नेपाली साहित्य विकास परिषद् युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

२१ जुलाई, लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले २१३औँ भानु जयन्ती कवि गोष्ठी, प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहवर्धक रूपमा मनाएको छ।

वेस्ट लन्डन स्थित एसबीआई कलेजमा आयोजित समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापाले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको समृद्धिका लागि परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुर्‍याएको र इतिहास रचेको चर्चा गर्नुभयो।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युगयुगसम्म जिवन्त राख्न हाम्रो भाषा, साहित्य र संस्कृति जस्ता चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्यतर्फ प्रकाश पार्नुभयो।

यसअघि स्वागत भाषण गर्दै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष ध्रुव केसीले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसी कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा समाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्नुभयो।

समारोहमा परिषद्का सल्लाहकार तथा कोशेली नेपाली सांस्कृतिक परिवार युकेका पूर्व अध्यक्ष मदन थापाले नेपाली साहित्य विकास परिषद् युकेले विदेशमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जिवन्त राख्न अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो। साथै पूर्व अध्यक्ष थापाले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्न रूपले भिजेको छ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको चर्चा गर्नुभयो।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की महासचिव डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको होइन, समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको छ भन्नुभयो।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पणबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो भने परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ समाजसेवी यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीईको शुभकामना रहेको थियो।

यसैगरी दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा वरिष्ठ नागरिक बद्रिप्रसाद कुँइकेलले भजन गाएर कविता वाचनको चरण आरम्भ भएको थियो। कविता वाचन गर्ने कवि तथा कवयित्रीहरूमा हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, मदन थापा, कोमल मल्ल हुनुहुन्थ्यो भने घनबहादुर थापा मगर र वासुदेव साप्कोटाको कविता कोमल मल्लबाट वाचन गरिएको थियो।

समारोहमा स्वागत मन्तव्य वरिष्ठ सहअध्यक्ष ध्रुव केसी र उद्घोषण सहअध्यक्ष डा. सुधा श्रेष्ठबाट भएको थियो भने सभापतित्व अध्यक्ष कोमल मल्लबाट भएको थियो।

परिषद्का अध्यक्ष कोमल मल्लबाट आर्थिक तथा भौतिक सहयोग पुर्‍याउनुहुने विशिष्ट व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल ओबीई तथा डा. जनककुमारी धिताल, ध्रुव केसी, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, कृष्ण भट्ट, मनोज अन्जान, मदन थापा, डा. सुधा श्रेष्ठ, हरिसिंह थापा तथा कोहिनूर मल्ललाई विशेष धन्यवाद प्रदान गरियो।





Comments

comments

139885