Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भेरी किनारमा भूकम्पप्रतिरोध आधुनिक शहर (स्मार्ट सिटी) बन्दै

सुर्खेत- पूर्वी सुर्खेतको भेरी नदी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर (स्मार्ट सिटी) निर्माण हुने भएको छ। सरकारले विश्व बैंकको सहयोगमा नेपालमा चारवटा नयाँ स्मार्ट सिटी बनाउने निर्णय गरेअनुसार यसको प्रक्रिया सुरु भएको हो।

सहरी विकास तथा भवन डिभिजन कार्यालयले सहर निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनसमेत थालिसकेको छ। आइतबार मेहलकुनामा आयोजित अन्तरक्रियामा नयाँ आर्थिक वर्षदेखि प्रक्रिया सुरु हुने जानकारी दिइयो। सम्भाव्यता अध्ययनको जिम्मा लिएको सिभिल ओएसिस इन्जिनियरिङ प्रालिका प्रतिनिधि विष्णुप्रसाद तिमिल्सिनाका अनुसार विस्तृत अध्ययन प्रतिवेदनपछि विश्व बैंकको सहयोगमा सहर निर्माण थालिनेछ।

नयाँ बन्ने आधुनिक सहर सम्पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक हुनेछ। उक्त क्षेत्रका सभासद पूर्णबहादुर खड्काले २० वर्षीय दीर्घकालीन योजनाका साथ आधुनिक सहर निर्माणको थालनी गरिएको जानकारी दिए। यसलाई ‘ग्रिन सिटी’का रूपमा समेत विकास गरिने उनको भनाइ छ। ‘नदीको किनारमा नयाँ बन्ने सहर भूकम्प प्रतिरोधात्मक हुनेछ,’ उनले भने, ‘यसका लागि अहिल्यैदेखि पूर्वाधार तथा संरचना निर्माण गर्दा सरकारले बनाएको भूकम्पप्रतिरोध मापदण्डअनुसार गरिनुपर्छ।’ भेरीगंगा नगरपालिका कार्यालयका लागि छुट्याइएको रामघाटस्थित चौरबाट यसको सुरुआत गरिने उनले बताए।

स्मार्ट सिटी निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा आधुनिक नमुना सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको छ। यसभित्र भेरीगंगा नगरपालिकासहित भेरीबेल्टमा पर्ने सात गाविस समेटिएको छ जहाँ झन्डै ८० हजार व्यक्ति बसोबास गर्छन्।

सहरी विकास तथा भवन निर्माण विभागले भेरीगंगा उपत्यकामा सहरीकरणका साथै कृषि, व्यापार, पर्यटन, उद्योग कारखानाको सम्भावना औंल्याएको छ। कुन क्षेत्रमा के–के सम्भावना छन् भन्ने अध्ययन गरेर सहर निर्माणको गुरुयोजना बनाइने विभागका उपमहानिर्देशक रेशप्रसाद सिंहले बताए। उनका अनुसार विस्तृत अध्ययनमा सहर निर्माणका क्रममा आउने सम्भावित कमजोरी, अवसर र चुनौतीको विश्लेषण गरिने समाचार नागरिक दैनिकमा छ। ‘सबै पक्षको लेखाजोखा गरेर थालिने नयाँ सहर नेपालकै नमुना बन्नेछ,’ उनले भने, ‘यसका लागि भेरीगंगा उपत्यकाको बनावटले पनि साथ दिएको छ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नयाँ बन्ने आधुनिक सहरलाई अर्गानिक सहरका रूपमा विकास गर्नुपर्ने बताए। भेरीगंगा उपत्यकामा कृषि र व्यापारका साथै उद्योग, पर्यटनको समेत सम्भावना रहेकाले निजीक्षेत्रले हातेमालो गरेर अघि बढ्ने बताए।





Comments

comments

Leave a Reply

6740