प्रथम नारी नाटककार : सावित्री पोख्रेलको कारुणिक कथा

नरेन्द्रराज प्रसाई –
~~~

सावित्री पोख्रेल

कुनै बेला हाम्रो देशमा पशु बेचेजस्तै गरी मान्छे बेच्ने पनि छ्याप्छ्याप्ती चलन थियो । मान्छेमा पनि नारी जातिलाई दान दिने चलन अझै विद्यमान छ र त्यस दानलाई कन्यादान भनिन्छ । नेपाललाई त्यो रीतले अझै ठकमक्क फुलाएको छ । एउटी सुन्दरीले लङ्गडो, लाटो, कानो, बैरो अथवा बिरूप जस्को स्वास्नी भए पनि त्यसलाई स्वीकार्नै पर्थ्यो, त्यस रीतले अझै विश्रान्ति लिन पाएको छैन । आफ्नी छोरीलाई बाबुआमाले जसलाई सुम्पे पनि कन्याले त्यसलाई स्वामी मानी वरण गर्नै पर्ने हिन्दू परम्पराले सिकाएको यो पाठले अझै नेपालका पहाडी भागलाई रङ्गाई रहेको छ । आफ्नी छोरी कन्यादान गरेर आमाबाबु ज्वाईंको खुट्टा धोएर खुट्टाबाट आएको पानी खाँदै भन्छन् ‘हाम्री छोरी पाले पूण्य, मारे पाप ! त्यही पाठको एउटा गतिलो शिकार हुने एउटी स्रष्टा थिइन्, सावित्री पोख्रेल।

सावित्री पोख्रेलका आमाबुबा कालीप्रसाद आचार्य र मन्दोदरी आचार्यको धन
थियो तर उनीहरुको आधुनिक मन थिएन । उनीहरुको मुटु थियो तर उनीहरूसँग
परम्परागत विकृतिसँग लड्ने साहस थिएन । उनीहरूसँग गतिली छोरी पनि थिइन्
तर छोरीको संवेदना बुझ्न सक्ने उनीहरूसँग सामर्थ्य थिएन । त्यसैले
चलनचल्तीकै पारामा लागेर उनीहरूले आफ्नी चौध वर्षीय सुन्दरी छोरी
विराटनगरका विष्णु दङ्गाललाई दान दिए ।

बिहे गरेपछि सावित्री पनि पसुसरह दुलहाको पछि लागिन् । तर पतिगृहमा
प्रवेश भएका दिनदेखि सावित्री अशान्तको भूमरीमा नै जाक्किइरहिन् । बिहे
भएका दिनदेखि उनीहरु एकअर्कामा सदैब जुदिरहे । पतिपत्नीको अनमेल
जारीरहेकै बेला माई लागेर विष्णुको निधन भयो । त्यति बेला यिनीहरुले बिहे
गरेको नौ महिना मात्र पुगेको थियो ।

विष्णुप्रसाद दङ्गालको निधनपछि पनि सावित्रीले सुक्ख पाइनन् । त्यसपछि
पनि उनले उजाडमा नै आफ्नो जीवन व्यथित गर्नुपर्ने अवस्था आइपर्यो । उनलाई
चिनेजाने सबैले पोइ टोकुई र अलिच्छिीको आरोप लगाए । त्यति बेला उनीसँग
बोल्ने मान्छे पनि यीसँग बोल्दा इज्जत जान्छ भन्ने ठानेर तर्केर अर्कै
बाटो लाग्थे । त्यस बखत सबैले उनलाई उडाउने मात्र गर्थे । सामाजिक
कुप्रथाका कारणले आफ्ना माइतीपटि्टबाट पनि उनलाई माया र दया राखिएको थिएन
। तर उनी हिम्मतबाट विचलित भएर भागिनन् । उनले माइतै गएर दिन फ्याँक्ने
निर्णय गरिन् ।

त्यस बेलाको सावित्रीको त्यो बेदनाले उनलाई साहित्यकारमा रुपान्तरण
गराईदियो । वास्तवमा रुडीवादी संस्कारको जाँतोभित्रकी घुन भएपछि उनले
एउटा नाटक लेखिन् । तर पनि त्याहाँ उनलाई बुझ्ने कोही मान्छे फेला परेनन्
। अनेक रुपले सम्हालिन खोज्दा पनि उनका लागि धरान उराठ लाग्दो ठाँउ भयो ।
त्यस ठाउँमा शान्ति नपाए पछि उनले धरान छाड्ने प्रतीज्ञा गरिन् । अनि
