पोखरा, संसारका अधिकांश विकसित सहरको प्रारम्भिक यातायातको साधन गोरु वा राँगाले तान्ने गाडा वा घोडाले तान्ने रथ हुन्थ्यो। त्यसपछि मोटर अनि हवाई जहाज । पोखरामा भने उल्टो भयो । यो सहरमा सबैभन्दा पहिला २००८ सालमा पहिलो यातायातको साधन हवाई जहाज आयो। त्यसपछि मोटर गाडी अनि बयलगाडा।
यातायातको साधनको रुपमा सुरुमै हवाई जहाज भित्र्याएका पोखरेलीले त्यसको दुई दशकपछि नै अन्तर्राष्ट्रिय सहर जोडने ठूला जहाज भित्र्याउन सपना देख्न थाले। ३० को दशकको सुरुवातीबाट पोखरेलीले देख्न थालेको त्यो सपना साकार पार्ने जगढुंगा भने ४० वर्षपछि यो नयाँ वर्षको पहिलो दिन गाडिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार शिलान्यास गरेका छन् । अबको ४ वर्षपछि अर्थात् सन् २०२० मा यो सहरबाट ठूला जहाज उड्ने छन् र पोखरेलीले ४० वर्षदेखि भरेको सपनाको उडानले बिसौनी पाउनेछ।
पुराना पर्यटनकर्मी विश्वशंकर पालिखेका अनुसार २०२९ सालमा ट्राभल एजेन्सीहरुको अन्तर्राष्ट्रिय संस्था प्यासिफिक एसोसियसन अफ ट्राभल एजेन्सी (पाटा)ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सुझाएको थियो। पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल चाहिने सुझाइएपछि तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पहलमा जग्गा अधिग्रहण सुरु भएको पालिखेले बताए।
पोखरा नगर पञ्चायतका तत्कालीन उपप्रधानपञ्च लक्ष्मण कार्की विमानस्थलका लागि जग्गा उपलब्ध गराउन मञ्जुरी दिने पहिलो जग्गादाता थिए। त्यसपछि नै उनकै गाउँ छिनेडाँडाको ३ हजार १ सय ६ रोपनी जमिन सरकारले अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ।
बुधबार विमानस्थल शिलान्यास भएको भने लक्षमणले देख्न पाएनन्। उनको ९१ वर्षको उमेर साढे २ महिनाअघि निधन भयो । उनका छोरा प्रेम भने बाबा र आफू २५ वर्षको छँदा देखेको सपना साकार हुने ठोस आधार बनेको हेर्न बुधबार शिलान्यास समारोहमा उपस्थित थिए । ४ हजार रुपैयाँका दरले आफ्नो ७० रोपनी जमिन सरकारलाई बुझाएका प्रेमले भने, ‘आफूले दिएको जग्गाबाट जहाज उडेको बुवाले हेर्न नपाए नि हामीले देख्ने भयौं।’