ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गर्भवती महिलाको दुई दिनपछि मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ जनवरी। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गर्भवती महिलाको दुई दिनपछि अस्पतालमा मृत्यु भएको छ।

चार महिनाकी गर्भवती महिलालाई मंगलबार दिउँसो ३.१३ बजे क्वुन टोङमा ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएकी थिइन्। उनको आज बिहीबार बिहान ११:३२ बजे मृत घोषणा गरिएको स्थानीय मिडियाले जनाएको छ।

गर्भवती महिलाको मृत्युको अघिल्लो दिन उनको पेटमा रहेको भ्रूणको मृत्यु भइसकेको जनाइएको छ।

आज बिहान १०.४३ बजे ३१ वर्षीया महिला चानको मुटुको धड्कन बन्द भएको थियो। डाक्टरहरूले महिलालाई कार्डियक एजेन्ट दिए पनि कुनै फाइदा नभएपछि अन्ततः उनको एक घण्टापछि मृत्यु भएको प्रमाणित गरेका छन्।

मंगलबार दिउँसो क्वुन टोङको होई बन रोडबाट सुन यिप स्ट्रिटमा ट्रक मोड्ने क्रममा दुर्घटना भएको थियो।

लेउङ उपनामका ५९ वर्षीय चालकले समयमै ब्रेक नलगाउंदा महिला चानलाई ट्रकले ठक्कर दिएको थियो। उनी रगत वान्ता गरेर बेहोस भएकी थिइन्।

टाउकोमा गहिरो चोट लागेर गभ्मीर घाइते भएकी चानलाई क्वाङ वाह अस्पताल लगिएको थियो।

बुधवार उनको अवस्था गम्भीर रहेको थियो जबकि परिवारका सदस्यहरूले मुटुको धड्कन पत्ता लगाउन नसकेकाले घाइते चानको पेटमा रहेको भ्रूण बाँच्न नसकेको बताएका थिए।





Comments

comments

99780