अहिलेका चर्चित लाहुरे लेखक भन्छन् -‘यो युद्धभूमिको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’

‘यो युद्धभूमिको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

विग्रेड अफ गोर्खाज’ अन्तर्गत दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत वारेन्ट अफिसर कैलाश खेबाङ यतिबेला चर्चामा छन्। उनको नेपालमा मात्र होइन संसारभरी चर्चा छ। तर, उनको चर्चा कुनै युद्ध मैदानमा अभूतपूर्व विरता देखाएर भने होइन । उनले समाइरहेको बन्दुकको शक्तिको कारण पनि होइन । उनको चर्चा, बन्दुकसँगै उनले समाएको कलमको कारण चर्चामा छन्। योद्धा मोर्चाको रोमाञ्चक अनुभूतिलाई अक्षरमा उतारेको कारण आज उनी चर्चामा छन् । ‘गोर्खा ’ नामक उनको पुस्तकको कारण उनी चर्चामा छन्।

ताप्लेजुङमा जन्मेका खेबाङ वि.सं. ०५५ सालमा ‘विग्रेड अफ गोर्खाज’मा भर्ती भए । लाहुरेका युद्ध कथामा आधारित जीवन कहानी ‘गोर्खा’ सन् २०१५ मा बेलायतको विख्यात प्रकाशक लिटल ब्राउनबाट प्रकाशन गरिएको हो। ‘सन्डे टाइम्स’का अनुसार अंग्रेजी भाषामा लेखिएको यो पुस्तक विश्वका १० उत्कृष्ट पुस्तकमा पर्न सफल भएको छ। एसियामा सर्वोकृष्ट बिक्रीको पुस्तक हो। यो पुस्तक अनलाइन बजार अमेजोन डटकमबाट पनि खरिद गर्न सकिन्छ ।

नेपाल बेलायत सम्बन्धको २०० बर्ष अर्थात् गोर्खा भर्ती सुरु भएको २ सय बर्ष पुगेको अवसरमा ‘व्रिगेड अफ गोर्खाज’ अन्तर्गत खेबाङलाई आफनो जीवनका अन्तरंगहरु प्रस्तुत गर्न पहिलो ‘गोर्खाज’को रुपमा छनौट गरिएको थियो । बेलायती बडामहारानीको प्रत्यक्ष स्विकृती र व्रिगेड अफ गोर्खाजको अनुमतीमा उनले यो पुस्तक लेखेका हुन् । पुस्तकका बिषय अफगानिस्तानको गृहयुद्धले आक्रान्त बनाएको जनजीवनको सेरोफेरोमा घुमेको छ।

वास्तवमा कहिले पनि फर्केर आउन नसक्ने हरेक दिनहरु मानब जीवनका निम्ति अमूल्य हुन्छन् । ती अमूल्य विगतहरुलाई एउटा शिक्षाको रुपमा पाठकहरुका निम्ति लेखक खेबाङ्गले पस्केका छन् । जसरी एउटा बन्दुकबाट छुटेको गोलीहरु फिर्ता आउँदैन, जीवनको महत्वपूर्ण पानाहरु पनि एउटा अध्यायमा पुगेपछि फेरी फर्काउन सकिदैन । केवल निशानालाई ताकेर जीवन अघि बढिरहन्छ।

जीवनमा झण्डै दुई दशक सैनिक जीवन विताई सकेका खेबाङले सैनिक जिन्दगीको गाँठी कुरा यसरी व्यक्त गरेका छन्। सायद पुस्तक पढिरहदा सबैलाई रोमाञ्चित बनाउँछ । पुस्तकमा समेटिएका संवाद, विम्व, प्रतिकहरुले गोर्खाली सैनिकको युद्धको प्रसंग, गोर्खाहरुको युद्धकथाले गोर्खाली सैनिकहरुको ईतिहासलाई खँदिलो बनाएको छ । नेपाली समाजमा लाहुरे प्रतिको रंगीन सपनालाई एउटा क्यानभासको रुपमा प्रस्तुत गरेका छन्। उनीसँग एचकेनेपाल डट कमका लागि रोशन मेवाहाङ्गले गरेको कुराकानी:

