जहाँ मलामीमा शङ्ख बजाइँदैन

बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ। शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन।

स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए।

“जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास नै परम्परा बन्न पुगेको छ,” उनले भने। एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा अहिले दुई सय घरपरिवार बस्दै आएका छन्।

स्थानीय ज्येष्ठ नागरिक लोकनाथ बजगाईंले परापूर्वकालदेखि नै स्थानीयको मृत्युपछि शङ्ख नबजाउने र बजाएमा अनिष्ट हुने विश्वास रहेको बताए। सयौँ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा अहिलेसम्म कायम रहेको बताउँदै उहाँले आफ्नो बिर्ता जमिनसम्म शङ्ख बजाए अनिष्ट हुने जनविश्वास रहेको बताए।

स्थानीय बलराम बजगाईंले मानिसको मृत्युपछि एकाघर परिवारले ‘गाह्रो प(यो दाजुभाइ’ भनेर तीन पटक बोलाएपछि दाजुभाइ भेला भएर शवलाई घाटसम्म लिएर जाने र १३ दिनसम्मका सबै कार्यमा सहभागी हुने गरेका छन् । यसरी कसैको मृत्यु भएपछि दाजुभाइ बोलाउने परम्परा नेपालका अरू ठाउँमा विरलै हुने उनले बताए।

सो गाउँबाट दुई किलोमिटर परको घट्टेकुलोमा पुगेपछि बिर्ता सकिन्छ । त्यसपछि एकोहोरो शङ्ख बजाउने, लाजा र टिलो छर्ने गरिन्छ । सो गाउँका मानिसको अयन्त्र कुनै ठाउँमा पुगेर मृत्यु भएमा शव उठाउने समयमै एकोहोरो शङ्ख बजाइन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

73236