डा. कविताराम श्रेष्ठ –
चालिस वर्ष पहिले ३२० हिप्पीहरूले जुन विसंगतिहीन, एकछत्त, समभावी, शासनहीन, मुक्त र सम्यक समाजको कल्पना गरी अमेरिकाको एक नीर्जन बनमा नयाँ अध्यामिक “लोक”बसाएका थिए, त्यसको अहिलेको स्थिति के छ? त्यसै सम्बन्धित सचित्र यात्रा विवरण पेश गर्दै छु।

साठीको दशकतिर संसार व्याप्त युद्ध र अशान्तिबाट वाक्क भएका युवाहरूले प्रेम र शान्तिपूर्ण सुन्दर अध्यात्मिक मूल्य र मान्यताका वकालत गरिरहेका अवस्था थियो। यस्तो मान्यताका पक्षधरहरूलाई हिप्पी भनिन्थ्यो। हिप्पी (Hippie) शव्द हिप (Hip) बाट बनेको भनिन्छ। हिपको अर्थ हो सजगता वा बुद्धिमता वा चेतनशीलता। यस अर्थमा हिप्पी भनेर उनीहरूलाई सजग वा बुद्धिमान वा चेतनशील परिवर्तनकारी भन्न खोजिएको हो। हिप्पीहरू आफैले यो नाम राखेका होइनन्। अरूले राखे र उनीहरूले पनि यस सम्मानपूर्ण नामलाई स्वीकारे। आखिर एउटा नाम त उनीहरूलाई पनि चाहिएकै थियो।

संसारभर हिप्पीहरूको यो नयाँ सोच बाढी सरह उर्लियो। यसैबाट पश्चिममा ‘बीट’ (बिटल्स तथा बीटनिक्स) र भारतमा ‘हंग्री जेनेरशन’ अनि नेपालमा ‘अस्वीकृत जमात’ (http://aswikrit.com/) आदि राज्यहीनताका समर्थक सौम्य, कम्यूनवादी, शान्तिप्रिय, बैचारिक क्रान्तिकारीहरूको जमात सृजना भयो। यिनमा पछि गएर सामाजिक प्रपंचमा अटाउन नचाहने, कुनै थितिमा बाँधिन नचाहने, दुर्व्यसनी, सरसफाई नगर्ने, स्वछन्द मनोमानी बाँच्न चाहनेहरू पनि समाबेश भए। मूल अर्थको हिप्पी अर्थात चेतनशील मुक्तिकामी यी सबै थिएनन्। तैपनि सालगोलमा सबैलाई हिप्पी नै भनियो। यसरी “हिप्पी” शव्द अन्तत: परम्परावादी समाजमा “अराजक फोहोरी जमात” को पर्यायबाची शव्द बन्यो।

म यहाँ ती बौद्धिक हिप्पीहरूको कुरा गर्दै छु, जसले नैतिकता, आदर्शता, राष्ट्रियता, धर्म, ऐतिहासिक परम्परा, सुसंस्कार, सभ्यता आदिका नाममा समाजमा व्याप्त विसंगतिहरू जन्माउने मूल्य र मान्यताहरूलाई पूर्णत: अस्वीकार गर्दै प्रेम र शान्तिपूर्ण, खुल्ला, मुक्त समभावी, सहकर्म, सहयोग र सहभोगमा विश्वास गर्ने अध्यात्मिक समाजको स्थापना गर्न चाहे र जो सुग्घर,शाकाहारी, अध्ययनशील, र सदाचारी जीवनयापनमा विश्वास राख्थे। उनीहरूका धर्म थियो- हिपिज्म र उनीहरूको राजनीति थियो- स्थापित सम्पूर्ण मान्यताहरूलाई अस्वीकार गर्दै नयाँ शिराबाट राज्यहीन प्रतिपक्षीय वैकल्पिक समाज निर्माणका पक्षधर बिट्निक।

यिनलाई सन्फ्रान्सिस्को विश्वविद्यालयका शिक्षक एबम सिर्जनशील लेखक स्टेफेन ग्यास्किन (जन्म: फेब्रुअरी १६ १९३५ कोलोराडो. जीवनीकोलागि हेर्नुहोस Visitthefarm.org/lifestyle/sg.html) ले वैचारिक नेतृत्व प्रदान गरेका थिए. ग्यास्किनका बिचारले अमेरिकामा एउटा वैचारिक लहरनै नै पैदा गर्योर १९७१ मा उनलाई अमेरिकाभरिका चर्चहरूमा प्रवचन दिन बोलाहट भयो। उनका अनुयायी हिप्पीहरू पनि ठूला स्कुले बसमा लस्कर लागेर संगै पछ्याउँदै गए। चार महिना पछि फर्केर क्यालिफोर्निया पुग्दा उनीहरूसंग ३२० सदस्यहरू थिए। ती सबैले अन्तत: पैसा जम्मागरी आफ्नो सपना अनुसारको संसार बसाउन टेनेसी राज्यको समर टाउनमा डलर ७० को दरले १४०० एकड जग्गा खरिद गरे र स्थापना गरे हिप्पीहरूको सपनीको स्वर्ग “दफार्म”. (समय पारेर यो भिडियो हेर्नुहोला https://www.youtube.com/watch?v=qUGfzvHAcFwअहिले त यहीलेख पढ्न मेरो आग्रह छ)

उनीहरूका प्रारम्भिक जीवन अति संघर्षशील थियो.घर, परिवार र पढाइ त्यत्तिकै छोडेर आङ्गका लुगा मात्र लिएर आएका अल्लारे ठिटाहरूमा आवश्यक व्यवहारिक सीप थिएन। छिमेकीहरू पनि हिप्पी संस्कृतिका विरोधी थिए। उनीहरू होमर स्याण्डर भन्ने एक व्यक्तिको नेतृत्वमा बन्दूक पड्काउँदै खेद्न आए। त्यस्तै उनीहरूलाई कानूनको दायरामा ल्याउन स्थानीय सरकारले पनि धेरै दबाब दिए। यी हिप्पीहरू भने कत्ति नभड्किई शान्त र सौम्य व्यवहारसाथ प्रस्तूत भए। परिणामत: ती आक्रमक छिमेकीहरू र स्थानीय सरकार पनि उल्टै मैत्रीभावमा उत्रिए। होमर स्याण्डर त बाहिरी संसारको लागि राजदूतसरह माध्यमपुरुष नै बन्न पुगे।