पुस्तक लेखनको लागि कसरी छनोट हुनुभयो?
-यो पुस्तक लेखनका लागि छनोट हुन्छु भन्ने मैले सोचेको पनि थिइंन। प्रमुख कार्यालयबाट एक्कासी मनोनयन भएको खबरले असाध्यै खुसी भएँ। खुसीसँगै अप्ठ्यारो पनि लाग्यो । अलिकति लाज जस्तो पनि भयो, किन कि ‘विग्रेड अफ गोर्खाज’मा म भन्दा बहादुर योद्धाहरुका कथा धेरै छन् । राम्रो लेख्न सक्नेहरु हुनुहुन्छ।

यो किताब मेरो मात्र हैन, हामी हरेक नेपालीको भन्न चाहन्छु । यो पुस्तक मेरो पल्टनका गुरुहरुका आर्शीवाद ठान्दछु । हरेक नेपालीको प्रेम र ‘विग्रेड अफ गोर्खाज’को उदारताबाट उत्पन्न भएको त्रिवेणी खोला हो । यो त्रिवेणी नदी सरल प्रवाहमा बगेको छ । यसमा समेटिएका युद्धका अनुभव र गोर्खाली इतिहास अनन्तसम्म रहिरहने छ । सैनिक पेशामा रहे पनि मलाई अनेकौ क्षेत्रका सफल मानिसलाई नजिकबाट नियाल्ने मौका मिल्यो । ‘विग्रेड अफ गोर्खाज’को प्रमुख कार्यालयप्रति म धेरै आभारी छु । अचानक यो मनोनयनले मलाई ज्यादै खुशी तुल्याएको छ । थप जिम्मेवार महसूस गरेको छु । यो मेरो जीवनकै सबैभन्दा ठूलो सफलता ठान्दछु।

बन्दुकसँगै कलम कसरी सम्भव भयो ?
– हामी जे भन्न सक्छौ, त्यही कुरा अभिव्यक्त गर्नु नै लेखकको कर्तव्य हो जस्तो लाग्छ । हामी जे भन्न असमर्थ छौ, त्यो व्यक्त गर्न सक्नु नै लेखकको दायित्व हो जस्तो लाग्छ । पुस्तक लेख्ने सपना राखिरहन्थे । तर कस्तो पुस्तक लेख्ने दिन-रात परिकल्पना गरिरहन्थे । अन्ततः गोर्खा सैनिककै बारेमा पुस्तक लेख्ने अन्तिम निर्णय लिए । जति बेला म लडाइको मैदानमा उत्रिएको थिए । त्यो मनको रहर र अध्यारो रातभित्र लुकेको मेरो सपना, आज विपना बनेको छ।

लेख्ने उत्प्रेरण कहाँबाट पाउनुभयो ?
– अनेकौ पटक लेख्न कोशिस नगरेको होइन । एक पन्ना पनि लेख्न नपाउँदै आफैलाई चित्त नवुझेर कैयाैं पटक ती पानाहरु च्यातेर फालेको झल्को यो मनमा आइरहन्छन् । कोठामा लेख्न नसकिने रहेछ भन्दै रमिते डाँडाहरुमा भौतारिए । अचानक अफगानिस्तानको रणभूमिमा तालिवानविरुद्ध लडाई लड्न २००६ सालमा खटाइयो । तालिवान विरुद्धको युद्धमा महिनासम्म निरन्तर लडिरहदा लडाइको कथा लेख्ने इच्छा जाग्यो । सुरुवात पनि गरे । आज सफल भए भन्ने लाग्छ । म कहिलेकाही उपन्यास लेख्ने सपना देख्थे, कहिले आत्मकथा । सैनिक जीवनमा बर्षैादेखि आबद्ध भएर अनुभव बटुलेको कारण पनि आफनै जीवन रंङ्गमञ्चको पहिलो युद्धकथा लेख्ने सोच गरें।

तपाईको ‘गोर्खा’ पुस्तकमा खास के छ ?
– गोर्खालीहरुले बेलायती सेनामा काम गर्न थालेको दुई सय बर्ष भएको छ । गोर्खालीहरुले यो लामो समयमा गौरवमय इतिहास निर्माण गरिसकेका छन्। दुनियाँमा हामीले गोर्खालीहरुको बेग्लै इतिहास र पहिचान बनाएका छौं । यो गौरवमय इतिहासको एउटा पाटो हो यो पुस्तक । त्यो गौरवमय इतिहासको जगेर्ना पनि हो । यो पुस्तक नयाँ पुस्ताका लागि प्रेरक हुनेछ भन्ने विश्वास लिएको छु। गोर्खालीहरुको गौरवमय इतिहासको दस्ताबेज पनि हो । गोर्खालीहरुको भावी पुस्ताको लागि उपहार दिन पाउँदा खुशी छु।

