अवकाशप्राप्त उपरथी टीका धमलासँग राजा वीरेन्द्रका अनगिन्ती संस्मरण छन् । एडिसीका रूपमा २० वर्ष राजा वीरेन्द्रसँगै रहेका उनी दरबार हत्याकाण्ड हुने दिन ०५८ जेठ १९ गते शुक्रबार साँझसम्म वीरेन्द्रसँगै थिए । कूटनीति, सुरक्षाका विषयमा स्वयं जानकार पूर्वउपरथी धमलाले राजा वीरेन्द्रका राजनीतिक, कूटनीतिक र निजी प्रसंग नयाँ पत्रिकाका पर्शुराम काफ्लेलाई सुनाए:


राजा वीरेन्द्र र ज्ञानेन्द्रका बीचमा धमला

०२८ सालमा राजा वीरेन्द्रले गद्दी सम्हाल्नुभयो । नेपाल र भारतबीच १९५० को सन्धि हुँदा नेपालमा राणाहरूको हुकुमी शासन थियो । २००७ सालमा प्रजातन्त्र आएपछि सन्धि रद्द हुनुपर्छ, नयाँ सन्धि हुनुपर्छ भन्ने आवाज नेपालमा उठिरहेको थियो । कम्युनिस्टले त वेला–वेलामा त्यसका बारेमा कराइरहेका थिए । सन्धि असमान हो भन्ने कुरा राजा महेन्द्र र वीरेन्द्रलाई पनि लागेको हो, तर उहाँहरूको शैली हल्ला गर्ने खालको थिएन।

राजा वीरेन्द्रलाई अन्तिमसम्म लागेको थियो– भारतसँग नेपालको विशेष सम्बन्ध रहनैपर्छ । यो नभएसम्म नेपालमा शान्ति र आर्थिक विकास हुँदैन । वीरेन्द्र सरकार ‘क्लियर’ हुनुहुन्थ्यो।

१९५० को सन्धि, ०२२ को गोप्य सम्झौता उहाँलाई सहज लागेन । त्यसले नेपालको स्वतन्त्रतामा आँच आएको भान भयो । हुन त, सन्धिको दफा १० मा एक वर्षको सूचना दिएर कुनै देशले अर्कालाई सन्धि खारेजीका लागि चिठी पठाए एक वर्षपछि स्वत: रद्द हुने व्यवस्था पनि छ । तर, त्यो निवेदन दिँदा भारतसँग ‘डाइरेक्ट कन्फ्रन्टेसन’ हुन्छ भन्ने राजालाई लाग्यो । त्यसकारण, राजाले शान्ति क्षेत्रको प्रस्ताव ल्याएर ती दुवै विषयको औचित्य समाप्त भएको संकेत दिनुभएको हो । कूटनीतिक रूपमा १९५० को सन्धि र ०२२ को गोप्य सम्झौतालाई माइनस गरेर नेपालको स्वतन्त्र छवि स्थापित गर्न राजाले ०३१ सालमा शुभराज्याभिषेकका समयमा शान्ति क्षेत्रको प्रस्ताव गर्नुभयो । ५७ देशका प्रतिनिधिसामु राजाले टुँडिखेलबाट यो घोषणा गर्नुभयो । चीन, रसिया, पाकिस्तानलगायत देशले समर्थन गरे । संयुक्त राष्ट्रसंघको सदस्यता लिएका मुलुकमध्ये दुईतिहाइ अर्थात् ११६ मुलुकले राजाको प्रस्तावलाई समर्थन गरे । भारतले समर्थन गरेन । भारतसँगको सम्बन्धका कारण रसियाले समर्थन लामो समयसम्म कायम राखेन । शान्ति क्षेत्रको प्रस्तावका बारेमा राजा वीरेन्द्रले भारतसँग विभिन्न चरणमा कुराकानी गर्नुभयो, तर ऊ ‘कन्भिन्स’ भए।


टीका धमला तत्कालीन राजा वीरेन्द्रका एडिसी

राजीव गान्धी नेता थिएनन्, इन्दिरा गान्धीको दुर्घटनामा मृत्यु नभइदिएको भए राजीव पाइलट नै रहन्थे, बरु सञ्जय गान्धी नेतृत्वमा आउनेवाला थिए । सञ्जयलाई इन्दिराले नै अघि बढाइरहेकी थिइन् । तर, संयोगले राजीव राजनीतिमा अगाडि आए । राजीवसँग राजा वीरेन्द्रको सम्बन्ध राम्रो भएन।