एउटी बृद्ध विधुवा पछ्याउँदै उनी भौँतारिएर भारतको बनारस लागिन् । उनले
आफ्नो बाँकी जीवन त्यहीँको पञ्चेगङ्गेश्वरमा बिताउने लक्ष्य राखिन् ।
त्याहाँ ‘रामराम’को भजनको संसारमा नै केन्द्रित भइन् र उनी भगवान्कै
आराधनामा डुबिन् ।

सावित्री पोख्रेलका ठूला बुबा भैरवप्रसाद आचार्य (बुबाका दाजु) सकरात्मक
विचारका कुवेर थिए । उनी मानवीय पिंडाले चुलिएको जुनसुकै पहाड बोक्न
सक्ने हनुमान थिए । तिनै हनुमानले अनेक प्रलोभन देखाएर सावित्रीलाई
जुरुक्कै बोकेर काठमाडौँ ल्याए । काठमाडौँ भित्रिएपछि नै सावित्रीको
जीवनको पनि आधा चोला तुरुन्तै फेरियो । उनको फुस्रो अनुहार पनि उमङ्गले
चिल्लो हुन थाल्यो । उनको जिन्दगीलाई नयाँ सञ्चारको सञ्जीवनीले छायो र
उनको मनको बारीमा उत्साह झँङ्गिन थाल्यो ।

सावित्रीले जम्मा १० कक्षा मात्र पढेकी थिइन् । त्यस पढाइको अर्थ नभेटेर
उनले वैकल्पिक स्रोत पनि खोजिन् । भावनालाई अनेक ठाँउमा उढाएपछि उनले ‘म
टाइप सिक्छु र जागिर खान्छु भन्ने निस्कर्ष निकालिन् ।’ त्यसै अनुरूप उनी
टाइप सिक्न थालिन् र उनी त्यसमा पारङ्गत पनि भइन् । त्यस बेला उनी
सत्ताईस वर्षमा हिंडिरहेकी थिइन् ।

सावित्री पोख्रेलले टाइप सिकेपछि साझा प्रकाशनमा टाइपिष्टको जागीर पाइन्
। त्यसै ठाँउमा विराटनगरका एक जना खाइलाग्दा तन्नेरीले धरानकी एकल तरुनी
देखे । पहिलो हेराईमा नै ती युवायुवती पनि एकअर्कामा आकर्षित हुने
हिसाबकै देखिन्थे । त्यसैले तेजप्रसाद उपाध्याय पोख्रेल सावित्रीको पछि
लागे ।

तेजप्रसाद उपाध्याय चाहिं मान्छेसँग मीठामीठा कुरा गर्थे । उनी
राम्राराम्रा कुरा गरेर मान्छेलाई हात लिन सिपालु थिए । जीवनमा एउटा
सहाराको सावित्रीको भित्र अर्न्तमनले पनि खोज गरेकै थियो । त्यसैले
उनीहरुको भेट्नेक्रमले पनि जरा गाड्न थाल्यो । त्यति बेलासम्ममा उनीहरु
एकअर्कामा नछाडिने हिसाबमा पुगिसकेका थिए ।

सावित्री पोख्रेलले तेजप्रसाद पोख्रेलसँग ज्यादै गहिरो प्रेम गरिन् ।
त्यस प्रेमको लहराले क्रमशः तेजप्रसाद बेरिन थाले । वास्तवमा त्यति मात्र
होइन तेजप्रसाद पोख्रेलका हरेक आकर्षणले सावित्रीलाई जित्न थाल्यो । एउटी
परित्यक्ता नारीका लागि त्यस घडी तेजप्रसाद टलक्कै टल्किने सुन भए ।

तेजप्रसादसँगको प्रेममा डुबेपछि सावित्रीको मनोभावना पनि आकाशिएर बढ्न
थाल्यो । तेजप्रसादको प्रेममा डुबेर त्यति बेला उनले सोच्न थालिन् “मलाई
यही समाजले कलङ्की मानेकोथ्यो र यही समाजका अगाडि म यो वीर पुरुषसँग
सिन्दुर, पोते गरेर हिँड्छु । सबैका अगाडि म यो जिन्दगीमा यही मर्दको हात
समाएर हिँड्छु ।” त्यसपछि शाखा अधिकृत तेजप्रसाद पोख्रेल र टाइपिष्ट
सावित्रीको वैवाहिक लगन गाँठो कस्सियो । सावित्री आफू २७ वर्षभएदेखि
तेजप्रसाद उपाध्याय पोख्रेलकी उपपत्नी भइन् ।

