मलाई सानैदेखि बिजनेसमा रुचि थियो। मेरो दाइ बिजनेसम्यान भएकाले पनि व्यापार–व्यवसायमा मेरो आकर्षण बढेको होला। मेरा अन्य आफन्त पनि बिजनेसमै हुनुहुन्छ। त्यसैले, ममा पनि बिजनेसप्रति गहिरो झुकाब छ।
बिजनेसमा झुकाब हुँदाहुँदै पनि समयले मलाई अर्कै क्षेत्रमा डोर्यायो। कलाकारितामा लागुँला भन्ने सानामा सोचेकी थिइनँ पनि। अहिले त आधा दशक भइसक्यो, म कलाकारिता क्षेत्रमा प्रवेश गरेको। यसैमा रमाइरहेकी छु। तर, सानैदेखिको बिजनेस गर्ने र बिजनेस वुमन हुने चाहना अझै मरेको छैन।
सानैदेखिको बिजनेस वुमन हुने चाहना म अहिले नै मार्ने पक्षमा पनि छैन। छिट्टै व्यापार–व्यवसायमा हात पनि हाल्छु होला। बिजनेस सुरु गर्छु होला। तर, अहिलेसम्म केको बिजनेस गर्ने भन्ने निक्र्यौल गरिसकेको छैन। योजना त बनाइसकेकी छु, तर अहिले नै भन्न चाहन्नँ। मेरो बिजनेसको सुरुवात विदेशमा हुने सम्भावना प्रबल छ। तर, के कुरा निश्चित छ भने मैले गर्ने बिजनेस फिल्मसम्बन्धी चाहिँ होइन।
मलाई कलाकारिता र बिजनेसका साथै समाजसेवामा पनि रुचि छ। त्यसैले समाज विकाससम्बन्धी विषय अध्ययन गरेकी छु। तर, समाजसेवा गर्नका लागि मन मात्र भएर पुग्दो रहेनछ, प्रशस्त धन पनि चाहिँदो रहेछ। नयाँ पत्रिकामा गरिमा भन्छिन् – भोको पेटले समाजसेवा गरिरहन त कतिञ्जेल सकिएला र? यसका लागि पनि मैले बिजनेस सुरु गर्नुपर्ने हुन्छ।
विगत चार वर्षदेखि म युथ इम्पावरमेन्ट फर सोसियल सर्भिस नामक सामाजिक संस्थामा पनि आबद्ध छु। त्यसमा हामी २० जना छौँ। सिनेमा सेक्टरको म मात्रै हुँ। त्यसमार्फत हामीले बालबालिका पढाउने, वृद्धवृद्धाको सेवा गर्नेलगायतका काम गरेका छौँ । हरेक महिनाको अन्तिम शनिबार हाम्रो मिटिङ हुन्छ । त्यहाँ हामी २० जनाले आ–आफ्नो गच्छेअनुसार पैसा उठाउने गर्छौं।
मेरो बिजनेस यही वर्षभित्र सुरु हुन्छ। त्यसका लागि अहिले मानसिकता तयार गरिरहेकी छु। फिल्म अभिनयका साथै समाजसेवा र व्यापारलाई एकसाथ अघि बढाउने कोसिसमा छु। केही गरी म सिनेमा क्षेत्रमा नलागेको भए व्यापारी नै बन्ने थिएँ। अब बल्ल व्यापार सुरु गरेर आफ्नो सपना साकार पार्ने तयारीमा छु।