कोलोराडोमा मुना इही सम्पन्न…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। कोलोराडो नेवाः खलःको आयोजनामा “मुना इही ११४४” सम्पन्न भएको छ ।

धर्मशास्त्रका अनुसार विवाह भन्ने बित्तिकै कन्यादानको कुरा आउंछ । कन्यादान गर्दा अश्वमेघ यज्ञ गरे बराबरको फल पाइन्छ भन्ने मान्यता रहेको छ । तर नेवाः धर्म संस्कृति अनुसार रजस्वला भइसकेको कन्यालाई दान गरेमा लिने र दिने दुबैको नर्कबास हुन्छ भन्ने मान्यता रहेकोले बाल विवाहको प्रचलन रहेको थियो । सन् १९६३ मा बाल विवाह विरूद्धको कानून लागू भएपछि यो प्रथाको अन्त्य भएको थियो।

नेवाः तजिलजिमा नेवाः छोरीहरूको विभिन्न संस्कारहरूमध्ये यो एक महत्वपूर्ण संस्कार रहेको कार्यक्रम संयोजक मयजु रोजिना ताम्राकारले बताएकी छन्। नेवाः समुदायमा इही गर्दा ५ देखि ७ वर्ष उमेर समूहका कन्याहरूको कन्यादान गर्ने गरिन्छ । भगवान नारायणको सुनको प्रतिमा बनाई सुवर्ण कुमारको प्रतिक मानी स्मरण गरेर कन्यादान गरिन्छ । भगवान सुवर्ण कुमारको मनपर्ने फल ब्याः बेल हो, जुन नकुहिने भएकोले कन्यादान पश्चात प्रसादको रूपमा कन्यालाई दिइन्छ । यो बेलसंग विवाह नभएर भगवान सुवर्ण कुमारसंग इहिपा विवाह हो । यो इहिपा संस्कारको छोटो रूप नै इही हो । इही गरिसकेको कन्या जीवनमा कहिल्यै विधवा नहुने वीरेन्द्र राजोपाध्यायले बताए।

कोलोराडोमा नेवारहरूको जनघनत्व बढेसॅंगै १४ वर्षअघि स्थापित कोलोराडो नेवाः खलःले नेपालभाषा र नेवाः संस्कृतिको जगेर्ना, विकास तथा नयाँ पुस्तालाई सूसुचित गराउँदै आएको छ । यस पटक मुना इहीमा नेब्रास्का राज्यका नवराज श्रेष्ठ र संगिता श्रेष्ठकी छोरी ऋषिका श्रेष्ठ एवं कोलोराडोका सुजन श्रेष्ठ र रिता श्रेष्ठकी छोरी सेरेन श्रेष्ठ रहेका छन । भर्खरै समापन भएको मंका इही खलःबाट आयोजित दोश्रो संस्करण भएको मिसा कवःका कजि रमिता तुलाधरले उल्लेख गरेकी छन्।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न मुना इही कार्यक्रममा समाजसेवी तथा हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नेपाली घरका अध्यक्ष बसन्त लम्साल, रक्की माउन्टेन फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष निलम श्रेष्ठ, कोलोराडो नेवाः खलका कार्यसमिति, खलःका आजीवन सदस्यहरू, इहीमा सहभागी कन्याका परिवार, आफन्त र पाहुनाहरूको जमघटले रहेको थियो । यस्ता कार्यक्रमले नेवाः संस्कृतिको प्रवर्घ्दन गर्न महत्वपूर्ण योगदान पुगेको खलःका कार्यबाहक अध्यक्ष मनोज काजी तुलाधरले बताए।





Comments

comments

120370