हिप्पीहरूको यस निर्माणको लागि प्रथम आवश्यकता खाद्य सामग्री, त्यसपछि कृषि औजार, कृषि ज्ञान र धेरै खाले कच्चा पदार्थका आवश्यक पर्दथ्यो। ती सबै छिमेकिहरूबाटै सहृदय प्राप्त भयो। उनीहरूका जग्गामा एउटा पुरानो घर मात्र थियो। सबै त्यसमा अटाउने कुरै थिएन। अत: उनीहरूले आफूले चढेर आएका बसहरूलाई नै घरका रूपमा प्रायोग गरे। पछि पाल टाङ्गियो र छिमेक गाउँतिर फालिएका काठपात, टीन प्लास्टिक आदि जम्मा गरेर घर बनाइयो। चार वर्षमै उनीहरूसंग ३०/४० जनासम्म अट्ने सामूहिक घरहरू पुग्दो मात्रामा थिए र आफ्नै कृषि उत्पादनबाट उनीहरूपूर्ण अत्मनीर्भर भए। पाँच वर्षमा त उनीहरूका घरहरूमा विद्युतीय प्रकाश र ताप व्यवस्था, अनि समाजमा स्कूल, खेलकुद मैदान, पसल, गाडीहरू, काष्ठ र धातुका समान बनाउने मेसिन, बाल पोषण इकाई, सरसफाई इकाई, क्लिनिक, प्रयोगशाला, औषधालय, प्रसूतिको आइसीयु, खडा भए। उनीहरूले आफ्नो समुदाय मात्र होइन बाहिर २० माइलसम्म सेवा दिन लागे।

यो सफलताले संसारभरका हिप्पीहरूलाई उत्साहित बनायो र पूरै सत्तरी र असी दसकको सुरुवातमा हिप्पीहरूको लागि यो एउटा धाम नैबन्यो। यसमा भकाभक सदस्यहरू थपिन लागे। १९७१ मा ३२० जनाको संख्याबाट सुरु भएको यो समुदायको संख्या ८० को दसकमा १२०० पुग्यो। हेर्न आउनेहरूको संख्या त वार्षिक १० हजर नै नाघ्यो। यसो हुँदा फार्मका भित्रि संरचनाले धान्न सकेन र थामी नसक्नुको आर्थिक समस्या आइपर्यो। सदस्यहरूमा आफ्ना मुक्त कम्युनको परिकल्पना नै ठिक थिएन कि भन्ने प्रश्नसम्म उठ्यो।

सन् १९८३ मा धेरै छलफल भयो र यसलाई नयाँ आर्थिकर प्रशासनिक ढाँचामा निरन्तरित नगरी नहुने उनीहरूले सोचे। त्यस अनुरुप फार्मका मौलिक आदर्शहरू (जस्तै- जमिन र त्यसमा निर्मित सबै निर्माणहरूका साथै स्कूल, अस्पताल क्लिनिक आदि सार्बजनिक संस्थाका स्वामित्व समुदायमै साझा राख्ने र सदस्यहरू बीच बुद्धका शिक्षाअनुरुप शान्ति, अहिंसा र पर्यावरणप्रति सजग रही प्रेम र सद्भावपूर्ण सहबासका सम्यक अध्यात्मिक जीवन यापन गर्ने) लाई उस्तै गरी निरन्तरता दिने, तर कम्युनल अवधारणाको ठाउँमा भने कोअपरेटिव अवधराना प्रयोगमा ल्याउने व्यवस्था गरे। यस अनुरुप अबचल सम्पतिमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भयो। फारमको उन्नतिको लागि हरेक सदस्यलाई आफ्नो इच्छा अनुसार समुदायबाट बाहिर जता गएर पनि उपल्लो शिक्षा हासिल गर्न, सीप सिक्न र कमाइ गर्न उत्साहित गरियो। कसैका कमाइमा समुदाय वा अरूका भाग नलाग्ने भयो। तर प्रत्येक प्रौढले मासिक ७५ देखि १२० डलरसम्म समुदायमा लेभी बुझाउन पर्ने व्यवस्था भयो। नयाँ सदस्य मिसिन आएमा उनीहरूलाई एकमुष्ठ सदस्य शुल्क लगाउने चलन पनि राखियो र त्यो रकम किस्तामा दिन पनि सकिने बनाइयो। यस परिवर्तन पछि धेरैले फार्म छाडे। अन्तत: यहाँ बालबच्चाहरूसमेत गरी जनसंख्या २०० मात्र रहन गयो।

यसपछि यो समुदायले निस्फिक्री सफलताका छलाङ्ग लगायो। अहिलेको स्थितिमा उनीहरूसँग थप ३ हजार एकड गरी ४ हजार जमिन छ। आफैले कुटो कोदालो गर्दै बनाएका सामूहिक घरका ठाउँमा अहिले पश्चिमी मुलुकका सरह अत्याधुनिक सुविधासम्पन्न पारिवारिक घरहरू छन्। अहिले उनीहरूका समुदायमा डाक्टर नर्स, इन्जिनियर र आइ.टि.का प्राविधिकहरू पनि छन्। एउटा गाउँ आत्मनिर्भर हुन हर चाहिने कुरा- ग्रोसरी पसल, ग्यास स्टेसन, स्कूल, अस्पताल, औषधि पसल, हुलाक, चिहानस्थल, अडिटोरियम, व्यापार तथा उद्योग परिशर (सोय डेयरी, च्याउ उत्पादन, मेल अर्डर कम्पनि, बुक कम्पनि), खेलकुद मैदान, प्राकृतिक पौडिपोखरी, पाहुना घर, एफएम रेडियो स्टेशन, ग्रामिण मिडिया सेवा, खाने पानी व्यवस्था, सौर्य उर्जा, क्लिनिक, वेलकम सेन्टर, पुस्तकालय, जीम, योगा सेन्टर आदि छन्। आर्थिक निर्भरता यत्ति दह्रो भयो कि बाहिरी संसारमा भएका आर्थिक मन्दीले यसलाई कत्ति असर पारेन बरू बाहिरसंगको आर्थिक लेनदेनमा फाइदा भयो।

