नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाल मण्डलका आदिवासी नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको छ।
कोलोराडो नेवा: खलः को आयोजनामा आइतबार वेस्टमिन्स्टर स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा पाँचौँ संस्करणको इन्द्रजात्रा सम्पन्न भएको हो।
कार्यक्रममा नेवार समुदायको मौलिक परम्पराअनुसार कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवार संगीत, समयबजी (नेवार परिकार) तथा मण्डला संगीत समूहको साङ्गीतिक प्रस्तुति लगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो।
बोल्डर सिटी मेयर एरन ब्रकेटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सुरुमा जीवितदेवी कुमारी, गणेश र भैरवको विधि पूर्वक पूजागरी रथमा राखी धिमेबाजाको तालमा लाखे, पुलुकिसि सँगै नेपाली घरको प्राङ्गण परिक्रमा गराई कार्यक्रम स्थल पुर्याइएको थियो।
कार्यक्रमको सुरुमा कोलोराडो नेवा: खलः अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यसको महत्त्व बारे प्रकाश पारेका थिए । यसैगरी उनले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने नेवार समुदायका सदस्यहरू तथा तन मन र धन प्रदानगरी सहयोग पुर्याउने सबै संघ संस्था, दाता, स्वयंसेवक, कलाकार सबैलाई धन्यवाद दिएका थिए।
त्यसैगरी प्रमुख अतिथि बोल्डर सिटी मेयर एरन ब्रकेटले कार्यक्रमलाई सम्बोधन गर्दै कला संस्कृति परम्परागत मूल्य र मान्यताले भरिएको इन्द्रजात्रामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बोल्डर र काठमाडौँ सिस्टर सिटी रहेको, आफू २ वर्ष अगाडि नेपाल भ्रमणमा जाँदाको अनुभव सुनाएका थिए।
प्रस्तोता द्वय अतिशा र संझनाले कुशलता पूर्वक सञ्चालन गरेको कार्यक्रममा धिमेनाच, लाखेनाच, नेवार संस्कृति झल्कने नृत्य तथा मण्डला ब्यान्डको सुन्दर प्रस्तुति रहेको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित सबैलाई प्रसाद स्वरूप समयबजी वितरण गरिएको थियो । कार्यक्रममा सहभागी धेरैजसो महानुभावहरू नेवारी परम्परागत पहिरनमा सजिएको हेरिरहँदा आफू वसन्तपुर डबलीमा बसी कार्यक्रम हेरिरहेको भान हुन्थ्यो।
इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो । विविध संस्कृतिबिच नेपाली र नेवार समुदायको मौलिक अस्तित्वलाई जीवन्त राख्न यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको र नेपाली तथा अमेरिकी समुदाय कार्यक्रममा सहभागी भई नेपालको समृद्ध नेवार संस्कृतिको अनुभव लिएका छन्।
अमेरिका जस्तो बहु सांस्कृतिक समाजमा आफ्ना मौलिक परम्परा र संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न इन्द्रजात्रा जस्ता पर्वहरूको संरक्षण अपरिहार्य रहेको छ । नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा नेपाली घर, ब्लड डोनर्स अफ अमेरिका लगायतका संघ संस्था इन्सुरेन्स, बैङ्क तथा विभिन्न किसिमका व्यवसायका १५ वटा भन्दा बढी स्टलहरू रहेका थिए।
सहभागीहरू निःशुल्क प्रवेशगरी मनोरञ्जन लिनुको साथसाथै प्रसाद स्वरूप समयबजीको स्वाद चाख्न पाएका उक्त कार्यक्रम मध्यान्ह १२ बजे देखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।
इन्द्रजात्रा नेपालको सबैभन्दा प्राचीन तथा महत्त्वपूर्ण जात्रामध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात करिब दशौँ शताब्दीमा काठमाडौँका संस्थापक राजा गुणकामदेवको शासनकालमा भएको मानिन्छ। यही समयदेखि काठमाडौँ नगरको स्थापना र नगर सभ्यताको विकाससँगै इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
पौराणिक कथा अनुसार भगवान् इन्द्र आफ्नी आमाको लागि पारिजात फूल टिप्न पृथ्वीमा आएका बेला काठमाडौँका बासिन्दाले उनलाई चोर ठानेर बाँधे। पछि उनको वास्तविकत्ता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरियो। त्यस घटनाको स्मरणमा इन्द्रजात्रा मनाउने परम्परा बसेको मानिन्छ।
नेवार समुदायले सदियौँदेखि भाषा, साहित्य, मूर्तिकला, वास्तुकला, संगीत, जात्रा, गुठी प्रणाली तथा सामुदायिक जीवनशैलीमार्फत नेपालको सभ्यता निर्माणमा अतुलनीय योगदान पुर्याउँदै आएको छ। इन्द्रजात्रा यिनै सम्पूर्ण सांस्कृतिक मूल्य र जीवनदर्शनको उत्सव हो।
कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा आयोजना गर्दै आएको छ। संस्थाले नेवार संस्कृति संरक्षण, शैक्षिक कार्यक्रम, सामुदायिक एकता र नेपाल तथा विश्व समुदायबिच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने कार्य गर्दै आएको छ।
नेपालको हजारौँ वर्ष पुरानो सभ्यता र सांस्कृतिक धरोहरलाई अमेरिकाको भूमिमा पुनर्जीवित गर्दै कोलोराडोमा आयोजित पाँचौँ इन्द्रजात्रा केवल एउटा जात्रा मात्र नभई, आफ्ना जरा, पहिचान र संस्कृतिसँग जोडिने एक साझा उत्सव बन्ने विश्वास गरिएको छ।


