कोलोराडोमा सांस्कृतिक कार्यक्रमसंगै माघे संक्रान्ति सम्पन्न, मुना थापामगरको विशेष आकर्षण

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। कोलोराडो निवासी मगरहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान गर्दै माघे संक्रान्ति सम्पन्न गरेका छन्।

मगर संघ कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडो निवासी मगरले आफ्नो कला, संस्कृति परम्परा अनुसार माघे सक्रान्ति पर्व मनाएका हुन्।

मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा नेपाली सांस्कृतिक केन्द्र भवनमा संम्पन्न कार्यक्रम बयोबृद्ध जगनलाल थापा मगरद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो। कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथपहरुलाई खादा लगाई सम्मान गरिएको थियो।

मगर संघ अमेरीकाको केन्द्रीय सल्लाहकार लछुमन राना मगरको प्रमुख आतिथ्यता तथा चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गीत, नृत्य तथा मन्तब्यबाट स्वागत गरिएको थियो।

मगर संघ कोलोराडो च्याप्टरका सचिव उपेन्द्र राना मगरद्धारा संचालित कार्यक्रममा मगर संघ अमेरीका केन्द्रिय समितिका उपाध्यक्ष तथा प्रतिनिधि टेक थापा मगर शुभकामना मन्तब्य दिदै कार्यक्रमको महत्व र आवश्यकताबारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततिमा जस्ताको तस्तै हस्न्तान्तरण गर्ने वातावरण सृजना गर्न सबैलाई अनुरेध गरे । स्थानीय समुदायलाई मगर भाषा संस्कृतिको पहिचाहन गराउनुको साथै संस्कृति जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतिक पहिरनमा सझिएर आएका थिए।

कार्यक्रमको दोश्रो चरणमा बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरी सहभागीहरलाई भरपूर मनोरञ्जन प्रदान गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक मुना थापा मगरद्धारा बिभिन्न चर्चित लोकगीत गाएर सहभागीहरुलाई नचाएकी थिईन्। कोलोराडोमा तापक्रम घटेर ज्यादै जाडो भईरहेको अवस्थामा कार्यक्रममा सहभागीहरु भने नाचेर असिन पसीन भएका थिए।

मगर, नेपाली भाषाका गीत गाएर, नेपालको पश्चिमी भेकमा अत्यन्तै लोकप्रिय सालैजो नृत्य, कौराह, प्यारोडी तथा मोडल डान्स, लाईभ कौराहलगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रस्तुत गरेर सहभागी दर्शकहरुको मन जित्न सफल भएका थिए।

कार्यक्रममा सहभागीहरुलाई तरुल, सेल र बारा लगायतका स्वादिष्ट भोजनको ब्याबस्था गरिएको थियो । समारोहमा कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग पुर्याउनुहुने दाता, बिशेष कलाकार लगायत स्थानिय कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि लछुमन राना, अतिथि टेक थापा मगर तथा सभापति कृष्ण थापा मगरद्धारा मायांको चिनो तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।





Comments

comments

100617