एकै सातामा कशिशका पाँच म्युजिक भिडियो रिलिज

सम्वाददाता / एचकेनेपाल डट कम –

कोरोनाको लकडाउनले थलिएको लामो अवधिपछि नायिका तथा मोडल कशिश दाहालका पाँच वटा म्युजिक भिडियोहरु एक साता भित्र रिलिज भएका छन्।

इटहरीबाट काठमाण्डौ छिरेर संघर्ष गरिरहेकी कशिश पछिल्लो समय व्यस्त बन्दै गएकी छन्। उनका केही चलचित्रहरु पनि रिलिजको तयारीमा छन् । गत वर्ष नै ती रिलिजको तयारीमा थिए, तर कोरोनाका कारण सबै हलहरु बन्द भएकोले ती पछाडि धकेलिएका छन्। अब अवस्था सामान्य हुने बित्तिकै ती रिलिज हुन तयार भएर बसेका छन्।

कशिश दाहाल

चर्चित ब्युटी प्याजेन्ट ‘मिस पूर्वाञ्चल’ मा भाग लिएर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी कशिश दाहाल म्यूजिक भिडियो हुँदै अहिले चलचित्रहरुमा व्यस्त छिन्। लकडाउनमा सबै क्षेत्र अस्तव्यस्त बनेको अहिलेको अवस्थामा उनको व्यस्तता भने बढिरहेको छ। म्युजिक भिडियोबाहेक उनी रमाईलो टिभीको हास्य श्रृंखला ‘तितो पिरो’ मा पनि अभिनय थालेकी छन्।

यसै साता रिलिज भएको लोकप्रिय गायिका प्रिती आले मगरको कशिश दाहाल फिचर्ड तीज गीत ‘डिस्टर्ब नगर’ लोकप्रियताको सिँढी उक्लिरहेको छ। यो गीतले एक साताभित्र करीब ५ लाख भ्यूअर्स पाईसकेको छ। उक्तः भिडियो कृष्ण परियारले निर्देशन गरेका छन्।

त्यस्तै पहिलो भ्वाईस अफ नेपालका विजेता गायक सिडी विजय अधिकारीको गीत ‘भुलभुलैया’ मा पनि कशिशले काम गरेकी छन्। अधिकारीकै संगीत रहेको उक्तः गीत भिडियोले पनि उल्लेख्य भ्यूअर्स पाईरहेको छ। तीब्र गतिमा दर्शक संख्या बढिरहेको उक्तः भिडियोले हालसम्म करीब ३ लाख पाईसकेको छ।

निसान एसकेको निर्देशन रहेको ‘नक्कली’ शीर्षकको अर्को तीज गीतमा पनि कशिश फिचर्ड छिन्। उक्त गीतमा दीपेन्द्र बुढाक्षेत्रीको स्वर र संगीत रहेको छ।

कशिशले अर्को गीत चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘मेरो छाती धडकियोस्’ बोलको गीत रहेको छ। विपिन आचार्यको संगीत र पत्रकार राज सरगमको शब्द रहेको उक्तः भिडियो साईराम पिक्चर्सबाट रिलिज गरिएको छ। भिडियो नारायण ठकुरीले निर्देशन गरेका छन्।

चर्चित गायक रुपक डोटेलले गाएको कशिशको अभिनय रहेको ‘एक्लो जीवन’ बोलको गीत पनि यसै साता रिलिज भएको छ। शक्ति बल्लभको संगीत रहेको गीतमा कशिशले दिनेश केसीसँग अलस्क्रिन रोमान्स गरेकी छन्।

व्यस्तताका बीच उनै कशिशसँग गरिएको छोटो कुराकानीको अंश:

१) चलचित्र गर्दागर्दै किन म्युजिक भिडियो र सिरियलमा?

तपाईहरु सबैलाई थाहै छ, अहिले हामी विशेष परिस्थितिमा छौं। चलचित्रको सुटिङ भईरहेको छैन। हलहरु बन्द छन्। तर यो अवस्थामा दर्शकहरुलाई हाम्रो कामको अझ बढी आवश्यकता छ। जसले उहाँहरुलाई अप्ठेरो यो अवस्थामा मनोरञ्जन दिलाउँदै सहजतामा फर्काउन सकोस्। फेरि हामी पनि दर्शकहरुसँग पुगिरहनका लागि पनि चलचित्र नभए पनि टेलिभिजन तथा युट्युब च्यानलमार्फत पुग्न सक्ने भएकोले यो माध्यममा पनि काम गर्न प्रेरित भएको हो।

२) कुन कुन चलचित्र आउँदैछन् ?

केही चलचित्रहरुको सबै काम सकिएर रिलिजको चरणमा थिए, केही करीब २० प्रतिशत शुटिङ बाँकी थिए। केही शुटिङ शुरु हुनेवाला थिए। काम सकिएका चलचित्रहरुमा चाँही ‘मन्द मन्द’, ‘द प्रिन्स’, ‘फुर्के’, ‘रोशनी’ आदि हो।

३) आगामी दिनको अपेक्षा के छ ?

खासगरी गरिसकेको कामको प्रतिक्रिया कस्तो हुन्छ भन्ने चासो र चिन्ता भईरहने रहेछ, अहिले त्यसैको प्रतिक्षा हो। अब छिट्टै अवस्था सामान्य होस्, चलचित्रहरु रिलिज होस्, दर्शकले काम मन पराईदिनु भयो भने आगामी दिन आफुले सोचे जस्तो होला नि।

४) कोरोना लकडाउनको अनुभव के रह्यो ?

लकडाउनको धेरै समय त घर मै बित्यो। बढी इटहरी मै बिताएँ। त्यस अवधिमा धेरै सिनेमाहरु हेरियो। केही लेख्ने प्रयास गरेँ।

५) अबको योजना के छ ?
राम्रा चलचित्र खेल्ने, सोसियोलोजीमा मास्टर्स तहमा पढ्दै छु, त्यसलाई पूरा गर्ने, आगामी दिनमा अभिनयलाई निरन्तरता दिँदै चलचित्र निर्देशनमा पनि अघि बढ्ने सोच छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38034