प्रधानमन्त्री बन्न सभासदहरुलाई ब्लु फिल्मसमेत देखाइयो

संसद्मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेको पछिल्ला २४ वर्षमा देशले २१ वटा सरकार पायो। एउटा प्रधानमन्त्री छान्न संसद्मा १७ पटकसम्म चुनाव पनि भयो। र, पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन सकेनन्।

दुई सय ४० वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न ०४६ मा जुन उमंगका साथ जनता सडकमा उत्रिएका थिए र नयाँ व्यवस्थाप्रति जति आशा गरेका थिए, प्रजातन्त्र प्राप्तिपछिका वर्षहरूमा त्यत्ति नै निराश बने । दलहरू सत्ताको फोहोरी खेलमा लिप्त भए । जनताले स्थिर सरकार कस्तो हुन्छ भन्ने बुझ्न र जान्नसमेत पाएनन् । यस अवधिमा दलहरू सरकार बनाउने र ढाल्ने खेलमा यति निर्लज्ज र पार्टी अनुशासनविरुद्ध गएर लागे कि आफ्नै नेतृत्वको सरकारका विपक्षमा मत हाल्ने, पैसामा सांसद खरिद–बिक्री गर्ने, होटेलमा जम्मा भएर ब्लु फिल्म हेर्नेदेखि प्रधानमन्त्री छान्ने वेला विदेश घुम्नेसम्मका काम गरे।

संसदमा आठ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)का लोकेन्द्रबहादुर चन्द र ११ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाले पालैपालो ८८ सिट भएको एमाले र ८३ सिटको कांग्रेसको बुई चढेर प्रधानमन्त्री बन्दै देश चलाए। जनताले विश्वास गरेर राम्रो मतका साथ सिंहदरबार पठाएका कांग्रेस र एमाले सत्ता लुछाचुडीकै खेलमा लागेर विभाजित बने । राप्रपा र नेपाल सद्भावना पार्टीजस्ता साना दल पनि टुक्रिए। नयाँ पत्रिकामा समाचार छ।

०५१ को आमनिर्वाचनमा ८८ सिटसहित ठूलो दल बनेको एमाले ०५४ मा विभाजित भयो र वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) गठन भयो। गौतमले ४० सभासद् आफूसँग लगे । २० सिट रहेको राप्रपा पनि थापा र चन्दको नेतृत्वमा विभाजित भयो । यस अवधिमा सरकार लम्ब्याउनकै लागि जम्बो मन्त्रिपरिषद् पनि गठन गरिए । ०५२ को पुसमा प्रधानमन्त्री हुँदा कांग्रेस नेता देउवाले ६ पटक पुनर्गठन गर्दै मन्त्रिपरिषद् ४८ सदस्यीय बनाए । त्यसपछिका सरकारहरूले पनि त्यसलाई निरन्तरता दिन थाले।

०५४ मा सूर्यबहादुर थापाले ४७ सदस्यीय मन्त्रिपरिषद् बनाए । गिरिजाप्रसादले ३७ र कृष्णप्रसाद भट्टराईले ३२ सदस्यीय बनाए । गणतन्त्र आएपछिको सरकारको नेतृत्व गरेका माधव नेपाल र बाबुराम भट्टराईले समेत जम्बो मन्त्रिपरिषद् गठन गरे । स्पष्ट बहुमतसहित ०४८ मा सरकारमा पुगेको कांग्रेसको सरकार आफ्नै सांसदका कारण ढल्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन सकेन । कांग्रेसका एक सय १० सांसद थिए, तर सरकारको नीति तथा कार्यक्रमको पक्षमा ७४ मत मात्रै आयो । र, कोइरालाले राजीनामा दिँदै संसद् विघटन गरेर आमनिर्वाचन गर्न राजासमक्ष सिफारिस गरे।

२९ कात्तिक ०५१ मा भएको निर्वाचनपछि कांग्रेस दोस्रो दलमा खुम्चियो, एमाले ८८ सिटसहित पहिलो दल बन्यो । र, मनमोहन अधिकारीको नेतृत्वमा एमालेले नौ महिना अल्पमतको सरकार पनि चलायो । २५ भदौ ०५२ मा राप्रपा र सद्भावना पार्टीसँग मिलेर कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएर एमालेको सरकार ढाल्यो। र, एक सय ६ सांसदको समर्थनसहित कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि सत्तासमीकरणका लागि फोहोरी खेल सुरु भए। ०६२/६३ को आन्दोलन सफल हुन्जेलसम्म ११ वटा सरकार फेरिए । दलहरू पनि यही अवधिमा विभाजित बने । एउटा दलले अर्कोलाई पछार्ने अभियान नै थाले । शेरबहादुरपछि एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने।