म परें अस्वीकृत जमातका सर्जक। अर्थात त्यस्तै मुक्त समाजको सपना बोक्ने परिवर्तनकामी विचारका लेखक। लेख रचना सम्ममा यस्तो समाजको कल्पना गरियो, (हेर्नु “मुक्ति प्रशंग” http://aswikrit.com/index.php?linkId=466)बाँकी अरूले गरेका कुरा पढ्ने बाहेक गर्न केही सकिएन। गरेको भनेको झन्डै उस्तै लाग्ने साम्यवादी राजनीतिक दलमा होमिइएको थिइयो। तर नेपालको परिस्थितिमा यो तत्काल हुन सक्ने पनि देखिएन। अनि, आफ्नो धीत मार्न यहाँ आउने अति तीब्र लालसा थियो।

यो समुदायले सनफ्रान्सिस्को छोडेका ४० वर्षको उत्सब यही अगस्तमा मनाउने योजना बनाएको थियो। मैले त्यसै समयमा जान चाहेको थिएँ। तर सकिएन। एक महीना पछि यही २०१४ मे महिनाको ३० तारीखमा मात्र पुग्न सफल भएँ।

राति २ बजेको थियो। फार्मको गेट बन्द रहेछ। मान्छे छिर्ने ढोका चाहिं खुल्ला। गेटमै उनीहरूका वेलकम सेन्टर रहेछ, जहाँ मलाई बिहान ८ बजे आइपुग्न अनुरोध भाथ्यो। म आफै राति नै आथें। भोग्न त पर्यो नै। त्यसको वरण्डामा एउटा बेञ्च रहेछ। त्यसमा कुक्रुक्क परेर सुतियो। निन्द्रा त कता हो कता। मैले शैलेन्द्र सकारलाई सम्झें। हामी सदा यस्तै अनार्किक कम्युनको सपनामा रमाउँथ्यौं। अझ सम्झें जमातका अरू साथीहरूलाई- अन्जीर प्रधान पीडित, प्रकाश प्रेमी, प्रेम नारायण प्रेमी, पुष्कर लोहनी, ब,आ. कनकद्वीप, कुमार नेपाल, सा.बि. ठाकुर, भाउपन्थी, काशिनाथ तमोट, जगत रंजन, मोहन समशेर थापा, नवीन प्रकाशजंग शाह र इन्द्र राजभण्डारी। कति संघर्षमयी दिन थिए ०२६/२७ सालका उबेला। साथीहरूले समेत हिप्पी भनी ताना दिन्थे हामीलाई। हाम्रा कुनै लेख कृति छाप्न सबै डराउँथे। हामीलाई आफ्नै पत्रिका अघि सार्न वाध्य पारेथे। हामीसंग ऊ बेला संजीवनी, मन्त्र, सुनाखरी, रेषा, दैलो आदि सहकर्मी समसामयिक पत्रिका थिए। अस्वीकृत साहित्यमार्फत हामीले मुक्त समाजको धेरै यस्ता सपना बाँड्यौं। ती पनि सदा अञ्चलाधिशका आँखी। अञ्चलाधिश कार्यालय कति धाउन पर्यो र कति हाम्रा अंकहरू जफत भए वा कतिमा काला पोतीए। आज सम्झंदा त्यस्तो पनि बेला थियो र भन्ने लाग्छ साथीहरूलाई। यसको बेलिबिस्तार मैले “मेरा अस्वीकृत मान्यताहरू”मा सबै लाएको छु ती अस्वीकृत डट कममा हेर्न मिल्छ। अहिले सम्झना आइरहेछ साकार र म पारिजात दिदीकोमा उ बेलाका प्रख्यात बीट कवि एलेन गिन्सबर्गको बारेमा लेखिएको एउटा किताब लिन गाथ्यौं। किताब दिएपनि पारिजात दिदीले तपाईंहरू सिर्फ हिपोक्रेसीमा बाँचिरहनु भाको छ भनी आलोचनात्मक भाषामा हामीलाई सम्झाउनुभाथ्यो। मैले सोचें उहाँ जीवित हुनुहुन्थ्यो भने यो कम्युन देखाएर हाम्रा सपना हिपोक्रेसिमात्र थिएन भनी आज देखाउन पाइन्थ्यो। जेहोस हाम्रा अस्वीकृत सोचलाई बुझ्ने उबेला उहाँसमेत सिर्फ औंलामा गन्न सकिने एकादुइ सर्जकहरू मात्र थिए। धेरैले हामीलाई अनेक गालि गर्थे। राजद्रोही देशद्रोही भन्दै हामी बिरुद्ध राजालाई समेत उकास्थे (http://aswikrit.com/index.php?linkId=362)।

बिहान आठ बजे ७६ वर्षीय लुइस हन्ट मलाई लिन गाडी लिएर आइपुगे। उनले भने- “बस्तीबाट यो गेट डेढ किलोमिटर तलपर्छ। फार्मको गेटमा अवस्थित स्वागतगृहबाटै भित्र बाहिरी कामहरू निप्ट्याउने व्यवस्था छ। बाहिरियाहरू कोही पनि पूर्वयोजना नभई भित्र पस्दैनन्।”

यस गेटमा नै ‘निजि बाटो’ भन्ने साइन बोर्ड समेतको रिमोटबाट चल्ने एउटा फलामे तगारो तेर्साइएको छ। काम नहुनेहरू यो नीजी सम्पतिमा को किन पस्थे होलान् र? बाँकी यो हेर्दैमा पूरै बनैबन देखिन्छ। बस्तीको छनकै त्यहाँ देखिन्न- हरेक घर एकार्काबाट टाढा, अनि हरेक सामुदायिक निर्माणहरू पनि बनकै बीचमा एकार्काबाट टाढा टक्रक्क स्थित। कुनै पनि निर्माण घरपरिवारलाई मात्र होइन पर्यावरण समेतलाई दखल नहुने हिसाबमा बनाइएका। मलाई लागेको थियो यहाँ अनेक कृषि फारमहरू बनेका होलान्। तर लुइसबाट थाहा भो- यसले कष्टकर र पर्ता नपर्ने व्यवसायलाई त्यागिसकेको रहेछ। वास्तवमा पूर्ववत फार्मको रूपमा यो नरहेर एउटा पर्यावरणमैत्री गाउँ परिसरको रूपमा परिवर्तित भै सकेको रहेछ। एक्कै छिन् झ्वाट्ट मनमा आयो- हाम्रा राउटे र चेपांगहरूको पर्यावरणीय बस्ति पनि कुनै दिन कुनै समय यस्तै हुने होला।

