एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

काठमाडौं,फागुन १७ – मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ। यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा तीनजनासम्म बिरामी राख्ने गरिएको छ। उपकरणहरू बिग्रेका छन्। अस्पतालको ढिलासुस्तीसँग अपरिचित मानिस यहाँ पुग्यो भने रोग झनै बढ्ला भन्ने डर हुन्छ।

फोहोर र सुस्त सेवा भएको यही वीर अस्पतालको वातावरण हराभरा पार्न र सेवा चुस्त पार्न बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन यूके) लाग्ने भएको छ। अस्पताल सुधारका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ छुट्ट्याए पनि प्रभावहीन देखिँदा एनआरएन यूके यसलाई सुधार्न सक्रिय बनेको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।

एनआरएन यूकेले वीर अस्पताल सुधारका लागि प्राथमिकता छुट्ट्याएको छ। अस्पतालको भौतिक पूर्वाधार निर्माण, बिग्रिएका उपकरण मर्मत र अस्पताल सफा पार्न आर्थिक तथा प्राविधिक सहयोग गर्न लागेको संघका उपाध्यक्ष हीराधन राईले बताए। यस्तो सहयोग अस्पतालले निरन्तर पाउनेछ।

‘थुप्रै समस्या झेलिरहेको वीर अस्पतालले अपेक्षाअनुसार सेवा दिन सकेको छैन’, राईले भने, ‘अस्पतालको सेवा केही भए पनि स्तरीय बनोस्। अस्पतालभित्र संक्रमण नफैलियोस् र बिरामीले स्वच्छ महसुस गरून् भन्ने उद्देश्यले सहयोग गर्न लागेका हौं।’

यूकेले चार सय ५७ शय्याको अस्पतालका बिग्रिएका र सरसफाइविहीन शौचालय मर्मत गर्ने, अस्पताल परिसरभित्र निस्कने धुलो नियन्त्रण गर्ने, सरसफाइबाट जम्मा भएको फोहोर उचित व्यवस्थापन गर्नेलगायत काममा सहयोग गर्ने जानकारी उनले दिए। अस्पताल सुधार र सफाइका लागि कति रकम लाग्छ भन्ने यकिन नभएको उनले बताए।

संघले अस्पतालभित्र हुने संक्रमण रोकथाम र सरसफाइलाई निरन्तरता दिन अस्पतालका चिकित्सक, नर्स र कर्मचारीलाई तालिमसमेत दिनेछ। तालिमका लागि बेलायतबाटै चिकित्सक र नर्स झिकाइनेछ।





Comments

comments

4727