बेलायतको प्रसिद्ध प्रकाशक लिटल ब्राउन र अवकास कम्पनीबाट प्रकाशन गर्न कसरी सम्भव भयो ?
– प्रसिद्ध प्रकाशक लिटल ब्राउन र अवकास कम्पनिले गोर्खा सैनिक आधारित आत्मकथा खोजिको क्रममा विग्रेड अफ गोर्खाजलाई सम्पर्क गरेका थिए । विग्रेड अफ गोर्खाजका अग्रज अधिकृतहरुको स्वीकृती र छनौट प्रक्रियाबाट मनोनित आत्मकथाको उत्कृष्ट पात्रको रुपमा म पर्न गएको हुनाले यो अवसर सम्भव भएको हो । यो पुस्तक प्रकाशन गर्न स्वीकृत दिनु हुने विग्रेड अफ गोर्खाजका सम्पूर्ण अधिकृतहरुलगायत सहकर्मी मित्रहरु र लेखन शैली र छपाईसम्म अत्यधिक सहयोग पुर्याउनु हुने गोर्खाज सदस्यहरुप्रति सलाम छ। आफू सैनिक भए पनि जीवनको प्रवाह नगरी ताल झै जमि रहे र त्यो जमेको ताललाई लिटल ब्राउन र अवकास कम्पनीबाट प्रकाशन गरेर तरंग दिने काम गरे । यदि उहाँहरुले तरंगीत नगरिदिएका भए आज यसरी हिम शिखर झै बग्ने थिइँन।

तपाईंको पुस्तक कहाँ, कसरी पाउन सकिन्छ ?
– लिटल ब्राउन कम्पनीबाट पुस्तक प्रकाशन, अवकास प्रकाशनबाट पेपर व्याक, हाचेट कम्पनीबाट अडियो बुक प्रकाशन भएको छ । चर्चित अनलाईन अमाजोन, ईबे, विभिन्न अनलाइन पुस्तक पसल, बेलायतको ख्यातिप्राप्त ग्लोसरी पसल टेस्को, आस्डा, लगायत अन्य ठाउँहरुबाट पाउन सकिन्छ । त्यसैगरी काठमाण्डौंस्थित रत्न पुस्तक भण्डार र पोखरामा समेत पाउन सकिन्छ । पेपर, किन्डल्र्स र अडियो तीन प्रकारका छन्।

लेखनमा तपाईका अगामी योजना के छन् ?
– समाज परिवर्तनको लागि हरेक पात्रले कुनै न कुनै कोणबाट सकरात्मक सन्देश प्रवाह गरिरहेका हुनछन् । तिनै असल पात्रहरु जीवनको अनन्तसम्म मुलभूत दर्शन बन्दै चम्किलो तारा बनि चम्किरहन्छन् । जीवनका हरेक चम्कने बस्तु चम्किलो हिरा नहुने रहेछ । बाहिरी तिरिमिरीले मात्र जीवनलाई साँचो अर्थमा नचम्काउने रहेछ । जीवनको चम्काई फरक ढंगले पनि प्रस्तुत गर्न सकिने रहेछ, त्यसैले फेरी अर्को पुस्तक लेख्ने जमर्को गरिरहेको छु।

अन्त्यमा पाठक तथा आफना सहकर्मिहरुलाई केही भन्न चाहनुहुन्छ ?
– सवै लेखकका पुस्तकहरुमा उत्तिकै जादुमय हुदैन ताकी पाठकहरुलाई उत्तिकै भावुक बनाउन सकोस् । मेरो पुस्तक पढेर गोर्खालीहरुले युद्धभूमिमा लडेको कथाको ज्ञान हासिल गर्नु भयो होला। यसरी नै आफनो भावी सन्ततिहरुलाई एक पटक यो पुस्तक पढ्न उत्प्रेरित गरि दिनु हुन्छ भन्ने ठूलो आशा लिएको छु । यो पुस्तक पढेर समर्थन र उत्प्रेणा दिनु हुने तमाम पाठकहरुमा मुरीमुरी धन्यवाद भन्न चाहन्छु । अन्त्यमा मैले भुल्नै नहुने मेरो सहयात्रीहरु ईन्टेक १९९९ का सम्पूर्ण नम्बरीहरुको अतुलनीय सहयोग र प्रोत्साहनलाई कदर गर्दै हृदयबाटै धन्यवाद दिन चाहन्छु।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14714