाई उनलाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए। त्यसपछी उनलाई बैदिक बिधीपूर्वक उनका छोरा छोरीहरुले दागबत्ती दिएका थिए।

दागबत्ती दिने क्रममा छोरीहरुले भावविहल हुदै “ बुबा राम्रोसंग जानुहोस् आमा र भाइलाई हामी टेक केयर गर्दछौं” भनेको सुनेर कार्यक्रममा उपस्थित सबैको मुटु भकान्निएर आसु पुछेका थिए।

श्रद्धाञ्जली सभामा गन्यमान्य, बुद्धिजीवी, नेपाली संघ संस्थाका प्रतिनिधि, परिबार, आफन्त, उनका साथीभाइ, पत्रकार, व्यवसायी, सर्वसाधारण तथा भारतीय समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम स्थलमा यति मान्छेको उपस्थिति थियो कि हलभित्र मान्छे नअटाएर धेरै मान्छे बाहिरै बसेका थिए।

नेपालको तनहुँ जिल्ला साबिकको रम्घा गाविस ८ लामिछाने बेसी घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने ३ छोरी, एक छोरा र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए।

उनलाई गोली हाने हत्या गरेपछि उनैको गाडी लिएर भागेका २६ वर्षीय नर्थ क्यारोलिना निवासी शनाथन डिएञ्जोलोलाई ६ तारिख बिहान इन्डियाना स्टेटमा पक्राउ परेका थिए।

घरमा कमाउने भेषराज मात्र भएको र उनको त्यसरी निधन भएपछि घरको अवस्था नाजुक रहेको छ । कोलोराडो नेपाली समुदायमा ज्यादै दुःखद घटना घट्न पुगेको र उनको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलिएको छ। उक्त गोफण्ड मीमा यथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन्।

सहयोगको लागि गोफण्ड मी मा क्लिक गर्नुहोस्





Comments

comments

64878