पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा, १८ असोज । लामो समयदेखि अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ।

हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ। बसपार्कभित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन्।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ। बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ। बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो।

उहाँका अनुसार पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन। यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा कयौँ चुनौतीहरू रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उहाँले बताउनुभयो।

नगरप्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो।

मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठूला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्दछन्।





Comments

comments

86154