आफूले बिहे गरेपछि सावित्रीले थाहा पाइन् उनका पति निक्कै सहृदयी रहेछन्
। त्यतिमात्र होइन तेजप्रसाद पोख्रेल ठूलो मनले भरिएका पनि रहेछन् ।
सावित्रीलाई झैँ उनले अमेरिकाकी बरबरा स्प्रेन र नेपालकी रमा प्रधानसँग
पनि तन, मन र धन जोड्न छाडेका रहिनरहेछन् । त्यति मात्र होइन
तेजप्रसादसँग माया लाउने केटीहरूको पनि सावित्रीले क्रमशः भीड देख्न
थालिन् । कति जना त उनका सौता हुन पनि पसे र कति जनाले उनका पतिलाई
फुस्काउन पनि खोजे । तर उनले कतिलाई सम्झाई, बुझाई पनि गरेर डाँडो कटाइन्
। उनले कति जनालाई तर्साएर पनि खेदिन् । वास्तवमा तेजप्रसाद सुरा र
सुन्दरीका प्रेमी रहेछन् । यसै प्रसङ्गमा उनी सगौरव भन्छिन् “मेरा
श्रीमान्का घनिष्ट केटीहरु एक सय जनाभन्दा बढी नै थिए ।”

सावित्री पोख्रेलले जीवनमा अत्यन्तै दुक्ख पनि खेपिन् र सुख्ख पनि भोगिन्
। अथवा भनौँ उनले जीवनको परिभाषा आफैले बनाइन् । उनले रुँदारुँदै रगतका
आँसु पनि झारिन् र खुशीले भरिएका मोतीका आँसु पनि पोखिन् । त्यही क्रममा
उनी एउटा छोराकी आमा पनि भइन् । उनले नवीनलाई पाइन् र हुर्काइ बढाई घरजम
पनि गराइदिइन् । उनका सौताका छ सन्तानलाई पनि उनले आफ्नै सन्तान ठानिन् ।
वास्तवमा उनी मायालु स्वभावकी थिइन् । वैवाहिक जीवन गाँसेपछि पनि उनी
आफ्नी सौतासँग मिलेर सात वर्षसम्म सँगै पनि बसिन् ।

सावित्री पोख्रेलका जिन्दगीका पुराना घाउ पनि कहिलेकाहीँ चर्किने गर्छन्
। त्यसैले सानो कुरामा पनि उनको मन दुख्ने गर्छ । सकेसम्म आफूलाई प्रशन्न
राख्न खोजे तापनि कहिलेकाहीँ उनको चित्त फाट्ने गर्छ । त्यति बेला उनी
धुरुधुरु रुने गर्छिन् । किनभने उनी स्रष्टा हुन् । स्रष्टा भनेका कति
कोमल हुन्छन् भन्नेको प्रमाण नै सावित्री पोख्रेल हुन् ।

सावित्रीको जन्म संवत् १९९५ को फुलपातीमा धनकुटाको सिबुवामा भएको थियो ।
आमाबुबाका नौ सन्तानमा उनी प्रथम सन्तान थिइन् । उनको चिनाको नाउँ
दीव्यकुमारी थियो । त्यसपछि उनको नाउँ सुभद्रा कायम भयो । त्यही
सुभद्राका नाउँबाट उनले आफ्नो साहित्यिक व्यक्तित्व अघि सारिन् ।

सुभद्राले २०१४ सालमा ‘कलङ्की समाज’ लेखिन् । त्यति बेलाको त्यो कृति
सुभद्रादेवी दङ्गालको नाउँमा अङ्कित थियो । त्यस कृति उनले भद्रपुर
झापाका दाताराम रिजाललाई सुनाएकी थिइन् । रिजालले पनि त्यो कृति मन पराए
। त्यसैले दाताराम रिजालकै सक्रियतामा ‘कलङ्की समाज’ २०१५ सालमा
पूर्वाञ्चल प्रेस भद्रपुरमा मुद्रण भई प्रकाशनमा आयो । नेपाली
भाषासाहित्यमा नाटकको प्रथम कृति त्यही रह्यो । पछि त्यो कृति २०५० सालमा
पुनः प्रकाशनमा आयो । सुभद्रादेवी दङ्गालको ठाउँमा दोस्रो संस्करणमा उनले
त्यस कृतिकी लेखक सावित्री पोख्रेल राखिन् । यस कृतिको तेस्रो संस्करण
भने नइ प्रकाशनबाट प्रकाशित हुँदैछ।

आफू विधुवा हुँदा सावित्रीले ‘कलङ्की समाज’ लेखेकी थिइन् । कुरा के भने
