हङकङ : सेभेन इलेभेनका कर्मचारीको हत्या अभियोगमा एक पाकिस्तानीलाई हङकङमा जन्मकैदको सजाय

एचकेनेपाल डट कम –

हङकङ, ६ फेब्रुअरी। हङकङको उच्च अदालतले सेभेन इलेभेनका कर्मचारीको हत्या गरेको अभियोगमा एक पाकिस्तानीलाई आजीवन कारावासको सजाय सुनाएको छ।

मिडिया रिपोर्टका अनुसार ३० वर्षीय पाकिस्तानी पुरुष इस्लाम जावेद इकबाललाई तीन वर्षअघि युन लङमा सेभेन इलेभेन कन्भेनियन्स स्टोरका कर्मचारीलाई हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको हो।

उच्च अदालतको पहिलो इजलासका न्यायाधीश जोसेफ याउले उनलाई आज कानून बमोजिम जन्मकैदको सजाय सुनाएका हुन्। चोरीको अपराधको लागि सामान्यतया जरिवाना लगाइन्छ। तर, प्रतिवादीलाई आजीवन कारावासको सजाय भइसकेकोले जरिवाना लगाउनुको कुनै अर्थ नरहेको याउले बताए।

तीन वर्षअघि उनले ७–११ स्टोरबाट दुई केन बियर चोरेर भाग्दै गर्दा त्यहाँका कर्मचारीले उनलाई रोक्ने प्रयत्न गर्दै थिए। त्यसबेला इकबालले उनलाई भुइँमा लडाई लातीले हानेका थिए। टाउकोमा गम्भीर चोट लागेका उक्त कर्मचारीको दुई दिनपछि मृत्यु भएको थियो।

अभियुक्त इकबालले हत्याको आरोप अस्वीकार गर्दै आईरहेका थिए। प्रतिवादी इकबालमाथि २८ डिसेम्बर २०१९ मा ६१ वर्षीय पुरुष ताङ चुङको हत्या गरेको अभियोग लगाइएको थियो। उक्त घटनाको दृश्य सीसीटीभी क्यामेरामा पनि कैद भएको थियो।

विवाहित प्रतिवादी विगतमा नाविक र निर्माण मजदुर थिए। घटनाको बेला उनी बेरोजगार थिए र आफ्ना बाबुआमासँग बस्दै आएका थिए।





Comments

comments

66942