अमेरिकामा नेपालीले यसरी मनाए दशैं

विजय थापा

वाशिंगटन डीसी। अमेरिकामा विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले हर्षोल्लास साथ २०७६ सालको बडा दशैँ मनाएका छन्।

बर्षमा एक पटक आउने नेपालीहरुको महान चाड दशैँ परदेशमा रहेका आफन्त , ठूला बडा मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा थापी मनाएका छन्।

अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ३५ मिनेटदेखि टिका थाप्न सुरु गरेका थिए। अमेरिकाका बिभिन्न स्थानमा रहेका आफूले मान्नु पर्ने आफन्त ,अभिभावक ,नेपालबाट अमेरिका आएका अभिभावकसंग टीका ग्रहण गर्न पुगेका थिए। अमेरिकाका नेपालीहरु रहेका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरंजनपूर्वक मनाएको समाचार छ।

अमेरिकामा दशमी मंगलबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्वलाई मनाएका छन्।

नेपाल जस्तै गरी परिवार अनुसार नौ दिनसम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरी किस्तीमा जमरा राखेका थिए। अमेरिकामा नेपालीहरुको मन्दिरसमेत भएकोले बिभिन्न राज्यहरुमा पायक पर्ने मन्दिरमा गएर जमरासमेत वितरण गरेका छन्। अमेरिकाको डिसी क्षेत्रमा स्थापित डिसी नेपाली समाजले स्थापना कालदेखि नै जमरा वितरण गर्दै आएकोले यस बर्ष पनि नेपाली समुदायलाई सहज बनाई दिएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै अभिभावक तथा मान्यजनका घर गै निधारमा टिका ग्रहण गरेका छन्। जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो।

अमेरिकामा दशैको दिनमा सेलरोटी ,मासुका विभिन्न परिकार, नेपाली शैलीका अचार तथा दशमी मंगलबार परेकोले शाकाहारीको लागि फलाहार आदि ईत्यादी समेत आफू ,परिवार तथा अतिथिहरुलाई खुवाए। नेपाली पोशाक दौरा ,सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका सारी (फरिया)तथा गरगहनामा सजिएका थिए।

अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र सौगत स्वरुप खाममा पैसा दिदा निकै प्रफुल्ल र खुशी देखिन्थे। अमेरिकामा नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,सासुससुरा , पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन्।

अमेरिकाका विभिन्न राज्य र शहरमा टीका ग्रहण गर्ने समय नेपालको भन्दा एक दिन अगाडी परेको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिले गराएको थियो । जस अनुसार अमेरिकाका केही पूर्वी राज्यहरुमा दशैको साईत ७ तारिख नै दशैँ परेको जनाएको थियो । जसको कारण अक्टोबर ७ कै दिन नेपालीहरुले दशैँ समेत मनाएका छन्।

भौगोलिक हिसाबले हामी नेपाल भन्दा पश्चिममा छौँ र समयको हिसाबले हामी ११/ १२ घन्टा पछाडि छौँ तर तिथिको हिसाबले हामी पछाडी छैनौँ भनि जानकारी गराएका थिए।

२०१९ असोज २१ गते नेपालको समय अनुसार दशमी तिथि ७ तारिखको दिउसो ३ बजेर ७ मिनेटमा सुरु भई त्यहाँको समयानुसार भोलिपल्ट बेलुका मंगलवार ४ बजेर १९ मिनटसम्म रही श्रवण नक्षत्रले युक्त भएकोले नेपालमा ८ तारिख दशैँ मनाउने निर्णय गरेको भयो तर अमेरिकाको पूर्वी भागमा भने सोही समयमा मनाउनका लागि रातको समय भयो।

७ तारिखको राति (विहान) २ बजेर ३७ मिनेटदेखि सुरु भई ८ तारिखको विहान ४ बजेर ५० मिनेटसम्म मात्र रहने भएकोले सजिलैसँग ७ तारिख पर्न गएको हो भनेकोले अक्टोबर ७ सोमबार दशमीको दिन देवी विसर्जन गर्न सकिने जनाएको थियो।





Comments

comments

32195