त्यस बेला धरानमा उनले ‘हरिश्चन्द्र’ नामक नाटक हेरेकी थिइन् । त्यो नाटक
हेरेपछि उनले दुईटा कुरा बुझिन्; एउटा उनले नाटक लेखिनु पर्दो रहेछ भन्ने
बुझनि् र दोस्रो नाटकमा आफ्नै जिन्दगीका कथा लेखे पनि हुने रहेछ भन्ने
बुझनि् । त्यसैले उनले अलिअलि गर्दै आफूलाई सविस्तार प्रस्तुत गरिन् ।
अन्ततः नेपाली भाषासाहित्यमा पहिलोचोटि नारीकृत नाटकको कृति २०१५ सालमा
प्रकाशन आयो । त्यही ऐतिहासिक नाटककारको नाउँ हो सावित्री पोख्रेल । उनको
‘कलङ्की समाज’ स्तरीयभन्दा ऐतिहासिक महत्वको छ । उनको त्यो कृति पनि उनी
जस्तै सरल र सादा छ । त्यस नाटकमा नेपाली महिलाको कारुणिक कथा र व्यथा छ

सुभद्राको पछिल्लो नाउँ सावित्री उनका पति तेजप्रसाद उपाध्यायले
राखिदिएका थिए । तेजप्रसाद भन्नु तत्कालीन श्री ५ को सरकारका सचिव थिए ।
अहिले तेजप्रसाद र सावित्रीको सुखमय जीवन काठमाडौँस्थित जोरपाटीको
नवीनगृहमा सञ्चालित छ ।

‘कलङ्की समाज’ सावित्रीको कलिलो उमेरको आङ्कुरो हो । तर पनि उनी त्यही
कृतिले नेपाली साहित्यमा बाँचिन् । त्यति बेलाको उनको जीवनको घात नै अमर
भयो । ‘कलङ्की समाजपछि उनले केही फुटकर कविताको रचना गरे तापनि कृतिगत
रूपमा उनको ‘कुमारीगाथा’ (कवितासङ्ग्रह : २०६४) नइ प्रकाशनबाट प्रकाशनमा
आयो ।

सावित्री पोख्रेलले नेपालका प्रमुख ठाँउ घमिन् र उनी आफ्ना पतिको दौराको
फेर समाएर जापान, सिंङ्गापुर, हङ्कङ र थाइल्याण्ड पनि पुगिन् । उनले कलेज
अफ एजुकेशनबाट शिक्षक तालिमको प्रमाणपत्र हासिल गरिन् । त्यसपछि उनले
शहीद शुक्र माध्यमिक विद्यालयमा पाँच वर्षसम्म पढाइन् । त्यसै बेला उनले
ल्यावटरी स्कूलबाट स्काउटको मास्टर ट्रेनिङ लिइन् र श्री ५ महेन्द्रबाट
प्रमाणपत्र थापिन् । उनले वीर अस्पतालमा स्वयंसेवक भएर काम पनि गरिन् ।
उनको त्यो काम निक्कै सह्रानीय थियो । त्यसैले श्री ५ बडामहारानी
ऐश्वर्यबाट उनले प्रशंसाका अक्षर खामेर प्रमाणपत्र पाइन् ।

सवित्री पोख्रेलले देवकोटा शताब्दी सम्मान, बालकृष्ण सम पुरस्कार,
विश्वनारी नेपाली साहित्य सम्मान, विश्वनारी नेपाली साहित्य पदकका साथै
नेपाल सरकारबाट भानुभक्त पुरस्कारद्वारा समेत सम्मानीत भइन्।

वास्तवमा सवित्री पोख्रेल एउटी समाजसेवीका रूपमा पनि चर्चित नाउँ हो ।
उनको जीवनको सबैभन्दा ठूलो विशेषता उनी सफा मनकी लखपति हुन् । उनको मन
लालीगुराँस जस्तै निश्चल छ ।

√ जरूरी सूचना:
~ मैले १८ वर्ष लगाएर लेखेको “नारीचुली” अङ्ग्रेजी भाषामा सर्लक्कै
अनुवाद गरेर भारतको सिम्लाबाट आफ्ना नाउँमा छपाउने (चन्द्र शमशेरका
पनाति, बबर शमशेरका नाति र मृगेन्द्र शमशेरका छोरा) मदन पुरस्कारबाट
सम्मानित पूर्व सांसद जगदीश शमशेर राणाजस्ता खच्चड, घृणित, नरपसु,
पाखण्डी, चोर, डाकाबाट सावधान !



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.