मलाई एउटा घरमा पुर्याइयो. बडेमानको रहेछ। अत्याधुनिक। म यसैमा बस्ने रे। घरमालिक ६३ वर्षीय फिल र मेरी रहेछन्। तेइस वर्षका उमेरमा आएका मौलिक हिप्पीहरू। यता बस्न लागे पछि बिहे बन्धनमा गासिएका रहेछन्। अडियो भिडियोका इन्जिनियर रहेछन् फिल। मेरी चाहिं नर्स। उमेरको कारणले मेरीले काम छोडेर फिललाई सगाउने रहेछ। उनीहरूका ग्राहक रहेछन् बाहिरी समुदाय। अत्याधुनिक अडियो भिडियोका स्टुडियो घरमै स्थापना गरेका रहेछन्। जंगलको माझमा यस्तो ? म चकित भएँ। बाहिरी ग्राहकलाई सस्तो पर्ने हुँदा व्यापार निक्कै फस्टाएको रहेछ अनि यत्रो घर र स्टुडियो किन सम्भब नहोस। बुझियो कुरो।

नातिनतेना भैसकेका उनीहरू, यस घरमा ठिङ्गो उनीहरूमात्र बस्दा रहेछन् र तीनटा कोठा फार्म हेर्न आउने पाहुनाको लागि भाडामा दिनेगरी सजाएर राखेका रहेछन्। म त्यहीमध्ये एकमा बसें। भाडा एक रातको ४२ डलर। शहरका होटेलसरहको सुबीधा थियो। भूइंतलामा जीम गर्ने र विलियर्ड खेल्ने छुट्टै कोष्ट पनि थियो। बस्न आउनेलाई घर भित्रबाहिर जताततै जान, समान चलाउन र खेल्न छुट थियो। घरका झ्याल, ढोका र बार्दलीहरू पूरै मसिना फलामे जालीले मोरेका रहेछन्। बत्तिमा झुम्मिने पुतली, कीरा, फटेङ्ग्रा र लामखुट्टेबाट बच्न यस्तो व्यवस्था गरेका रहेछन्। बनको बीचमा त्यत्रो घर कीरामकौडाहीन खुल्ला थियो। पेस्टिसाइड वा कीरा मार्ने दबाइ कत्ति प्रयोग नगर्ने रहेछ।

घरकै परिशरमा चिटिक्क परेको फूलबारी र किचन गार्डेन पनि थियो। फर्म भित्रका हरेक परिवारले आफ्नो घर वरीपरी १५० फिटसम्म जंगली रूख काटी आफ्ना मनचाहे तरकारीबारी र बघैंचा लाउन पाउने व्यवस्था रहेछ। यो शाकाहारीकै समुदाय भएकोले सबैका लागि तरकारीबारी आवश्यक हुने नै भयो।

फिल र मेरी बिहान बेलुकी त्यसमा काम गर्ने रहेछन्। मीर्ग कुखुरा आदिले पनि फूलबारी र किचन गार्डेनमा निक्कै दुख दिने रहेछ त्यसैले वरीपरी फलामे जालीका बार हालेका रहेछन्। यस समुदायका कसैले पनि पशुपन्छी मार्ने, शिकार गर्ने वा मासु खाने केही गर्दा रहेनछन्। ब्रेकफास्टको टेबलमा फील र म कुरा गर्दै थियौं, मेरीले खबर गरिन्- “भोलि ३० जना हाम्रा पुराना साथीहरू एकै ठाउँमा भेला हुने भाका छन् ब्रंचका साथ। धेरैजसो नेपाल गएकाहरू छन्। रमाइलो हुनेछ।”

जान त जाने हो तर यो “ब्रंचका साथ” भनेको के हो? सोधें। अनि थाहा भो ब्रेकफास्ट प्लस लन्च भनेको रहेछ। पूरैजसो मेरो क्यारियर अमेरिकीहरूसंग बितेको हो तर ब्रंच चाहिं पहिलोपल्ट सुनें। यताको भाषा हो कि वा विशेष यो समुदायको, सोध्न पनि बिर्सें।

भोलिपल्ट पुगियो त्यहाँ। त्यो घरको स्वीमिंग पुल पनि रहेछ। अनि सम्झें ४० वर्ष मात्र पहिले यही परिवार बसलाई घर बनाएर सुत्ने गर्थ्यो अहिले वातानुकुलित स्वीमिंग पूल पनि छ। विश्वासै लागिरहेको थिएन। ब्रन्चकोलागि एक घरलाई अप्ठेरो नपार्न हरेकले केही न केही खाना सबैले आफ्नातर्फबाट ल्याउने रहेछ। रमाइलो गर्ने भाषामा भनें- “मैले त नेपालका अभिवादन र शुभकामना मात्र बोकेर ल्याएको छु। ब्रन्चमा मिल्ला कि नमिल्ला ? खानेकुरा त वाँदेखि ल्याउँदा बासी भै हाल्थ्यो, के गर्ने?”

मेरो घरपट्टी फिलले आवाज दिईहाले -“ल, त्यो कोसेली दिहल्नोस!”

सबैले हो हो भने। अनि मैले मेरो प्रस्तुति सुरु गरें- “नमस्ते” बाट। सबैले हात जोरेर नमस्ते फर्काए। मलाई एकछिन त ठमेलतिर छु कि जस्तो लागेथ्यो। त्यसपछि छोटोमा बुद्ध र बुद्धको नेपाल बारेमा बखान लगाएँ। बुद्धकोबारेमा आफूले गरेको अनुसन्धान र त्यसबाट प्राप्त केही नयाँ कुराहरू पनि शेयर गरेँ। धेरै जसोले बुद्धबारे निक्कै जान्दा रहेछन् र छलफल उत्तिकै रमाइलो भयो। पछि गफैगफमा भनें- नमस्ते गर्नुभो मैले त तपाईंहरूले जानु हुन्छ भनेर सोचेको पनि थिइनं। एउटाले भने- हामी सबै नेपाल गाकाहरू हौँ। त्यति मात्र होइन हामी त दैनिक नमस्ते गरेरै योगा गर्छौं। अनि हाँसे सबै अति अपनत्वका साथ।