सार्कको दोस्रो सम्मेलन बैंग्लोरमा जाँदा राजा वीरेन्द्रले नेपालको जलस्रोत विकास नेपाल भारत, बंगलादेशसँग मिलेर गरौँ भन्ने प्रस्ताव गर्नुभयो । तीन देशले बराबरी लगानी गरौँ, ‘एक्स्प्लोर’ गरौँ भन्ने प्रस्तावलाई राजीव गान्धी र बंगलादेशका राष्ट्रपतिले समर्थन गरे । गान्धीले त यतिसम्म भने, ‘राजा वीरेन्द्रको प्रस्ताव स्वागतयोग्य छ, भारत सरकार आफैँले ६ महिनाभित्र यससम्बन्धी स्वेतपत्र जारी गर्नेछ ।’ तर, अहिलेसम्म भारतले स्वेतपत्र जारी गरेको छैन।

मैले ‘महाराजाधिराज वीरेन्द्र सरकार’सँग २० वर्ष नजिक बसेर काम गरेँ । नेपालीहरू आफ्नो पाखुरीमा स्वाभिमानीपूर्वक बाँच्नुपर्छ भन्ने उहाँको चाहना थियो।

बंगलादेशका राष्ट्रपति सेख मुजिबर रहमानको पहिलो स्टेट भिजिट नेपालमा भयो । त्यही वेला राजा वीरेन्द्र र रहमानबीच कुराकानी हुँदा सार्कको परिकल्पना भयो । राष्ट्रपति रहमान यस्तो इमानदार र राष्ट्रवादी हुनुहुन्थ्यो कि उहाँले सरकारी मोटरमा कहिल्यै श्रीमती राख्नुभएन । सार्कको छलफल भए पनि भारत र पाकिस्तानले कसरी मान्लान् भन्ने भयो । सुरुमा भारत र पाकिस्तान दुवैले मानेनन् । भारतलाई लाग्यो, ‘सार्क भयो भने साना देश मिलेर भारतलाई कर्नरमा पार्छन् ।’ पाकिस्तानलाई लाग्यो, ‘सार्क भयो भने भारतको डोमिनेसन हुन्छ, हामीलाई अप्ठ्यारो हुन्छ ।’ त्यसपछि राजा र रहमानको कुरा भयो । राजाले पाकिस्तानलाई मनाउने, रहमानले भारतलाई मनाउने । दुई पक्षीय मामिला सार्कमा छलफल नहुने भन्नेमा भारत र पाकिस्तान सहमत भए । अन्तत: सार्क जन्मियो । परिकल्पनाकार राजा हुनुहुन्थ्यो।

०३८ सालमा अल्पविकसित मुलुकका तर्फबाट राष्ट्रसंघले पेरिस कन्फरेन्समा राजालाई पमुख अतिथि बनायो । त्यहाँ राजाले मर्मस्पर्शी भाषण गर्नुभएको छ, ‘मैले यहाँ बोलिरहेका वेला एसियाका बच्चाहरू रोग, भोकले खान नपाएर रोइरहेको कानमा गुन्जिइरहेको छ । तर, बच्चाहरूलाई गोली दिइँदै छ, यो कुन तत्त्व हो?’

अमेरिका भ्रमणमा जाँदा राजालाई अमेरिकी प्रेसले घेरे । एट्लान्टाको घटना हो, नारायणप्रसाद श्रेष्ठ पनि थिए । मिडियाले भने, ‘मिस्टर वीरेन्द्र ।’ बेलायतीहरूले राजालाई सम्मान गर्न जानेका हुन्छन्, अमेरिकीहरू जान्दैनन् । तर, राजाले यसलाई अन्यथा लिनुभएन । हामीले अमेरिकी प्रेसलाई रोक्न खोज्यौँ, तर राजाले भन्नुभयो ‘नरोक । आई नो हाउ टू डिल इट ।’ राजाले मिडियासँग खुलेर कुराकानी गर्नुभयो । भोलिपल्ट अमेरिकी अखबारमा उहाँको राम्रो ‘कभरेज’ भयो।

