कुश मिलन गुरुङ / एचकेनेपाल डट कम –

दुर्गम गाउँको विकट जिल्लामा मेरो जन्म भएको हो, थाहा छैन मेरो ज्युज्यु बाजे र पुर्खाहरु कहाँबाट त्यहाँ बसाई सर्नु भयो या त्यहीँ विकट गाउँमा जन्मनु भयो तर म आफू गुरुङ हुनुमा गर्व गर्छु । गुरुङ भएर आफ्नो भाषा बोल्न नजान्दा साह्रै दुख लाग्छ । हुन पनि कसरी सिकु म आफ्नो भाषा ? न त स्कुलमा हाम्रो भाषा पढाईयो, न त हाम्रो संस्कृतिको बारेमा नै अध्ययन गरियो । स्कुल पढ्दा सामाजिक शिक्षामा पृथ्वीनारायण शाहको जीवनी रातभरी अनिद्रा बसेर भए पनि पढियो तर जुन किताबबाट शिक्षा हाँसिल गरियो त्यही किताबको प्रत्येक पानाले नै मेरो गुरुङ संस्कार र रितिरिवाजमाथि बज्रपात पारेको यो २१ औं शताब्दीमा आएर बुझियो।

गुरुङहरुको मातृभाषा प्राय गुरुङहरुलाई बोल्न नआउने भईसकेछ, म मात्र होईन । अस्तिको पुस्तालाई गुरुङ भाषा राम्रोसंग आउथ्यों तर अस्तिका पुस्ताले हिजोको पुस्तालाई हस्तान्तरण केही गरे तर आजको पुस्तालाई हस्तान्तरण हुन छोडिदैछ र बोल्न जान्दैन । हाम्रो पुस्तालाई आफ्नो भाषा थाहा नभए भोलिका हाम्रो पुस्ताले आफ्नो भाषा के हो भनेर कसरी सिक्ने ? मातृभाषाको पहिचान के हो भनेर कसरी जान्ने ? गुरुङ संस्कार के हो कसरी जान्ने ? दुखको कुरा । हामी गुरुङ लाहुरे हुनुमा निकै जोड दिन्छौ, हामी गुरुङहरु भौतिक सम्पन्नताका निम्ती सकेसम्म लाहुरे हुने कोसिस गर्छौ यदि भएन भने बिदेश पस्छौं यहि नै हो हाम्रो ठूलो उपलब्धि होईन ? तर हाम्रो भाषा, संस्कृति र गुरुङ पहिचान लोप हुँदै गएकोमा दुखी हुदैनौं । मलाई लाग्छ आज हाम्रो पुस्ताले यदि गुरुङहरुको पहिचान भाषा, धर्म, संस्कृतिप्रति गम्भीर भएर सोचेनौ भने भोलिको पुस्ता गुरुङ हौं भन्ने लायक पनि हुनेछैन।

२१ औं शताब्दीका हामी गुरुङहरु पहिलेको भन्दा अलि बढी नै शिक्षित देखिन्छौं तर पनि हामी हाम्रो नानी बाबूहरुलाई हाम्रो भाषा हस्तान्तरण गर्न चुकेका छौं । हाम्रो भाषा संस्कृति जातीय पहिचान, धर्म लोभ हुँदै जानुमा तपाईं हाम्रो पनि ठूलो कमजोरी छ । हाम्रो यी सबै कुरा भुल्दै जानू पहिलो कुरा आफ्नो जन्मथलो भुल्नु हो । हामी आफ्नो छोरा छोरीलाई शिक्षित बनाउनको लागि शहर प्रवेश गराउदछौं । हो म मान्छु शहरमा राम्रो पढाइ हुन्छ राम्रो शिक्षा हांसिल गर्छन, राम्रो संग अंग्रेजी फररर बोल्छन, तपाईं हामी पनि चाहान्छौं आफ्नो नानी बाबुहरुले राम्रो गरून् । उनीहरुको भविष्य राम्रो होस तर बिडम्बना हाम्रो भाषाको शिक्षा कस्ले दिने ? म पनि बिदेश पसेको धेरै नै भयो नेपालमा धेरै किताबहरु पढियो अंग्रेजी बोल्न र लेख्न पनि सिकियो तर यहाँ बिदेशिहरु पनि अंग्रेजी राम्रो संग जानेका हुन्छन तर खोइ उनिहरु अंग्रेजी बोलेको सुन्दिन आफ्नै भाषा बोल्छन, हामीलाई पनि उनिहरुको भाषा बोल्न र सिक्न बाध्य बनाउछन तर हामिले आफ्नै नानी बाबुहरुलाई किन आफ्नो भाषा सिकाउदैनौ?

