पोखरामा आदिवासी जनजातिको मोटरसाइकल र्याली

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २३ साउन। २० औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीको समन्वयमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत शुक्रबार आदिवासी जनजाति युवा महासंघ कास्कीले प्रचारात्मक बृहत मोटर साइकल र्याली सम्पन्न गरेको छ।

पोखरा सभागृहबाट शुरुभएको मोटरसाइकल र्याली न्युरोड, विपीचोक चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, रानी पौवा, हस्पिटलचोक, अमरसिंहचोक, कालिका उच्चमावि, रामबजार, बुद्धचोक, लखनचोक, समागृह चोक हुदै पुनः पोखरासभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेलले विश्व आदिवासी दिवस आदिवासी जनजातिहरुको महान पर्व भएकाले शनिवार पोखराको चिप्लेढुंगाबाट शुरु हुने मौलिक भेषभुषा, बाजागाजा, झाँकीसहित शुरु हुने जुलुसमा सम्पुर्ण आदिवासी जनजातिहरुलाई सहभागिताका लागि आग्रह गर्नुभयो । उहाँले २० औ विश्व आदिवासी दिवसलाई नेपालका आदिवासी जनजातिहरुले पहिचानसहितको संघीय संविधान निर्माणका लागि दवावमुलक रुपमा मनाउदै आएको बताउनुहदै पहिचानसहितको संघीय संविधान निर्माण नहुँदासम्म दवाव जारी रहने बताउनुभयो।

कार्यक्रम संयोजक आदिवासी जनजाति युवा महासंघ कास्कीका सचिव तोरण गुरुङले मोटरसाईकल र्यालीमा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै आदिवासी जनजाति युवाहरु आदिवासी जनजातिहरुको आफ्नो सामुदायिक अधिकार सुनिश्चित गर्न, पहिचानसहितको संघीय संविधान, तमुवानसहितको संघीयता निर्माणका लागि आन्दोलित रहन आग्रह गर्नुभयो।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अन्तिम दिन शनिवार ९ अगष्ट वा २० औं विश्व आदिवासी दिवसको मुख्य समारोहमा सहभागी हुन पोखराको चिप्लेढुंगाबाट आदिवासी जनजातिको झाँकी, बाजागाजासहितको बृहत जुलुस शुरु भई भिमसेनचोक, नयाँबजार, लखनचो, सभागृहचोक हुदै पोखरा सभागृह पुग्ने र नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव, आदिवासी जनजाति अग्रज नेता परशुराम तामाङ मुख्य आतिथ्यमा कार्यक्रम हुने आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मोले जानकारी दिनुभयो। उक्त समारोहमा आदिवासी जनजातिका विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुति गरिने सचिव ह्योल्मोले बताउनुभयो।





Comments

comments

860