मर्मस्पर्शी तीज गीत ‘बिर्सन सक्छौ र…’ बजारमा

एक चिम्टी सिन्दुर छर्केर गयो,
जवानी उसलाई पर्खेरै गयो,
बिर्सन सक्छौ र जन्मिएको ठाउँ,
ए प्यारा आउन आऊ शुल्य भयो गाउँ,

बीरेन्द्र पौडेल-

पोखरा । विदेशमा विभिन्न कारणले बसेका र पलायन भएका लाखौं नेपाली युवायुवती र उनीहरुको परिवारको पीडालाई दर्शाएको अत्यन्तै मर्मस्पर्शी शब्द, लय रहेको तीजको गीत “बिर्सन सक्छौ र”…सार्वजनिक भएको छ।

विगत दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर लोक दोहोरी गायन क्षेत्रमा बेग्लै स्थान बनाउन सफल लोक दोहोरी गायक रामजी पौडेलले मंगलबार आफ्नै अफिसियल युट्युब च्यानल रामजी पौडेलबाट बजारमा ल्याएका छन्।

वर्तमान नेपालको अवस्था र वास्तविकतालाई चित्रण गर्दै दैनिक विदेशिन बाध्य नेपालीहरु अवस्था र उनिहरुका परिवारले घरमा बसेर भोग्नु परेको पर्खाई, पीडा र आशालाई यथार्थलाई गीतमा चित्रण गरिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको विशेष अवसर पारेर सार्वजनिक गरिएको गीतमा बिर्सन सक्छौ र…मा रामजी आफैको शब्द, लय र स्वर रहेको छ भने गीतमा अन्य चर्चित लोकदोहोरी गायक गायिकाहरु चोलेन्द्र पौडेल, घनश्याम रिजाल, माया गुरुङ, सीता केसी र सरस्वती लामिछानेले स्वर दिएका छन् ।

लाईभ दोहोरीमा झनै अब्बल पौडेलले यस अघि पनि दर्जनौ चर्चित लोकदोहोरी गीत, भजन र लाईभ दोहोरीहरु मार्फत गीत संगीतप्रेमी दर्शकहरुको मन जित्न सफल भएका छन् । उनले हालसम्म सुन मेरी काली, निहुँ नखोज सानी, नाँच नाँच भन्छौ नि कान्छा.., तिमी खोली म त बगर, कस्तो होला भोलि.., बाचा कसम तोडेर जानेलाई, साह्रै दुख्यो मन, कोदो रोप्न जाम, आउँला जादा भेटौला, आउ शिव लिन, यस्ता आए जमाना…लगायतका दर्जनौ चर्चित गीतहरु श्रोतामाझ ल्याई सकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सचिव समेत रहेका पौडेले दर्जनौ म्यूजिक अवार्ड र सम्मानहरु हात पारेका छन्।

गीतमा एरेन्ज कृष्ण केसी र रेकर्डिस्ट आकाश नेपाली रहेका छन् भने म्युजिक भिडियोको निर्देशक सिनेमाटोग्राफर दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन् । गीतको भिडियोमा स्वंय रामजी पौडेल, चोलेन्द्र पौडेल लगायतका गायक गायिका र अन्य कलाकारहरुले अभिनय गरेका छन्।





Comments

comments

122509