बीएनओ BN(O) पासपोर्ट प्रतिबन्धपछि हङकङका नेपालीलाई तनाव! किन यस्तो गर्यो… हङकङले..?

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ३१ जनवरी। हङकङ सरकारले बेलायतले जारी गर्दै आएको British National (Overseas) बीएनओ राहदानीलाई आइतवारदेखि मान्यता नदिने भएको छ।

बेलायतले करीव ५४ लाख हङकङबासीलाई बेलायतको नागरिकता लिन प्रस्ताव गरेपछि रिसाएको चीनले जनवरी २९ तारिख शुक्रवार बीएनओलाई यात्रा दस्तावेजको रुपमा मान्यता नदिने घोषणा गरेसंगै हङकङले पनि बीएनओलाई मान्यता नदिने निर्णय गरेको हो।

हङकङ सरकारले प्रेस विज्ञप्ति जारी गर्दै बीएनओ पासपोर्टमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

सरकारले घोषणा गरेसंगै हङकङ एयरलाइन्स र क्याथे प्यासेफिक एयरवेजले पनि आफ्नो आधिकारिक वेबसाइटमा प्रेस बक्तव्य जारी गर्दै बीएनओ पासपोर्टलाई वैध यात्रा कागजात र पहिचानको रूपमा स्वीकार नगर्ने जनाएको छ।

भिडियो समाचार हेर्नुहोस् 🙏

अब नेपालीलाई के हुन्छ?

चीन र हङकङ सरकारले बीएनओ पासपोर्टमाथि प्रतिबन्ध लगाएपछि धेरै नेपाली आश्चर्य चकित भएका छन्।

विदेशको सहज यात्राको लागि धेरै नेपालीले बीएनओ पासपोर्ट प्रयोग गर्दै आइ रहेका थिए। नेपाली पासपोर्टभन्दा बीएनओ पासपोर्टलाई बढी प्राथमिकता दिने भएपछि बीएनओ पासपोर्ट नेपालीको लागि पहिलो बिकल्प बनेको थियो।

पछिल्लो पटक छुट्टी मनाउंन हङकङका नेपालीहरु नेपालबाहेक विदेश यात्रामा निस्कने प्रचलन बढ्दै गइरहेको थियो। र तिनीहरुले सहज यात्राको लागि बीएनओ पासपोर्टलाई प्रयोग गर्दै आईरहेका थिए।

हङकङ, चीन र मकाउले मान्यता नदिए पनि पासपोर्टमा निर्दिष्ट गरिएका अन्य देशहरुमा बीएनओ पासपोर्टको मान्यता यथावत कायम नै रहने छन्।

हङकङको ट्राभल उद्योग परिषदका मानद सल्लाहकार माइकल वू को भनाई जस्तै हङकङमा बीएनओ पासपोर्टमाथि लगाएको प्रतिबन्धले त्यति ठूलो असर नपार्ने अनुमान गरिएको छ।

BNO News

भिसा टु युके

हङकङले गत वर्ष जुलाईमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि बेलायतले बीएनओ राहदानीबाहकलाई बेलायतमा बसोबास गर्ने बाटो उपलब्ध गराइने जनाएको छ।

बेलायतको विदेश कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बीएनओ राहदानीवाहक हङकङका बासिन्दाहरूले अब बेलायतमा बस्न, काम गर्न र अध्ययन गर्न सक्नेछन्।

बेलायती सरकारले बीएनओ राहदानीवाहक हङकङका बासिन्दाहरूलाई भिसाको लागि आज आइतवार बिहानदेखि अनलाइनबाट आवेदन दिने सक्ने सूचना जारी गरेको छ।

बेलायतले भिसा योग्य हङकङका बासिन्दा र उनका आश्रित परिवारहरूलाई बेलायत प्रवेश गर्न, स्थानीय रूपमा काम गर्न र अध्ययन गर्न ५ बर्षको निवास अनुमति प्रदान गर्ने छ।

५ वर्ष बसेपछि बेलायती नागरिकताको लागि आवेदन दिन सक्ने छन्।

Photo: AFP

बेलायतमा ठूलो अवसर

बेलायतलाई गन्तव्य देश ठान्ने नेपालीको लागि अहिलेको परिस्थितिलाई ठूलो अवसरको रुपमा हेरिएको छ।

बेलायत स्वयंले करीव ५४ लाख हङकङबासीलाई बेलायती नागरिकता लिन प्रस्ताव गरेको छ। त्यसभित्र बीएनओ राहदानीवाहक हङकङका नेपालीहरु पनि प्रशस्तै रहेका छन्।

यसअघि पनि थुप्रै नेपाली हङकङ छोडेर बेलायत देशान्तरण गरिसकेका छन्। अहिले पनि बेलायत बसाईं सर्ने मनस्थिति बनाएका नेपालीहरुको लागि अहिलेको यो परिस्थिति सहज र अवसरको बाटो हो।

बेलायतले किन लियो यस्तो नीति?

बेलायत र चीनबीच 1984 Sino-British (१९८४ साइनो-ब्रिटिश) संयुक्त घोषणा पत्र जारी भएको थियो।

संयुक्त घोषणा पत्रमा हङकङलाई “एउटा देश, दुई प्रणाली” सिद्धान्तमा समेट्ने र हस्तान्तरणको ५० बर्षसम्म उच्च स्वायत्तता प्रदान गरिरहने वाचा गरिएको थियो।

यही घोषणा पत्रकै आधारमा बेलायतले सन् १९९७ हस्तान्तरण भन्दा अघि जन्मिएका ३४ लाख हङकङका बासिन्दाहरूलाई बीएन (ओ) दर्जा प्रदान गरेको थियो।

तर चीनले गत वर्ष जुलाईमा हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि बेलायतले 1984 Sino-British संयुक्त घोषणा पत्र उल्लंघन गरेको भन्दै बीएन (ओ) वाहक हङकङबासीलाई बेलायती नागरिकता लिन आह्वान गरेको हो।

बेलायतले आइतवारदेखि भिसा टु ब्रिटिशको ढोका खुल्ला गरेको छ।





Comments

comments

40354