आजदेखि शुरु भयो दशैंको चहलपहल, देशभरका शक्तिपिठमा फूलपाती भित्र्याईदै

फाइल फोटो

एचकेनेपाल डट कम संवाददाता-

१८ असोज । बडादशैँ अन्तर्गत सप्तमी तिथिमा आज नेपालभर परम्पराअनुसार घरघरमा फूलपाती भित्राइँदैछ।

दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्राइन्छ।

बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण गरिन्छ। काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि आज फूलपाती भित्र्याइँदै छ।

पहिले पहिले फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरमा पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म ल्याउने चलन थियो। गणतन्त्र स्थापनासंगै दशैं मान्ने प्रचलनमा परिवर्तन आएको हो। अहिले धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती काठमाडौं ल्याएर पर्सिएर दसैंघरमा भित्र्याउने गरिन्छ। अहिले स्थानीय मठ मन्दिरमा गएर पूजापाठ गर्ने प्रचलन भने कायमै छ।

घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ। फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, वनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुन्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायतका पीठमा भक्तजनको भीड बढेको छ।

गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउँछन्।





Comments

comments

32163