त्यसपछि कांग्रेसकै समर्थनमा ११ सिट भएका सूर्यबहादुर थापा प्रधानमन्त्री बनेर देश चलाए । सत्ता राजनीतिमा चतुर खेलाडी मानिने कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ६ महिनामै थापालाई पछारे र ३० चैत ०५४ मा आफैँ प्रधानमन्त्री बने । एमाले फुटेर बनेको मालेको आन्तरिक सहयोग पाएका कोइरालाले भित्रभित्रै एमालेसँग पनि कुरा चलाइरहेका थिए । मालेले असहयोग गर्दा ६ पुस ०५५ मा संसद्मा विश्वासको मत गुमाएपछि राजीनामा दिएका उनले २४ घन्टाभित्रै एमालेको समर्थनमा सरकार गठन गरे र फेरि प्रधानमन्त्री बने । १ माघ ०५५ मा कोइरालाले राजीनामा मात्रै गरेनन्, संसद् विघटन गरेर चुनावको घोषणा पनि गरे।

०५६ को आमनिर्वाचनमा पनि कांग्रेसले एक सय ११ सिटसहित स्पष्ट बहुमत पायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । तर, १० महिना नबित्दै उनकै पार्टीका गिरिजाप्रसादले राजीनामा दिन बाध्य बनाए। ७ चैत ०५६ मा कोइराला नयाँ प्रधानमन्त्री बने। तत्कालीन विद्रोही माओवादीविरुद्ध होलेरीमा सेना परिचालन गर्नेबारे भएको विवादपछि उनले ४ साउन ०५८ मा राजीनामा दिए । र, कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री बने।

सशस्त्र युद्धरत माओवादीविरुद्ध देउवा सरकार आक्रामक बन्यो । संकटकाल लगाएर सेना परिचालन पनि गर्‍यो । संकटकालको अवधि बढाउने विषयमा कांग्रेसले नै साथ नदिएपछि उनले पार्टी मात्रै विभाजन गरेनन्, संसद् विघटन गरेर चुनावसमेत घोषणा गरे । तर, चुनाव गर्न सकेनन् । चुनाव गराउन नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई असक्षम ठहर्‍याउँदै २५ असोज ०५९ मा राप्रापा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । त्यसलगत्तै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । फेरि देउवा प्रधानमन्त्री बनाइए।

१९ माघ ०६१ मा त राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए । ०६२/६३ को जनआन्दोलनपछि संसद् पुनस्र्थापना भयो । र, १७ वैशाख ०६३ मा गिरिजाप्रसाद प्रधानमन्त्री भए । अन्तरिम संविधान जारी भयो, युद्धरत माओवादी पनि सिंहदरबार छिर्‍यो । ०६४ चैतमा संविधानसभाको चुनाव भयो । माओवादी ठूलो दल बन्यो । २ भदौ ०६५ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । देश गणतन्त्रमा पुग्यो, तर दलहरूको सरकार ढाल्ने र बनाउने बानी फेरिएन । संविधानसभाको तेस्रो ठूलो दलले दुईपटक सरकार चलाउने अवसर पायो । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनाललाई छाडेर एमालेले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनायो।

दोस्रोपटक पार्टीलाई छलेर एमाओवादीसित सहमति गर्दै खनाल प्रधानमन्त्री भए। उनीपछि एमाओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री बने। संविधानसभाको म्याद सकियो। भट्टराईले दोस्रो संविधानसभा चुनावको घोषणा गरे। तर, कांग्रेस, एमालेले त्यसको विरोध गरे । अन्तत: प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकार गठन गर्न दलहरू तयार भए । र, ३० फागुन ०६९ मा रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष बने । संविधानसभाको दोस्रो चुनावपछि कांग्रेस ठूलो दल बन्यो। र, २७ माघ ०७० मा सुशील कोइराला नयाँ प्रधानमन्त्री बने । उनले अहिलेसम्म सरकार चलाइरहेका छन्। तर, कतिवेला परिवर्तन हुन्छ भन्न सकिन्न। किनभने दोस्रो र तेस्रो ठूलो दल एमाले र एमाओवादी त्यसको तयारीमा लागेका छन्।





Comments

comments

Leave a Reply

7663