भोलिपल्ट फिलले मलाई फार्म भित्रका नयाँ पुराना निर्माणहरू देखाउन लगे। प्राकृतिक पौडी पोखरी देखियो, बनभित्रका पारिवारिक घरहरू, सार्वजनिक स्थल, संस्था, व्यवसाय र कार्यालयहरू देखाए। चालिस वर्ष अघि उनीहरू जुन बसमा आए र जसलाई घरको रूपमा परिणत गरेका थिए ती बसहरू पनि देखाए।

सबैजसो बसहरूलाई कसरी जबर्जस्ति घरको रूपमा परिणत गरिएका थिए हेर्दैमा अनौठो र अविश्वसनीय थियो। माया पनि लाग्यो, उ बेलाको जीवन उनीहरूले कसरी काटेका रहेछन् भन्ने सोचले। अनि बढीमा समुदायका घरहरू कसरी पर्यावरण मैत्री बनाएका छन् भन्ने देखाउन केही बन्दै गरेका घरहरू देखाए। घरका तापलाई वाताकुलित गर्न भित्तामा पराल, घाँस, बाँस र सिंगो बोतल समेतको प्रयोग गर्दा रहेछन्। छानामा त बाक्लो प्लास्टिक बिछ्याएर त्यसमाथि माटो बिछ्याएर घाँस नै उमार्ने रहेछ। सकेसम्म सामग्री आफ्नै उत्पादनमा आधारित र रिसाइकल गरी प्राप्त गर्ने रहेछ।

दुइसय जनका घरहरू बेपत्ता माइलौंसम्म जंगलमा छरिएका रहेछन् र पनि थाहा हुन्छ रे कुन घर कुन कुनामा कुन सडकले जोडेको छ। पैदल हिंडेर एकार्कामा भेट्न साध्य छैन। भेटघाट गर्नपर्दा साइकल वा साना जीपजस्तो चारपांग्रे कम खर्चालु गाडीको खुब चलन रहेछ। मोबाइल र टेलिफोनको त चलन छंदैछ।

यो पूरै जंगल नै प्रतीत हुने ठाउँमा चोर डाकु र गुण्डाहरू जस्ता मान्छेको डर रहेनछ। बाघ भालु पनि रहेनछ। रातमा पनि जंगलको माझमा आइमाई केटाकेटी बुढाबुढी रमाइलोको लागि हिंडदा रहेछन्। यहाँ अमेरिकाको अन्य समुदायमा बिरलै पाइने सौहार्द्रता यो देखियो कि एक अर्कालाई देख्नेसाथ हँस्सिखुसिका साथ हात उठाई अभिवादन गर्ने गर्दा रहेछन्। सबैले सबैलाई चिन्छन् रे। म नचिनेकालाई पनि भेटिएका जति सबैले उत्तिकै हर्दिकतासाथ हात उठाए।

जंगलभरि छरिएका सबैलाई मेरो उपस्थिति थाहा छ रे। एक त सबैसंग टेलिफोन छँदै छ त्यसमाथि त्यत्रो ब्रन्च कार्यक्रम भएको थियो। एफएम रेडियोसमेत भएको यो समुदायमा के थाहा मेरो उपस्थितिको खबर पनि भनियो कि?

बिहानै मलाई आफ्नो घरमा लान जुडी मिकर आइन्। अघिल्लो दिनको ब्रंच कार्यक्रममा उनि र उनका श्रीमान् बोयोंडो मीकर पनि आउन चाहेका थिए रे तर घरमा दुइ नातिनतेना हेर्नपर्ने भएकाले आउन पाएनछन्। त्यसैले अहिले घरैमा लान आएका रे। अहिले पनि छोटो समयको लागि नातिनतेना डोर्याउँदै भएपनि उनका बुढो बोयोंडो मीकर आउन सक्थे रे, तर मलाई उनीहरु घरैमा खातिर गर्न चाहन्छन् रे। उनका बुडो रहेछन् डाक्टर। उनले तानसेनको मिसन हस्पिटलमा स्वयमसेवी भएर काम गरेका थिए रे। त्यसै कारणले उनका परिवारैले “हिमालयले सिङ्गारिएको बुद्धको सुन्दर देश नेपाल” हेर्ने मौका पाएका थिए रे। जुन किसिमले उनले मेरो देशको कुरा तिनले गरिन् त्यसले मलाई अतिनै प्रभाव पार्यो। म त्यहाँ जान तयार भै हालें।

घर बाहिरबाट हेर्दैमा बडेमानको रहेछ। भित्र पस्ने बित्तिकै यसको सजावट्ले तीनछक पार्यो। अमेरिकामा धेरैपल्ट आएँ र बसें। यस्तो सजावटको घर मैले कहिल्यै देखेको थिइंन। नेपालका धनाड्यहरूका झैं सजावट र सम्पन्नताले पूर्ण। थरिथरिका कलात्मक सामग्रीहरू थिए र सबैको केन्द्र थियो बुद्धको मूर्ति र थान्का। सोचें डाक्टर भाकाले यिनले निकै कमाए छन्। बाहिर जति काम गरे त्यसको ट्याक्स उतै तिर्यो, बाँकी यता फार्मलाई जनही बढीमा $१२० तिरे पुगि हाल्यो। घरको ट्याक्स वा कमाइको ट्याक्स तिर्न पनि परेन, कमाइको भाग दिन पनि परेन। कुस्त जोगियो। कुरा छलेर मैले सोधें- “तपाईं पहिलेनै (अर्थात् यो फारममा आउन अघि) डाक्टर हुनुहुन्थ्यो होइन?.” उसले भने- “होइन, पछि हामी यहाँ स्थापित भएपछि बाहिर गएर पढेका।”

हो, धेरै जसो पच्चीसतीस वर्षका आका हुन्। पछि पढेरै त यहाँका डाक्टर नर्स इन्जिनियर आदि बने। उनको भनाइ थियो- “यहाँ आउने सबैजसो दिमागी हिसाबले ज्यादै स्मार्ट थिए चेतनशील थिए। पढ्नका लागि चुस्त र जेहेन्दार।”हो नि ! ज्ञानले पुरै सिद्ध नभई अबका आफ्नो आवश्यकता के भन्ने स्पष्ट नभई त्यसै को छँदाछँदैको स्थापित सभ्यता छोडेर आउंथे?

