वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

काठमाडौं, देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ ।

भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरू बताउँछन् । यो अवस्थाले बिरामीमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरू बताउँछन्।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन । आफन्तले नलगुन्जेल ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू काम गर्न सकिँदैन । शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दैन । दिनहँु बिरामी र आफन्तको गुनासो आएको छ । तर, समाधान गर्न सक्ने तत्काल अवस्था छैन,’ डा. श्रेष्ठले भने । लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए।





Comments

comments

Leave a Reply

26946