धर्नामा बसेकी विनुसँग मन्त्री वादीको भेट

काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन्।

मन्त्रालयमा आज भएको भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी थिइन्। उनले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेको मन्त्री वादीको सचिवालयले जनाएको छ।

जवाफमा मन्त्री वादीले यादवका माग तथा सरोकारप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिने विश्वास दिलाएकी थिइन् । उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम विषयलाई उचित ढङ्गबाट अघि बढाउन मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

भेटवार्ताका क्रममा यादवको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण, आवश्यक स्वास्थ्य उपचार तथा रोजगारी एवं जीविकोपार्जनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो । साथै, उनले उठाएका अन्य विषयहरू सम्बन्धित निकायमा आवश्यक पहल तथा कारबाहीका लागि पठाउने र अदालतमा विचाराधीन विषयहरू प्रचलित कानुनबमोजिम न्यायिक प्रक्रियाबाट निरूपण हुने विषयमा विचारविमर्श भएको थियो।

मन्त्री वादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार सदैव संवेदनशील रहेको उल्लेख गर्दै पीडितमैत्री सेवा प्रवाह, न्यायमा सहज पहुँच तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताइन् । उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन्। रासस





Comments

comments

139889