काठमाडौं, १६ फागुन। नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार श्री वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरउत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार श्री गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
डा.वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा यी पुरस्कार समर्पण गरिनेछ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ।