नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद, संस्कृति, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको ‘दशैं–तिहार कप २०२६’ लेदर बल क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलहरू सम्पन्न भएका छन्।
हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसनल (HHHE) को प्रस्तुतिमा भएको पहिलो दिनको प्रतियोगिता थर्नटन स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न भएको हो। जस अनुसार शनिबार भएका दुई खेलमा कोलोराडो ड्रागन्स र कोलोराडो राइनोजले जित हासिल गरेका छन्।
पहिलो खेलमा कोलोराडो ड्रागन्सले रकी माउन्टेन क्रिकेट क्लब (आरएमसीसी) लाई ४५ रनले हरायो। ड्रागन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो। जवाफमा आरएमसीसीले २० ओभरमा ९ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो। ड्रागन्सका विजय टीले ४८ रन बनाए भने नारायण एनले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए। आरएमसीसीका सौरभ बीले ५९ रन बनाए।
दोस्रो खेलमा कोलोराडो राइनोजले गोर्खे ब्वाइजलाई १२९ रनले पराजित गर्यो। राइनोजले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनायो। सक्रिन डीले ५०, निरोज डीले ४४ र उत्सव पीले ३८ रनको योगदान दिए। जवाफमा गोर्खे ब्वाइज १४.५ ओभरमा ८३ रनमै अलआउट भयो। राइनोजका वासिम एले ३ विकेट लिए।
प्रतियोगिताको फाइनल खेल अक्टोबर ४ मा शीर्ष दुई टोलीबीच हुनेछ।


