काठमाडौं- समयमै वितरण गर्न नसक्दा र उच्च प्रविधियुक्त भण्डारगृह नहुँदा भूकम्प पीडितका लागि आएको ठूलो परिमाणको खाद्यसामग्री खाल्डोमा फ्याँक्नुपरेको छ। युनाइटेड अरब इमिरेट्स (युएई), भारतलगायत देशले पठाएको खाने तेल, आलु, रोटी, पाउरोटी, औषधि, बालबालिकाको पोषणयुक्त खाद्यसामग्री तापक्रम मिलाएर राख्न नसक्दा बिग्रेकाले खाल्डोमा पुर्नुपरेको हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार युएईले भूकम्प पीडितलाई पठाएको करिब १० हजार लिटर खाने तेल बिग्रेको थियो। उक्त तेल नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको गोदाममा राखिएको थियो। खाद्य संस्थानको गोदाममा राखिएको ६ हजार ८ सय ३५ लिटर र नेसनल ट्रेडिङको गोदाममा रहेको ३ हजार ३६ लिटर तेल खाल्डोमा पुरिएको छ।
‘दुर्गन्ध नफैलियोस् भनेर बिग्रेको खाने तेल खाद्य संस्थान र नेसनल ट्रेडिङभित्रै खाल्डो खनी पुरिएको छ,’ स्रोतले भन्यो, ‘तापक्रम मिलाएर राख्न नसक्दा तेल जमेको थियो।’ प्रयोगशालामा परीक्षण गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेल खाने अवस्थामा नरहेको बताएपछि खाल्डोमा पुरिएको समाचार नागरिक दैनिकमा छ।
वैशाख १२ गतेको भूकम्पपछि भारतको नयाँ दिल्लीस्थित युएईको दूतावासले त्यहीँ खाने तेललगायत खाद्यसामग्री खरिद गरी नेपाल पठाएको थियो। नेपालसमेत हेर्ने नयाँ दिल्लीस्थित युएई दूतावासले पटक–पटक गरी नेपाललाई ६३ हजार १ सय १२ कार्टुन (७ लाख ५७ हजार ३ सय ४४ केजी) खाद्यसामग्री पठाएको थियो। यसबाहेक पनि युएईले ७४ हजार ५ सय ८० केजी खाद्यसामग्री नेपाल पठाएको भन्सार विभागको तथ्यांकले देखाउँछ। युएईले पठाएको खाद्य सामग्रीमा आँटा, चामल, चिनी, दाल र खाने तेल थिए। खाने तेलमध्ये करिब १० हजार लिटर उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रिएको हो।
यस्तै, भारतबाट पठाइएको ३० बोरा आलु (१ हजार ८ सय केजी) पनि उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रेको छ, जसलाई खाल्डो खनेर पुरिएको छ। लामो समयसम्म वितरण नगरी बोरामा चिसो ठाउँमा राखिँदा आलु कुहिएको स्रोतले बतायो। भारतबाट मात्रै पटक–पटक गरी ५ लाख केजीभन्दा बढी आलु नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ३० बोरा कुहिएको तथ्यांक खाद्य संस्थानसँग छ। बाँकी कति वितरण भयो र कस्तो अवस्थामा छ, सम्बन्धित निकायलाई नै थाहा छैन।
स्रोतका अनुसार खाने तेल, आलुबाहेक भारतलगायत विभिन्न देशबाट पठाइएका बालबालिकाको पोषणयुक्त खानेकुरा, रोटी र पाउरोटी समयमै वितरण गर्न र उचित तापक्रममा राख्न नसक्दा बिग्रेका छन्। बालबालिकाको खानेकुरा चर्को घाममा लामो समय राखिँदा बिग्रेको थियो।