पोखरा महानगरको पहिलो मेयर बन्छु भनेर कल्पनासमेत गरेको थिइँन: जिसी

मेयर, उपमेयरसहित २२ वडामा एमाले, ११ वडामा कांग्रेस
देशकै ठूलो पोखरा–लेखनाथ महानगरपालिका एमालेको पोल्टामा गएको छ । मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङ विजयी भइन् । एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका जिसीले ६० हजार ११८ मत ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत पाए । जिसी ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की–१ मा कांग्रेसका यज्ञबहादुर थापासँग २७२ मतअन्तरले पराजित भएका थिए ।

उपमेयरमा कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतअन्तरले पराजित गरेकी मञ्जुले ५६ हजार ४४८ मत ल्याइन् । सरस्वतीले ४४ हजार ३३८ मत पाइन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत मात्रै प्राप्त गरिन् ।

एमाले २२, कांग्रेस ११ वडामा विजयी

३३ वडा रहेको महानगरमा २२ वडामा एमाले र ११ वडामा कांग्रेसले जित हासिल गरेको छ । महानगरका २, ३, ४, ९, १०, २३, २७ र ३२ गरी आठवटा वडामा कांग्रेस र १, ५, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ नम्बर गरी २० वटा वडामा एमाले उम्मेदवारहरू प्यानलसहित विजयी भएका छन् । अन्य वडामा मिश्रित परिणाम आएको छ । ६, ११ र १२ मा कांग्रेस तथा ८ र २२ नम्बरमा एमालेका उम्मेदवारले मिश्रित परिणामसहित वडाध्यक्ष जितेका छन् । पोखरामा १ लाख २५ हजार ६१४ मतदाताले मतदान गरेका थिए ।

घोषणापत्रको विषयवस्तुलाई हेरी काम गर्छु : जिसी
मेयरमा विजयी भएका मानबहादुर जिसीले चुनावअघि जनताको घरदैलोमा मत माग्न जाँदा गरेको प्रतिबद्धता एवं घोषणापत्रका विषयवस्तुलाई हेरेर काम गर्ने बताए । उनले आफू महानगरको पहिलो मेयर बन्छु भन्नेमा कल्पनासमेत नगरेको बताए । पोखरा–लेखनाथलाई समृद्ध बनाउन पाँच वर्षमा पाँच काम गर्ने बताउँदै जिसीले नगरलाई प्रविधि र सेवाग्राहीमैत्री, उद्यमशील सहर, वातावरणमैत्री सहर, स्वस्थकर पानीसँगै स्वच्छ समाज निर्माण र दिगो मोडलको विकास सहरको रूपमा विकास गर्ने गरी सम्बन्धित कामलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए ।

पोखरामा मापदण्ड मिचेर निर्माण भएका संरचनाहरूका लागि एक विज्ञसहितको समिति बनाउने र त्यस्ता संरचनाले भविष्यमा जनधनको क्षति हुने देखिएमा त्यस्ता संरचना भत्काउने प्रतिबद्धतासमेत जाहेर गरे । आफू निर्वाचनअघि कुनै पार्टीको कार्यकर्ता भए पनि निर्वाचनपछि सबैको मेयर भएकाले सबैलाई समेटेर अघि बढ्ने र सबैको साझा भएर काम गर्ने बताए । पोखरालाई स्मार्ट सिटी बनाउने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गर्ने उनको भनाइ छ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

18082