बेलायतबाट नेपाल फर्कंदा २ करोडको जग्गा गायब

आफ्नो जग्गामा नयाँ घर देख्दा आश्चर्य
बेलायतबाट दुई महिनाअघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे । न त कसैलाई उनले उक्त जग्गा लिजमा थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए। अपरिचित व्यक्तिहरूले उनको जग्गामा घर बनाइसकेका हुन्।


फाइल फोटो

थाहै नपाई अर्कैको नाममा लालपुर्जा
घरधनी भेट्दा उनीहरूले आफूहरूले उक्त जग्गा खरिद गरेको भन्दै लालपुर्जा देखाए । त्यसपछि राई झन् तनावमा परे । २३ वर्षअघि किनेको जग्गा उनकै नाममा थियो । करिब दुई करोड मूल्य पर्ने जग्गामा लालपुर्जा अरूकै नाममा देखेपछि उनले त्यसलाई विश्वास नै गर्न सकेनन्। मालपोत कार्यालयमा गएर हेर्दा उनी आफैँले उक्त जग्गा बिक्री गरेको रेकर्ड देखियो । तर, उनले जग्गा बिक्री गरेकै थिएनन् । विदेश भएका वेलामा एक गिरोहले उनको नक्कली नागरिकता र लालपुर्जा बनाएर अरूलाई नै जग्गा बिक्री गरेको थियो।

भूमाफियाको बिगबिगी
राई लामो समयदेखि बेलायत बस्दै आएका छन् । उनको परिवारका सबैजसो उतै बस्ने भएकाले जग्गाको ख्याल गर्ने व्यक्ति नहुँदा यसरी जग्गा माफियाले नक्कली लालपुर्जा र नागरिकताका आधारमा किनबेच गरेका हुन्।

मालपोतका कर्मचारीलाई जग्गाधनी बनाई किनबेच
दुई महिनाअघि नेपाल आएका राईले जग्गा हेर्न जाँदा घर बनेको देखेपछि बुझ्दा त्यसरी आफ्नो जग्गा अरूले नै किनबेच गरेको खुलेको हो । नक्कली नागरिकता बनाई मालपोतमा अर्काे व्यक्तिलाई जग्गाधनीका रूपमा प्रस्तुत गरेर त्यसरी महँगो जग्गा खरिद–बिक्री भएको हो । उक्त घटनामा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूको समेत मिलेमतो देखिएको प्रहरीले जनाएको छ।

मालपोत कर्मचारीले नक्कली लालपुर्जा चिन्दैनन्
मालपोतका कर्मचारीले नक्कली लालपुर्जासमेत नचिन्दा यस्ता ठगी हुने गरेका छन् । धेरैजसोमा मालपोत कार्यालयका कर्मचारीकै मिलेमतो हुने गरेको छ । प्राय: विदेशमा रहेका र जग्गा किनेर त्यसमा खेती नगरी त्यतिकै छाडिदिएका जग्गा खोजेर भूमाफियाहरूले त्यसको नक्कली लालपुर्जा बनाएर ठगी गर्दै आएको खबर नयाँपत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नक्कली लालपुर्जा बनाएर जग्गा बेच्ने पक्राउ
नक्कली लालपुर्जा बनाएर जग्गा बेच्ने हरिकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा भट्टराईले उक्त जग्गा आफ्नो नाममा दर्ता गरेर अरूलाई बिक्री गरेका थिए । उक्त जग्गा चारजनाबीच किनबेच भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । महानगरपालिकाको वडा नम्बर ९ अन्तर्गतको ५५५ नम्बर कित्ताको राईको उक्त जग्गा २ असार ०६५ मा भट्टराईले आफ्नो नाममा नामसारी गरेका थिए । पछि जग्गा टुक्र्याएर पाँच–पाँच आना बनाई दुई व्यक्तिलाई बिक्री गरेका थिए।





Comments

comments

Leave a Reply

11051