दुइवटा ससाना बच्चाबच्चीले हामीहरूका ध्यान आकर्षित गरिरह्यो। छोरीपट्टिका नातिनातिना रहेछन् ती। छोरी केही समय अघि मात्र योगा सेन्टर गएकी रहेछन्। भेट्न पाइएन। यिनीहरू केही दिनदेखि त्यहाँ नै पाहुना भई बस्न आएका रहेछन्।

अहिले फार्ममा छोराछोरी बढेपछि अर्को घर बनाएर सर्ने चलन रहेछ। आखिर फार्मभित्र जग्गाको कमी छैन नै र किन्न पर्ने होइन। सबैका साझा। बोर्डको स्वीकृति लिनपर्छ बस त्यत्ति। डाक्टरले भने- “यो फार्म सामाजिक र आर्थिक हिसाबमा नेपालको ठूलो संयुक्त परिवारको जस्तै हो। यहाँ घर बनाउनु भनेको नेपालमा तपाइको घरमा कोठा बारेको जस्तो मात्र हो। सामग्री र पैसा भए पुग्यो, कुनै प्रशासनिक झन्झट छैन।”

घरमा बाजाहरू पनि सजाएर राखिएको देखियो। हाम्रोतिर पाइने हर्मोनियन तबला, सितार र गितार पनि रहेछन्। ती बेलाबेलामा चलनमा भाको पनि लाग्यो। अर्थात सज्जाको लागि मात्र होइन। अर्थात डाक्टर मात्र होइन रहेछ संगीतकर्मी पनि रहेछन् यी।

मेरो ध्यान यता भएपनि डाक्टर मीकरको ध्यान भने बुद्धबारेको चर्चातिर डोलिंदै थियो। मैले हिजोको वार्तामा बुद्धमाथि नेपाली भाषामा पुस्तक लेखेको र त्यसमा “बुद्धको जन्म सामान्य थिएन” भन्ने र “बुद्धलाई पुर्ने लाग्थ्यो” भन्ने नयाँ अवधारणा पेश गरेकोमा ती कुनै मध्यमबाट सुनेका रहेछन्। आज उनले त्यो कुरा कोट्याए। मैले उनलाई ती कुराहरूबारे विस्तृत जानकारी दिन पर्यो। दुवै सिद्धान्त चिकित्सासम्मत भएका हुँदा पनि उनलाई यसमाथि बढी चाख भएको रहेछ. मेरा तर्कहरूलाई उनले विज्ञानसम्मत माने र संसारकालागि यी नयाँ कुरा हुने बताए. मैले यी दुवै सिद्धान्त अंग्रेजीमा लेखिएको हुँदा उनलाई फेसबूकमार्फत पठाउने बचन दिएँ. (कसैले पनि यो लिंकबाट हेर्न सक्छन्- https://www.facebook.com/notes/kavitaram-shrestha/the-birth-of-bodhisatwa-and-the-death-of-mayadevi-was-not-normal-dr-kavitaram-sh/10152515088648615 and https://www.facebook.com/notes/kavitaram-shrestha/buddha-was-haunted-by-full-moon-dr-kavitaram-shrestha/10152540852208615) उनले मेरो मूल किताब (महाभिनिष्क्रमणका अस्वीकृतपाइला) नै अंग्रेजीमा अनुबाद गर्न पनि अनुरोध गरे. तर मलाई त्यत्रो समय उपलव्ध छैन. म त्यस्तै अर्को मौलिक उपन्यास लेख्ने तरखरमा छु. असमर्थता जनाएँ.

छलफलको क्रममा उनले भने यस फार्ममा कसैका कुनै एक निर्दिष्ट धर्म छैन. सबै जन्मले क्रिश्चियन रे तर बुद्धका सम्यक आचरणलाई भने पथप्रदर्शक मान्ने बताए. आजीविकाका बारेमा उनले फार्मका वेब साईट नै देखाउंदै मलाई पढेर सुनाए-“Right livelihood- the Buddhist concept that your work should be seamless with your beliefs. This is what has led us in every aspect of our lives.”(यो लिंकबाट हेर्न सकिन्छ http://www.thefarmcommunity.com/FAQ.html) अर्थात आफ्ना आस्था अनुरुपका पेशा गर्नपर्छ भन्ने बौद्धमार्गी सोच उनीहरूका पथप्रदर्शक रहेछ. यसैबाट उनीहरूका जीवनका हरपक्ष निर्देशित भएका उनीहरू विश्वास गर्दा रहेछन्. थाहा भो, एक तिहाइ प्रौढ फार्मबाट बाहिर काम गर्छन् भने बाँकिहरू आफ्नै विभिन्न व्यवसाय गर्छन् वा आफ्ना समुदायभित्रै घरेलु उद्योग धन्दा र संस्थाहरूमा काम गर्दछन्. आफ्ना आस्था अनुरुप संसारैलाई परिवर्तन गर्ने मिसन पनि उनीहरूको रहेछ र कोही त्यसैमा स्वयम् सेवक रहेछन्.

त्यही साँझ लुइस हन्ट र पामेला हन्टले रातको खानको लागि मलाइ बोलाए. दुवै ४० वर्ष अघि यो फर्म बसाउने हिप्पीहरू मध्येका रहेछन्. यहाँ आएपछि उनिहरू बिबाह बन्धनमा गांसिए र अहिले नातिनतेनाका ७६ र ७१ वर्षीय बाजेबज्यै भएका रहेछन्. यस घरमा उनीहरू एकजोडी मात्र बस्दा रहेछन्. लुइस रिटायर्ड भाका तर पामेला अझै कार्यरत. पामेला प्राकृतिक रूपमा सुत्केरी गराउने विधिको लागि फार्ममा एक अग्रणी मिडवाइफ़ रहिछन्.

प्राकृतिक रूपमा सुत्केरी गराउने विधिबाट फार्मको अध्यात्मिक सोच अनुरुप ग्यास्किनकी श्रीमती इना मेइ ग्यास्किनले आध्यात्मिक विधिको विकास गरेकी रहेछ. यीनै पामेला हन्टसमेत अरू फार्मकै ५ जना नर्सहरूको साथमा क्लिनिक पनि खोलिएछ जसले अमेरिका, क्यानेडा र युरोपदेखिका इच्छुक ग्राहकहरूलाईसमेत यस अद्यात्मिक विधिबाट सेवा दिंदै आएको रहेछ. त्यति मात्र होइन, यस क्लिनिकले यही प्रविधिको लागि वर्षेनी बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय १०० जना सम्मका नर्सहरूलाईयो तालिम सेवा समेत दिँदो रहेछ.

