कीर्तिमानी आरोही हरी बुढामगर बेलायतमा सम्मानित, युकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने ‘पोइन्ट अफ लाईट’ अवार्ड


भूमिराज राई
/ एचकेनेपाल डट कम –

पर्बतारोहण र एडभेन्चरका माध्यमबाट अपाङ्गता एउटा सोंच मात्र हो, सबलाङ्गहरुले गर्न सक्ने सबै काम अपांगता भएका ब्यक्तिले पनि गर्न सक्छन्, भन्ने सचेतना फैलाउँदै घुडामाथि दुवै खुट्टा गुमाएका हरि बुढा मगरले सगरमाथाको शिखरमा पाइला टेक्दै किर्तिमान राखेर आफ्नो समुदायमा सचेतना फैलाएको भन्दै युकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने ‘पोइन्ट अफ लाईट’ अवार्डबाट सम्मानित भएका छन्।

सशस्त्र बल दिवस ( Armed Forces Day) को अवसरमा १० डाउनिङ स्ट्रीट रिसेप्शनमा भेटेरान्स मन्त्री जोनी मर्सरले हरिलाई अवार्ड प्रदान गरेका थिए।

सो अवसरमा बोल्दै हरिले, ‘पोइन्ट अफ लाइट’ अवार्ड द्वारा सम्मानित हुनु गौरवको कुरा हो। सगरमाथा आरोहण कुनै कीर्तिमान वा सम्मान अवार्ड र पुरस्कारको बारेमा थिएन, यो समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने तरिकामा फरक पार्ने प्रयास गर्ने र सबै मानिसहरूलाई ‘आफ्नो हिमाल चढ्न’ प्रेरणा दिने कुरा थियो।

मलाई विश्वास छ कि परिस्थिति सँग आफुलाई अनुकूल बनाएर, समर्पण, दृढ संकल्प र टिमवर्कको माध्यमबाट हामीले हाम्रो दिमागमा राखेका सबै कुरा हासिल गर्न सक्छौं।

यो गाह्रो हुन सक्छ, तपाईंले आशा गरेको भन्दा लामो समय लाग्न सक्छ र आवश्यक मद्दत, आफ्नो अवस्था अनुसार चाहिने सामग्री बनाउने (इन्नोभेसन) र तरिका परिबर्तन गर्नु पर्ला तर यो गर्न सकिन्छ र सम्भब छ, त्यसको उदाहरण तपाईंको अगाडी उभिएको छु।
अब जब मैले शिखर आरोहण गरें, मेरो जीवनको काम अशक्तताको बारेमा सचेतना, धारणा परिवर्तन गर्ने, र अवसरहरू सुधार गर्ने बारे जारी रहनेछ चाहे यहाँ बेलायतमा होस् वा विदेशमा।

यो एउटा पहाड हो जुन मलाई थाहा छ म कहिल्यै शिखरमा पुग्ने छैन, तर म यसलाई मेरो अन्तिम श्वास रहेसम्म आरोहण गरिरहनेछु।
ब्रिटिस आर्मीमा गोर्खा हुँदाको समयले सेवाको महत्त्व जगाएको थियो अब मेरो जीवन मेरो परिवार, समुदाय र समाजको सेवामा रहनेछ’, भने।

कीर्तिमानी आरोही हरिले बिभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि उल्लेख्य सहयोग र योगदान दिंदै आएका छन्!

हालसम्म ‘गोर्खा वेलफेयर ट्रस्ट’ लगायत सशस्त्र बल परोपकारी संस्थाका लागि £ ११,००० भन्दा बढी सङ्कलन गरिसकेका छन् र आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्म मार्फत £ ८८४,९०० (सगरमाथाको उचाइमा दुई वटा सुन्ना थपेर) उठाउने लक्ष्य राखेका छन्।

हरि बुढा मगर बिश्वभरि अपाङ्गताको चेतना फैलाउन चाहन्छन् र अपाङ्गता भएमा सीमित हुनु हुँदैन भनेर देखाउन चाहन्छन्।

हरिले बेलायत, नेपाल र विदेशका संस्थाहरूमा पनि आफ्नो अनुभब, अप्ठ्यारा, असजिला र आफुले गरेका संघर्षका कथा स्कूलहरू, विश्वविद्यालयहरू र सेना प्रशिक्षण केन्द्रहरूमा गएर बिभिन्न घटनाहरू सहित आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभाव लगायतका बिषयमा आफ्नो भोगाई सुनाएर अरुलाई जागरुक र सचेत बनाउँदै आएका छन्।

य़ुकेमा प्रधानमन्त्री दैनिक ‘पोइन्ट अफ लाइट’ अवार्ड उत्कृष्ट व्यक्तित्वहरु, स्वयंसेवकहरू र आफ्नो समुदायलाई राम्रो बनाउन र सकारात्मक परिबर्तन गर्न समर्पितहरुलाई सम्मानित गरेर उनीहरुको समाज प्रतिको उदाहरणीय समर्पणको सम्मान हो।





Comments

comments

78292