नेपाली सेनाका सुप्रिम कमान्डर राजा हुनुहुन्थ्यो । उहाँ सुरक्षा निकायलाई सकेसम्म आत्मनिर्भर बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँकै पहलमा जर्मनबाट मेसिन ल्याएर सुन्दरीजलमा हतियार मर्मत भइरहेको छ । जर्मन हेक्लर एन्ड कोक कम्पनीले नेपालमा हतियार एसेम्बल गर्ने र दक्षिण एसियामा बेच्ने, जसले गर्दा नेपाली सेनालाई आवश्यक हतियार यहीँ तयार हुने, यो प्रसंग अगाडि बढेको थियो । कम्तीमा हामीलाई मात्रै हतियार पुर्‍याउन सक्यौँ भने पनि राम्रै हुन्थ्यो । नेपाली सेनाले लगाउने पोसाक हेटौँडाबाट उत्पादन हुन्थ्यो । हेटौँडा गएका वेला राजाले भन्नुहुन्थ्यो, ‘सेनालाई लगाउने लुगा यहीँ बनाउनुपर्छ ।’ राजा पनि यहीँ बनेको युनिफर्म लगाउनुहुन्थ्यो।

०४७ पछिको कुरा । त्यतिवेला एकजना मेजर जनरललाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल हालियो । राजा भ्रष्टाचार सहनुहुन्नथ्यो । संवैधानिक राजा हुँदाहुँदै पनि सेनाको कमान्डरका हिसाबले मेजर जनरललाई जेल हाल्नु ठूलो कुरा थियो । त्यसपछि त्यो तहको को जेल परेको छ?

भारतका व्यापारी, धार्मिक व्यक्तित्वसँग राजा वीरेन्द्रको असाध्यै राम्रो सम्बन्ध थियो । उहाँले ‘ट्रयाक टु डिप्लोमेसी’को प्रयोग गर्नुभएको थियो । दक्षिण भारतको उद्विपीमा गीता मन्दिरको उद्घाटनमा राजा वीरेन्द्रको सवारी भयो । म साथमै थिएँ । मन्दिरका मठाधीशले उद्घाटनका लागि वीरेन्द्र सरकारलाई पटक–पटक आग्रह गर्दै आएका थिए । राजासँग उनको डाइरेक्ट ‘एप्रोच’ थियो । राजा भन्नुहुन्थ्यो– म त हेड अफ स्टेट हुँ । म आफैँ जान मिल्दैन, सरकारमार्फत आउनुपर्छ ।’ भारतको औपचारिक निमन्त्रणाविना राजा जान मिल्दैनथ्यो, तर मन्दिरका मठाधीश मान्दैनथे । राष्ट्रपति शंकरदयाल शर्मा थिए । उनको निमन्त्रणामा राजा जानुभयो । औपचारिक भ्रमणका क्रममा दुई रात दिल्ली बसेर राजा उद्विपी भ्रमण गर्नुभयो र गीता मन्दिरको उद्घाटन भयो।

