जयललिताको एम.जी.आर.सँग प्रेम

प्रिय इन्दिरा !
रामचन्द्रनको देहावसान भएको दिन २४ डिसेम्बर रहेछ । तीन दिनअघि त्यस ठाउँमै तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आफ्ना स्वर्गीय प्रेमीको समाधिमा सत्रौँ पुण्यतिथि मनाएकी रहिछन् । त्यस दिनको जयललिताको मुहार मैले टेलिभिजनको समाचारमा देख्ने मौका पाएको थिएँ । आफ्ना प्रेमीप्रति उनको शरीर धेरै समर्पित देखिन्थ्यो । उनका आँखा एम.जी. आर. प्रति लोलाएका देखिन्थे।

प्रेमको मूल्य के हो भन्ने बुझ्न चेन्नाई नै आउनुपर्ने रहेछ । जयललिता एम.जी.आर.लाई कस्तो प्रेम गर्दी रहिछिन् ! प्रेम पनि ठाउँ विशेषमा त्यसैको परिवेशमा परिभाषित हुँदो रहेछ। उदाहरणको लागि भन्ने हो भने एम.जी.आर. र जयललिताबीचको सम्बन्धलाई तिमी अश्लील भन्छयौ वा प्रेमबाजी भन्छयौ ? नेपालका सन्दर्भमा भन्ने हो अधिकांश मान्छेहरु यस विषयलाई प्रेमबाजीमा समाविष्ट गर्ने विषय बनाउँदैनन्।

हाम्रा मान्छेहरु अर्कालाई होच्याउन, बदनाम गर्न र हियाउन मान्छेमान्छेको प्रेममा पनि पत्रिकाबाजी गर्ने गर्छन् । तर यहाँ त प्रेम भनेको प्रेम नै हो भन्ने यी प्रेमी र प्रेमिकाले सारा भारतमा प्रेमको परिभाषा दिएको मैले थाहा पाएँ।

प्रिय इन्दिरा ! हुन पनि हो, एम.जी.आर. नभएका भए जयललिता पनि हुन्नथिन् भन्ने कुरा मैले कञ्चनजङ्घाको साथी सर्वाननबाट थाहा पाएँ । सर्वानन जयललिताका भक्त रहेछन्। यसै प्रसङ्गमा सर्वाननले मलाई भने,- ‘एम.जी.आर. तामिलचलचित्रका नायक र जयललिता नायिका थिइन् । उनीहरु प्रायः एक अर्काकै नायक र नायिका भएर चलचित्रमा अभिनय गर्थे । एम.जी.आर. जब तामिलनाडुका मुख्यमन्त्री भए जयललिताले पनि चलचित्र खेल्न छाडिन् र उनी मुख्य मन्त्रीकी सल्लाहकार, निजी सचिव वा सहयोगी भइन्।

एम.जी.आर.को निधनमा चाहिँ जयललिता आफूलाई एम.जी.आर. कै पत्नी पनि घोषणा गर्न चाहन्थिन् रे, तर एम.जी.आर. की बहालवाला पत्नी जानकीले गर्दा उनले धैर्यलाई साथी बनाइन् रे ।’ ल भन त कालु ! जयललिताको एम.जी.आर.प्रति कस्तो माया थियो ? साँच्चै हो, उनी रामचन्दनलाई पृथ्वी नै मान्थिन् । अहिले पनि उनले ठाउँठाउँमा रामचन्द्रनका सालिक बनाएकी छन्।

अहिले हामी बसेको डेराअगाडि पनि एम.जी.आर.को पूर्ण कदको सालिक छ । सालिकमुनि शिलालेख तामिलभाषामा लेखिएको छ र त्यस शिलालेखको मध्यभागमा जयललिताको रङ्गिन अनुहार कुँदेर नै बनाइएको छ। त्यति मात्र होइन, जहाँजहाँ जयललिताका ठूलाठूला पोस्टर टाँसिन्छन् त्यहाँत्यहाँ एम.जी.आर. कै पोस्टरले पनि रङ्गिएको छ । वास्तवमा एम.जी.आर.ले आँखा देख्न छाडेपछि जयललिताले उनलाई झनै प्रगाढ माया गरिन्।

तामिलनाडुका मान्छेहरू प्रेमी र प्रेमिकाहरूको खूबै पूजा गर्दा रहेछन् । यहाँका मान्छे निष्ठालाई मन पराउँदा रहेछन् । हाम्रो नेपालमा यस्तै घटना हुँदा अनेक कुरा काटिन्थ्यो । यसरी प्रेमी र प्रेमिकाका कुरा निस्कँदा ती जोडीले अनेक सामाजिक कष्ट भोग्नुपर्थ्यो । यस ठाउँमा त एम.जी.आर. र जयललिताले प्रेमलाई पनि प्रभूत सुधारमा अनूदित गरेका रहेछन् । आज प्रेमले भरिएको यस ठाउँमै बसेर म तिमीलाई मायाको मसीले चिठी लेखिरहेको छु।

तिमीलाई माया गर्ने
तिम्रो
नरेन्द्रराज प्रसाई

पण्डलुम, पोरुर (चेन्नाई)
डिसेम्बर २७, २००४
•••
(मेरो प्राण कञ्चनजङ्घाको B.Sc.अध्ययनका क्रममा म २ महिना ८ दिन उसैसँग चेन्नाई बसेको थिएँ। त्यस बेला मैले मेरी पुरोधिका इन्दिरा प्रसाईलाई लेखेको पत्रमा आधारित २०६२ सालमा प्रकाशित ‘प्रिय इन्दिरा’ नियात्रापत्रबाट साभार एउटा टुक्रा लेख)

तामिलनाडुका जनताबाट 'आमा'को सम्मान पाएकी अत्यन्त लोकप्रिय मुख्यमन्त्री जे जयललिताको ६८ वर्षको उमेरमा गएराति ११ बजे निधन …

Posted by HKNepal.com on Monday, 5 December 2016





Comments

comments

Leave a Reply

15348