पामेलालाई मैले यस प्रविधि नेपालको जस्तो विकासोन्मुख र अस्पताल सेवाबाट बन्चित जनसमुदायका लागि विस्तारित गर्न सकिन्छ कि सकिन्न होला भनेर सोधें. नेपालमा त सुत्केरी हुँदाका रक्तश्राबबाट धेरै आमाहरू मर्ने गर्छन्. यसो भन्दै गर्दा मैले बुद्धलाई जन्माउँदा उनका आमाका मृत्यु पनि त्यस्तै अविरल अत्यधिक रक्तश्राबबाट भएको भन्ने हिजोका मेरो प्रस्तुतिलाई सन्दर्भ मिलाएर सम्झाएँ. हिजो पनि त्यस प्रस्तुति सुनेकी थिइन् तिन्ले. नेपालमा त्यस्तो प्रोग्राम लान नसकिने होइन तर त्यसको लागि फार्मसंग आर्थिक श्रोत छैन भनी असमर्थता जनाइन्. मैले यसको लागि अमेरिकी सहयोग नियोगबाट सहयोग जुटाउन सकिने बताएँ र मेरो त्यस नियोगसंगका लामो कार्यानुभवका आधारमा प्रोजेक्ट प्रोपोजल बनाउन सकिने समेत बताएँ. अनि त्यहाँ नै त्यसै टेबलमा हामीले केही काम गर्यौं र उनलाई धेरै बुँदाहरू टिपाएं. यसको लागि अमेरिकामाको कोसंग सम्पर्क राख्न सकिन्छ मैले जानेसम्मको श्रोत व्यक्तिहरूका नामसमेत पनि टिपाएं.

खाना खानमा भन्दा पनि हाम्रो समय यता बढी गईरहेको थियो. उमेरको हिसाब र भोलिका अरू कामको चटारोले पनि उनीहरू यसरी ढिला रातिसम्म बस्न सक्दैनथे. पछि पत्राचारबाट अघि बढ्ने हामीले मेसो मिलायौं. अनि खाइयो शाकाहारी खाना. दुवै अति खुशी भाथे. बगैंचामा उनीहरूले बुद्धको मूर्ति स्थापना गरेका रहेछन्. त्यता लगे उनीहरूले. म फोटो खिच्न के तयार भाथें दुबैले तत्काल बुद्धको मुर्ति उचालेर पोज दिए. अति आत्मिय र रमाइलो अनुभव भयो.

भोलिपल्ट मेरो फर्कने दिन (जुन ३, २०१४) थियो. मलाई अर्को शहर न्यास्भिलमा लानेमा चक म्याकर्थी परेछन्. चक म्याकर्थी गीतकार रहेछन्. अलि पछिल्ला पुस्ताका हुन् यिनी. हिप्पी भएर यहाँ आउने मध्ये परेनन्. त्यो संस्कृति मनपर्ने भएकाले आफ्ना केटीसाथीसंग ८ वर्षदेखि यहाँ बसोबास गर्न आएका रहेछन्. उमेर सोध्न बिर्सें. ३५ माथिका पक्कै हुन्. खुब पढ्ने बानि रहेछ. यही बानीले बुद्धदर्शन पढ्न पुगेछन्. र, २५ वर्षतिर हुँदा बुद्धधर्म लिएछन्. यस फार्ममा आएपछि भने यहाँका कुनैपनि धर्ममा नबांधिने आध्यात्मिकतालाई उत्तिकै इज्जत दिंदा रहेछन्. उनले मेरो हीनयानी बिचारलाई मन ता पराए तर आफ्ना संगी, परिवार तथा छिमेकीजनलाई साथै लिएर बुद्धत्व प्राप्तितिर अग्रसर महायानी बिचारका भने साह्रै फ्यान रहेछन्.

कुरै कुरामा चक अति घनिष्ट बन्दै गए. बाटैमा उनले उनका गितिसंघका गायक तथा संगीतकार साथी शान ब्राएनलाई भेटाए. शान फार्मका सदस्य होइनन्. बाहिरका हुन्. फोक्सोले काम गर्न छाडी इमर्जेन्सीमा अस्पताल पुराएका यी गायकलाई एकास्सी जीवन फिर्ता प्राप्त भएको थियो रे. डाक्टरले पनि बुझेनन् रे कसरी उनि बाँचे. त्यसपछि उनि पनि निक्कै स्प्रिचुअल भाका छन् रे र बुद्धधर्मलाई मन पराउछन् रे. दुबैका केही गीति अल्बम रहेछन्. एउटा त भेट्स्वरूप दिए नै. यसमा म यू-टयूबको भिडियो बनाउने छु भन्दै धन्यबाद दिएँ.

टेनेसी राज्यको राजधानी न्यास्भिलमा एक हफ्ते संगीत महोत्सबका कार्यक्रम रहेछ. चक र शानले मलाई त्यो कार्यक्रम देखाउने भए. तीन दिनसम्म आफ्नै घरमा राखे र हेरियो त्यहाँका संगीत महोत्सव. गज्जबै लाग्यो. यो शहरलाई नै संगीत शहर भन्दा रहेछन् यता. हरेक टोलमा रेस्टुरेन्ट मात्र छन् कि लाग्ने यस शहरमा सबैमा गीत संगीत हुने रहेछ. अनि महोत्सबमा त हरेक टोल र चोकमा स्टेजको प्रोग्राम हुने रहेछ. झन् ह़लहरू र स्टेडियमको त कुरै भएन. हज्जारौं मान्छे आउँदा रहेछन् यस महोत्सबमा. शानको कार्यक्रम अलि बढी भिड हुने बिहिबारको दिन (जुन ६, २०१४) मा परेछ आफू त्यही बिहान नै हिंड्ने परियो. सुन्न पाइएन. बोर भयो. — कुरा यो फार्मको होइन तर फार्मकै दैनिकीलाई प्रभाव पार्ने शहरको हो. यो टेनेसी राज्यको राजधानी हो र असी माइल टाढा पर्दछ.

