दश महिनामा दश हजार पर्यटक रारा पुगे

मुगु । रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अनुसार दसैँ(तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए ।

चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । सार्क मुलुकका २६ र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ । डुङ्गा चढ्ने प्रति व्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०(४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका छन् ।

रारा घुम्न आउने मध्ये हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत आउने गरेका छन । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल र भरपर्दो सडक नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् । कोभिड-१९ ले थलिएको राराको पर्यटन क्षेत्र यो वर्षको १० महिनामा फस्टाएको हो । रारा घुम्न आउने पर्यटकका लागी जेठदेखि असोजसम्म हरियाली हुने भएकाले विभिन्न प्रजातिका फूलहरुले रारा झनै सुन्दर देखिने गर्छ ।

रारामा वैशाखदेखि भदौसम्म गर्मी छल्न र हरियालीमा घुम्न, असोजदेखि मङ्सिरसम्म बिदा मनाउन, पुसदेखि चैतसम्म हिउँ खेल्न र हिमालयको दृश्यावलोकन गर्न पर्यटक रारा आउने गर्दछन्।





Comments

comments

117075