एएनए सम्मेलनमा ब्यापक महिला सहभागिता हुने

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। एएनएको आगामी जुलाई १ र २ तारिख डेनभर कोलोराडोमा हुन गई रहेको ४० औं सम्मेलनको तयारी क्रम भव्य रूपमा अगाडि बढिरहेको जानकारी सम्मेलनका प्रमुख संयोजक विनोद त्रिपाठीले दिएका छन्।

कोलोराडोमा सक्रिय संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल , नेपाली घर, अनेसास कोलोराडो शाखा, एनआरएनए कोलोराडो शाखा, कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो।

विगतका सम्मेलनहरूमा झैं यस वर्ष पनि महिला सहभागिता बढाउन विशेष कार्यक्रमहरू राखिएका छन्। एनए सम्मेलन मूल कमिटीको डेपुटी कन्भेनर सरिता गुरुङ रहेकी छिन भने शर्मिला शर्माको संयोजकत्वमा २७ सदस्यीय महिला समिति गठन गरिएको छ। धेरै भन्दा धेरै दिदीबहिनीहरूलाई पनि कार्यक्रममा संलग्न र समावेश गराउनका साथै एक आपसमा मेल मिलाप र थप प्रोत्साहन र प्रेरणा दिन यस समितिको ठूलो भूमिका रहेको छ।

त्यसैगरी, तारा अधिकारीको संयोजनमा जुलाइ १ तारिख शनिवार दिउंसो २ देखि ३.३० बजेसम्म हुन गई रहेको महिला मंचमा “अमेरिकामा नेपाली एकल महिलाका चुनौतीहरू” विषयमा गहन छलफल गरिनेछ। मंचमा साहसी महिला वक्ताहरूले आफूले सामना गरेका चुनौती र अनुभवहरू दर्शक माझ प्रस्तुत गर्नु हुनेछ भने विशेषज्ञहरूले सल्लाह र सुझावले समाधानको उपाय निकाल्न मद्दत पुग्ने छ। भविष्यमा अरू महिलाहरूमाथि यस्तो परिस्थिति आई परेमा उनीहरूलाई जागरूकता र जानकारीमूलक संदेश दिन यस छलफलबाट सहयोग पुग्नेछ । मंचको सहजकर्तामा तारा अधिकारी र सरिता गुरुङ रहेका छन्।

श्रुति पाण्डे संयोजक रहेको समितिले “मिसेज एएनए” सुन्दरी प्रतियोगिताको भब्य तयारी गरि रहेको छ । विवाहित महिलाहरूले आफूमा भएको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्नुका साथै आफ्नो आत्मविश्वास बढाउन यस प्रतियोगिताले थप हौसला दिनेछ। गत सम्मलेन बाट शुरू गरिएको मिसेज एएनए दर्शकहरूले निकै मन पराएका थिए।

कार्यक्रमलाई आकर्षण र मनोरंजन बनाउन “फेसन शो” पनि राखिएको छ। यसको संयोजन आकृति अधिकारीले गरि रहेको छ। यस कार्यक्रममा नेपाली संस्कृति र पश्चिमी शैली झल्काउने विभिन्न पहिरनहरूको प्रदर्शन गर्दै यूवा र बालबालिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन। मिसेज एएनए र फेसन शो १ तिर शनिवार सांझ ७ बजे राखिएको छ । सम्मेलनबाट महिला सशक्तिकरण र महिला नेतृत्व विकासमा प्रोत्साहन र अवसर मिल्ने कुरामा आयोजक विश्वस्त छन्।

सम्मेलनलाई भब्य रुपमा सफल पार्न एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा चयन गरिएको छ भने सहसंयोजकको रुपमा टिका पौडेल, राजु सिटौला, जगदीश ढकाल, सरिता गुरुङ, आर सी पन्त, अर्जुन बगाले तथा भुषनलाल श्रेष्ठलाई चयन गरिएको संयोजक त्रीपाठीले बताएका छन्।





Comments

comments

76130