गाँउबाट शहर प्रवेशसँगै भाषा, संस्कार सँस्कृतिमा प्रश्न चिन्ह आउछ । छोरा छोरी शहरमै जन्मिन्छन र शहरमै हुर्किन्छन अनि शहरका अनेकौ फेसन संग घुलमेल हुन्छन भने उनिहरुलाई कस्ले सिकाउने हाम्रो जातिय पहिचान ? उनिहरुलाई के थाहा हामी गुरुङहरुको जातिय पहिचान के हो भनेर ? यदि ती शहरमा जन्मिने छोरा छोरिहरु गाउँमै जन्मिएको भए उनिहरुले नबुझे पनि पुराना पुस्ताहरुको देखेर पनि सिक्ने मौका पाउथें । भन्न त गुरुङका ठुला ठुला नेताहरुले भन्ने गर्छन हामी गुरुङ हो हाम्रो पहिचान, भाषा, धर्म संस्कृतिको जगेर्ना गर्नु पर्छ भनेर तर उनिहरुका भाषण बोलि मै मात्र सिमित हुन्छन । यदि उनिहरुले भाषण मात्र नभएर गुरुङहरुको बस्तिमा गएर हाम्रो भाषा, धर्म, संस्कृतिको बारेमा सानो अध्ययन गर्ने स्कुल निर्माण गरि गुरुङ भाषा सिक्ने मौका दिएको भए भाषा, धर्म, संस्कृति र हाम्रो पहिचान के हो भनेर राम्रोसंग सिक्न पाउने अवसर पाउथ्यौं होला । र हाम्रो आउने पुस्ताले पनि राम्रोसंग सिक्ने थियो होला ।

मैले फेसबुकमा भित्ताहरुमा धेरै जना गुरुङ साथीहरुसँग बहस गरेँ। कसैले त राम्रो सहयोग गरेर हाम्रो भाषा, धर्म, संस्कृति, पहिचानको जगेर्ना गर्नुपर्छ, हाम्रो दबिएका आवजहरु बुलन्द पर्नु पर्छ र हाम्रो माग नेपाल सरकारले सुन्नु पर्छ होईन भने हामीले आफ्नो हक अधिकार खोसेर लिनु पर्छ भन्ने भेटियो भने कोहि साथीहरु हाम्रो पहिचान धर्म संस्कृति कस्ले खोसेको छ र हामीसंग नै छ भनेर पनि भने । तर नबुझेका साथीहरुलाई बुझाउन धेरै कोसिस गरँे तर सकिन । वास्तविक उनिहरुलाई हाम्रो भाषा, धर्म, संस्कृति र पहिचान लोप हुँदै गएकोमा कुनै चिन्ता रहेनछ । वास्तवमा मैले भन्न खोजेको मैले लगाएको गुरुङ पहिरन कसैले खोसेर लग्यो भन्न खोजिएको होइन । मलाई पनि थाहा छ म आफुले लगाएको गुरुङ पोसाक मेरो पहिचान हो भनेर तर यथार्थमा मैले लागएको पहिचानको मुल्यांकन कस्ले गर्ने ? मेरो बाबा आमाले या राज्यले ? आज हामी आफ्नो अस्तित्वको लागि लडिरहेको किन भने हामी गुरुङहरुलाई राज्यले निकै दबाएको छ, हामी हाम्रो मौलिक चाडपर्वमा पनि काम गर्नु परिरहेको छ, हामीलाई राज्यले सार्वजनिक बिदा दिएको हुँदैन । तपाईं हामीले देखेकै छौं दशैं तिहार र तिज जस्ता पर्वमा राज्यले सार्वजनिक बिदा दिएको छ तर हामिलाई थाहा छैन कि यी हाम्रो मौलिक चाडपर्व होईन भनेर। हामीलाई राज्यले अन्याय गरेको छ हामिलाई अर्काको धर्म संस्कृति चाडपर्व मनाउनु पर्छ भनेर जबर्ज्स्ति लादिएको छ र हामी अरुको धर्म संस्कृति र चाडपर्व मनाउन बध्या छौ यो शताब्दी सम्म पनि हामिले हाम्रो हक अधिकार पहिचान धर्म संस्कृति पाएका छैनौ । भन्न त सबै जात जाति सबै समान हौं भनेर भनिएको छ तर शब्द र बोलीमा मात्र सिमित छ।

गुरुङ दाजुभाइ, दिदिबहिनी तथा बाबाआमाहरु अब आउने दिनहरुमा यसरी राज्यबाट दबिनु हुदैन हामी सम्पूर्ण गुरुङ एक जुट हुनुपर्छ । हामी आफ्नो भाषा, धर्म, संस्कृति र हाम्रो पहिचानलाई हराउन दिनु हुदैन । हाम्रो पुस्ताहरुलाई आफ्नो भाषा सिकाउनु पर्छ भन्ने कुरामा जोड दिनुपर्छ अनि मात्र हामी गुरुङ हौं भन्ने कुरामा बिस्वस्त हुनेछौं । होईन भने हामी राज्यको दासी भएर पुस्तौं पुस्ता हेपिएर बांच्नु पर्नेछ र हाम्रो पुस्ताहरु पनि हेपिनेछन र हाम्रो गुरुङ पहिचान, गुरुङहरुको धर्म, गुरुङहरुको रितिरिवाज, गुरुङहरुको भाषा र गुरुङ अस्तित्व नै लोप हुनेछ र हामी गुरुङ हुनुमा गर्व गर्ने ठाउँ हुने छैन।



.















Comments

comments