अमेरिकाको मनाससमा यसरी मनाइयो तीज…

विजय थापा –
अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अत्यन्तै क्रियाशील गैरमुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )को तीज भव्यताका साथ सम्पन्न भएको छ।

अमेरिकाको सबैभन्दा ठूलो र बृहत रुपमा मनाउदै आएको एएनएचएस मनासस तीजले बिगत बर्ष झैँ त्यतिकै मानिसहरुको घुइचो र जमघटमा तीज मनाउन सफल भएको छ।

सन् २०२०-२०२१ मा कोरोना महामारीको कारण जुम भिडियोमार्फत समेत निरन्तरता दिदै आएको एएनएचएसले तीज २०२३ लाई भब्य र सभ्य रुपमा समापन गरेको छ। अध्यक्ष जानु ओझाले स्वागत मन्तब्य तथा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले अर्को बर्ष आफनै न्याक भवनमा तीज मनाउने प्रतिबद्धता बाहेक अन्य मन्तब्यहरुलाई किनारा लगाउदै सिधै नाँचगानमा कार्यक्रमलाई प्रवेश गराईएको थियो।

हजारौको संख्यामा पुरुष,महिला तथा बालबालिकाहरुको उत्साहजनक उपस्थितिले हरितालिका तीजलाई अझ प्रोत्साहन गरेको छ। बिगत वर्ष झैँ यस वर्ष पनि महिला दिदीबहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्षोल्लासका साथ सम्पन्न भएको छ।

सधैभरी अपेक्षा गरिएको भन्दा बढी सहभागी हुने भएकोले ठूलो क्षमता भएको भर्जिनियाकै हे मार्केट भन्ने शहरमा पृथक एक बृहत सभाकक्षमा कार्यकम गरिएको थियो । अमेरिका मै जन्मेका,नेपाली बोल्न सिक्दै गरेका र एएनएचएस कै आफ्नै नेपाली पाठशाला पढ्दै गरेका दोश्रो पुस्ताका नेपाली बालिकाहरुले तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए।

यसको साथै डीसी महानगर क्षेत्रका छेउछाउका शहरबाट आएका समूह, व्यक्तिगत तथा सामूहिक रुपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए। अधिकांश चेलीबेटीहरु तीजका गीतहरुमा मनोरञ्जन गर्दै नृत्यमा मस्त देखिन्थे।

तीज कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदनको बिशेष सहयोग तथा डीसी क्षेत्र वरपरका संघसंस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा भब्य तीज कार्यक्रमको आयोजना गरेको हो।

तीज कार्यक्रम भएता पनि अमेरिका र नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रम केसी डान्स सेन्टरका बिधार्थी,एएनएचएस एकडेमीका बिधार्थी ,युगल तथा सामूहिक तीज नृत्यको प्रस्तुतिपछि चेलीबेटीहरुलाई दर खुवाउदै सबैलाई सामूहिक रुपमा नृत्य गर्न बोलाइएपछि तीजको रौनक प्रारम्भ भएको थियो।

डीसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छोडी परदेशमा रहेका दिदीबहिनीहरुलाई माइती कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउदै आएको छ।

कार्यक्रममा बालबालिकाहरुको लागि बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो । धेरै मानिसहरु उभिएर समेत तीजका सामूहिक नृत्य हेर्नु परेको थियो।

मेरिका नेपाल सहयोगी समाज(एएनएचएस )संग जोडिएका दर्जनौ दर्जन महिलाहरुले बिगत बर्ष झैँ एकै प्रकारका पोशाक सारी लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरु पनि नेपाली पोशाक दौरा सुरुवालमा आएका थिए।

सँस्थाका सबै पदाधिकारी तथा स्वयंसेवकरुपमा अहोरात्र खटिई करिव १५ सय जना भन्दा बढीलाई खानपिन दरको व्यवस्था गरिएको थियो।





Comments

comments

84718