श्रीमतीले पनि अर्को श्रीमान ल्याउने व्यवस्था होस्!

काठमाडौं- ‘पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउँछन् भने श्रीमतीले पनि त्यही घरमा अर्को श्रीमान् ल्याएर दुवैलाई सँगै राख्न पाउने व्यवस्था नयाँ संविधानमा गरियोस्,’ काभ्रेमा सुझाव संकलन गर्न पुगेको टोलीलाई एक महिलाले यस्तो सुझाव दिइन्।

सभासदसहितको टोलीले उनको सुझाव टिपोट मात्रै गर्योर र जस्ताको त्यस्तै ल्याएर संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई बुझायो। ‘ती महिलाले सुझाव दिँदा हामीले हुन्छ वा हुन्न केही भनेनौं,’ एमाले सभासद विदुर सापकोटाले भने, ‘सुझाव जस्ताको त्यस्तै समितिमा बुझाएका छौं।’

संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि जिल्ला पुगेका सभासदसहितको टोलीलाई कतिपयले ती महिलाले झैं अनौठा सुझाव दिएका छन्।

‘अरूको कुरा नसुन्ने र सुनेको कुरा पूरा नगर्ने राजनीतिज्ञको कान र बोलेको कुरा पूरा नगर्नेको जिब्रो काट्ने व्यवस्था गर्नुपर्छ,’ ओखलढुंगा पुगेका सभासदको टोलीलाई मनजित राईले सुझाव दिएका दिए। नागरिक दैनिकमा समाचार छ।

ओखलढुंगामा सुझाव संकलन गरेका कांग्रेस सभासद रामहरि खतिवडाले पनि राईको सुझाव जस्ताको त्यस्तै समितिमा बुझाएको जानकारी दिए।

ओखलढुंगा पुगेको सभासदको टोलीमा राम कार्की, यज्ञराज सुनुवार, शकुन्तला राजभण्डारी र हर्कबोल राई पनि थिए।

ओखलढुंगामै अर्का सुझावकर्ता दलबहादुर मगरले नयाँ संविधानमा समावेश गर्नैपर्ने भनेर यस्तो सुझाव दिए, ‘छोरो वैदेशिक रोजगारीमा गएका बेला बुहारी भगाउनेलाई मृत्युदण्ड वा १० वर्ष कैदको व्यवस्था नयाँ संविधानमा गर्नुपर्छ।’

संविधानसभाको वेबसाइट र इमेलमा पनि यस्तै अनौठा सुझाव आएका छन्। ती सुझावलाई संविधानको प्रारम्भिक मस्यौदामा आएका अन्तिम मस्यौदामा कसरी समावेश गर्ने भन्ने चुनौती समितिलाई छ। संविधानसभा सचिवालय स्रोतका अनुसार हजारौं सुझाव संविधानमा समावेश गर्नै नसकिने खालका पनि छन्।

‘कतिपयले नयाँ संविधान बनाएर पठाएका छन् त कोहीले संविधानको प्रारम्भिक मस्यौदा जस्ताको त्यस्तै पठाएका छन्,’ कम्प्युटर अधिकृत प्रदीप नेपालले नागरिकसँग भने, ‘तर, हामीले जे आएका छन् त्यसलाई अभिलेखालयका लागि प्रिन्ट गरेर सुरक्षित राखिदिएका छौं।’

इमेलमा आएको एउटा सुझावमा भनिएको छ, ‘फुल पावर दिई अति नै कडा नीति नियम कार्यान्वयन गराइयोस्, साथै प्रहरी प्रशासनबाट गल्ती, कमजोरी भए साम, दाम, दण्डभेद, जेल, नेल सजाय सर्वसाधारणसरह कडाइका साथ लागू गरियोस्। नारीप्रधान देश इजरायलको जस्तै कडा कानुन बनाइयोस्।’

मदन बजगार्इंले पठाएको सुझावमा भनिएको छ, ‘राष्ट्रिय खेल फुटबल, राष्ट्रिय अन्न मकै, राष्ट्रिय परिकार खुवा, राष्ट्रिय बाजा मादल, राष्ट्रिय पोसाक कोट, टाई, पाइन्ट, राष्ट्रिय सवारी साइकल, राष्ट्रिय रूख लप्सी, राष्ट्रिय फल सुन्तला थपियोस्, तर राष्ट्रिय रङ तोक्न आवश्यक छैन।’





Comments

comments

Leave a Reply

7644