त्यो लेखको बिट मार्दै जाँदा यो हिप्पी संसारको स्थापना गर्न बैचारिक उर्जा दिने स्टिभन ग्यास्किनको बारेमा केही भन्नु छ नै. स्टिभन एउटा साधु सरहका गुरू रहेछन्. फार्मका प्रशासनिक कार्यमा अरूलाई उत्साहित गर्दै सदा उनि पछाडि रहे. सुरुवातमा उनि निर्देशक समितीमा रहेका देखिन्छन् तर पछि सिर्फ शिक्षक रहे. आजसम्म पनि त्यसै सर्वमान्य ओहदामा उनि सम्मानित छन्. मैले उनलाई भेट्न पनि चाहेको हुँ तर उनि अहिले अशक्त भई ओछ्यान परेका छन् रे. बुढो भएर कसैलाई भेट्न सक्ने अवस्थामै छैनन रे. (उनको बारेमा बनेका यी दुइ भिडियो हेर्न म हार्दिक अनुरोध गर्दछु.
https://www.youtube.com/watch?v=OdOdLEVU54o and https://www.youtube.com/watch?v=BT3U-IYob8E)

अन्तमा भन्नु छ – समुदाय आफैमा पूर्णरूपले आत्मनिर्भर छ. फार्मभित्र जे उत्पादन हुन्छ त्यसका हिसाब किताब अमेरिकी सरकारलाई बुझाउँदैनन्. त्यो अमेरिकी सरकारको ट्याक्सको दयारा भित्र आउँदैन. बाहिर काम गर्न जानेहरूको भने आयकर तलबसंगै उतै कटिएका हुन्छन्. फार्मले अमेरिकी सरकारलाई जमिनको ट्याक्स भने तिरेको हुन्छ र बाहिरी संसारका ब्याङ्क, हुलाक, यातायात, संचार माध्यमसंग एक पारिवारिक इकाइको हैसियतमा आदर्शतम सम्पर्क राख्दछ, जसको लागि पूर्ण जिम्मेवार छ- फारमको निर्देशक समिति (Board of Directors).

निर्देशक समितिले नै हर आवश्यकतामा फारमको अविभावकको रूपमा काम गरिरहेको हुन्छ. तर यो साशक होइन. सेवा इकाई हो. यस समितिको चयन हरेक ३ वर्षमा एकपल्ट निर्वाचन पद्धतिबाट हुने गर्दछ. यसलाई सघाउन अरू २ वर्षे उपसमितिहरू (जस्तै आर्थिक समिति, भूमिव्यवस्थापन समिति, उर्जा व्यवस्थापन समिति आदि) हुन्छन्, जसलाई निर्बाचन पद्धतिबाटै चयन गरिएको हुन्छ. फारम अमेरिकी सरकारको कानूनी दायारामा त छ तर यसमा कुनैपनि निकाय र पुलिस भित्र पस्दैनन्. चारहजार एकड जमिनमा मुक्त समाज सम्पन्न गराउने यो फार्म पूरै कानूनहीन, राज्यहीन स्वतन्त्र छ. ढोकामै लेखिएको छ “No solicitors” अर्थात् “कानुञ्चिहरूलाई निषेध” छ.

यो निर्देशक समिति सम्पूर्ण सदस्यहरूले समग्रमा पहिले नै गरेका “पूर्वसमझदारी” अनुरुप नीति र कार्ययोजना निर्धारण गरेर कार्यरत हुन्छ. “पूर्वसमझदारी” अर्थात जसले फार्मलाई एकछत्त समभावी, शासनहीन, मुक्त, सम्यक, सदाचारी र शान्तिप्रिय समुदायको रूपमा बाँधेको छ, र जसले संसारको अरू समुदायबाट फरक देखाएको छ, त्यो हामी बाहिरी संसारकाहरूका भाषामा “संबिधान” हो. प्रकृति, बनस्पति र सबै जीव लगायत पृथ्वीलाई पवित्र मान्दै सहभावको अध्यात्मिक जीवन डोर्याउने धर्मसुक्त समानको यो “पूर्व समझदारी” कसरी लेखिएको छ, त्यो तपाईंहरूलाई जस्ताको तस्तै पढ्न दिन मन लाग्यो. मलाई थाहा छ, मेरो यो संस्मरणका सीमित शव्दहरूले त्यो मुक्त समुदायको हुबहु चीत्र उतार्न सकेको पनि छैन. त्यो मुक्त समाजलाई पूरै बुझ्न यसलाई पढ्नै पर्छ. म यहाँ यथा दिंदै बिदा हुँदै छु, स्वीकार्नु होला. धन्यबाद:

The Farm Community – Beliefs and Agreements

As a church, we live in community and our reverence for life has always been central to our ways. Within The Farm Community, people could live together and pursue a spiritual path that includes, but were not limited to, the following common beliefs and agreements:

1. We believe that there are non-material planes of being or levels of consciousness that everyone can experience, the highest of these being the spiritual plane.
2. We believe that we are all one, that the material and spiritual are one,
and the spirit is identical and one in all of creation.
3. We believe that marriage, childbirth and death are sacraments of our church.
4. We agree that child rearing and care of the elderly is a holy responsibility.
5. We believe that being truthful and compassionate is instrumental to living together in peace and as a community.
6. We agree to be honest and compassionate in our relationships with each other.
7. We believe in nonviolence and pacifism and are conscientiously opposed to war.
8. We agree to resolve any conflicts or disagreements in a nonviolent manner.
9. We agree to keep no weapons in the community.
10. We believe that vegetarianism is the most ecologically sound and humane lifestyle for the planet, but that what a person eats does not dictate their spirituality.
11. We agree that livestock, fish, or fowl will not be raised in the community for slaughter.
12. We believe that the abuse of any substance is counterproductive to achieving a high consciousness.
13. We agree to strive for a high level of consciousness in our daily lives.
14. We believe that the earth is sacred.
15. We agree to be respectful of the forests, fields, streams and wildlife that are under our care.
16. We agree that the community is a wildlife sanctuary with no hunting for sport or food.
17. We believe that humanity must change to survive.
18. We agree to participate in that change by accepting feedback about ourselves.
19. We believe that we, individually and collectively, create our own life experience.
20. We agree to accept personal responsibility for our actions.
21. We believe that inner peace is the foundation for world peace.

The Farm
The Farm Welcome Center
100 Farm Road_
Summertown, TN_38483
PH: 931-964-3574
vickie@thefarmcommunity.com |

फर्मलाई अरू बुझ्न यी भिडियोहरू पक्कै हेर्नुहोस्


Woking June 22, 2014



.















Comments

comments