भारतीय नेताहरूले मठाधीशलाई जुत्ता फुकालेर साष्टांग दण्डवत् गर्दा रहेछन् । लालकृष्ण आडबाणी पनि गएका थिए, उनले लम्पसार परेरै मठाधीशलाई ढोगे । गीता मन्दिरका मठाधीशले भने, ‘नेपाल र भारत राजनीतिक रूपमा दुईवटा हुन्, तर सांस्कृतिक, धार्मिक रूपमा एउटै हुन् । भारतवर्षको उत्तराखण्ड तपोभूमि हो नेपाल । तपोभूमिमा क्षेत्रीय वंशका राजाले राज्य गरेको हुनुपर्छ भनेर वेदमा लेखिएको छ । भारतवर्ष कर्मभूमि हो । कर्मभूमिमा कसैले पनि तपोभूमि नेपालप्रति कुदृष्टि राखेमा भलो हुँदैन ।’ भारतसँग सम्बन्ध चिसिँदै थियो, त्यही वेला मठाधीशले त्यसो भन्दा राजाले अप्ठ्यारो मान्नुभयो । राजाले नै सिकाएर मठाधीशले बोलेजस्तो भयो ।
तीन वर्षअघि म रामेश्वर मन्दिर गएको थिएँ । त्यसअघि म राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग पनि गएको थिएँ । रामले लंकामा आक्रमण गर्दा शिवजीको स्थापना गरेर सेतु राखिएको र लंकाको विजय भएको भनिन्छ । नेपालका राजा र मन्दिरका पुजारीले मात्रै त्यहाँको शिवलिंग छुन पाउँछन्, भारतका राष्ट्रपति, प्रधानमन्त्री कसैले पनि पाउँदैनन् । पशुपतिनाथको मन्दिरको शिवलिंगचाहिँ नेपालका राजाले पनि छुन पाउँदैनन्, बाहिरैबाट पूजाआजा गर्ने हो, भट्टले लगेर राखिदिने । म रामेश्वर जाँदा त्यहाँका मठाधीशले भने, ‘राजा हुँदा उनी आएर यहाँ पूजा गर्थे । १२ वर्षभित्र राजा आएर दर्शन हुन्थ्यो, अब नेपालमा राजा छैनन्, कसले आएर दर्शन गर्ला ?’

एकपटक भारतीय राष्ट्रपति कलामउद्दिनको निम्तामा दिल्ली गएको क्षण सम्झिन्छु । राष्ट्रपति मुस्लिम भए पनि गीताको गहिरो ज्ञान रहेछ । गीताका विषयमा राजासँग कुराकानी भयो । कुनै ठाउँमा गीतामा भनिएको छ– राजा भगवान् विष्णुको मानवीय स्वरूपमा हुनुहुन्छ । राजा बेस्सरी हाँस्नुभयो, हामी पनि दंग पर्‍यौँ । वीरेन्द्रले जवाफ दिनुभयो, ‘नो, तपाईं पनि त्यस्तै हो, जस्तो म हुँ । राजालाई विष्णुको अवतार भनेको सबैभन्दा उच्च स्थानमा भन्ने अर्थमा हो । तपाईं पनि त्यही ठाउँमा हुनुहुन्छ ।’ त्यसपछि ठूलो हाँसो भयो।

राजा वीरेन्द्रको अन्तिम सवारी मैले नै चलाएको थिएँ, जेठ १९ गते साँझ डिल्लीबजारस्थित बडागुरुज्यू केशरीराज पाण्डेको घरमा । त्यही दिन राति घटना भयो । म स्पष्ट छु– तत्कालीन युवराज दीपेन्द्रको हातबाट गोली चलाइएको हो । बाहिरका संस्थाहरू लागे भनेर अनेक प्रचार–प्रसार भए । युवराज दीपेन्द्र सरकारले राक्षसी प्रवृत्ति देखाएकै हुन् । र, त्यो घटना मानव समाजमा हुने नै चिज हो । नेपालीको धरोहर भएका हिसाबले त्यो घटनाप्रति कुतूहल हुनु स्वाभाविक हो।

घटनापछि ज्ञानेन्द्र सरकार धेरै नै चिन्तित हुनुभयो । उच्चस्तरीय आयोग गठन भयो । माधव नेपालजी बस्छु भनेर पनि बस्नुभएन । बाँचेकाहरूको पनि बयान आयो । स्पष्ट भइसकेको पनि छ । त्यो केसमा राजपरिवारका कोही पनि संलग्न छैनन् । उनीहरूको संलग्नता कहिल्यै पनि पुष्टि हुनेछैन । युवराज दीपेन्द्रले हतियार राख्नुहुन्थ्यो । यो सुरक्षा सिद्धान्तविपरीत थियो । छोराले बाबुलाई त्यसरी गोली हान्लान् भन्ने सोचेका थिएनौँ । पारिवारिक पार्टीमा त्यस्तो होला भन्ने कसले सोचेको थियो र ? बुबाप्रति उहाँ बफादार हुनुहुन्थ्यो।

भूतप्रेत आदि विविध वास्तुजन्य कारणले हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन भत्काइयो । त्रिभुवन सदन देख्नेबित्तिकै मन खिन्न हुन्छ । दिनदिनै कति हेरेर बस्ने ? त्यही भएर भत्काइयो।





















Comments

comments